|

कञ्चनपुर :  कृष्णपुर नगरपालिका-२ नयाँ बस्तीस्थित बन्ड नदीमा निर्माण हुँदै गरेको पक्की तटबन्ध सामान्य वर्षाको पानीमै  भत्किएको छ। नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले दिएको ठेक्कापछि बनिरहेको तटबन्ध भत्किएको हो।

आव ०७८/७९ मा कार्यालयको २८ लाख १५ हजारको लागतमा २०४ मिटर तटबन्ध निर्माण भइरहेको छ। नदीको सामान्य बाढीलाई थेग्न नसकि तटबन्ध भत्किएको हो।

‘नदीमा निर्माण भइरहेको पक्की तटबन्ध प्राविधिक त्रुटी र गुणस्तरहीन भएको जनगुनासो आएपछि अनुगमन गरेका छौं', वडाध्यक्ष अर्जुन साउदले भने, ‘केही ठाउँमा जनगुनासोअनुसार तटबन्ध भत्किएको पाइएको छ। इन्जिनियर र निर्माण कम्पनीका प्रतिनिधिलाई गुणस्तरीय काम गर्न भनेका छौं। भत्केको तटबन्ध तत्काल पुनर्निर्माण गर्ने आश्वासन दिएका छन्।’

तटबन्ध निर्माणको ठेक्का पाएको गोपान्जल निर्माण सेवा कम्पनीका प्रतिनिधि सन्तोष सेटीले बाढीका कारण २/३ वटा जाली मात्र भत्किएको बताए। ‘तटबन्ध निर्माणकै क्रममा रहेको छ,’ उनले भने, ‘पुनर्निर्माण तत्काल गर्छौं।’

जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका प्रमुख मनोरञ्जन सिंहले तटबन्ध निर्माणकै क्रममा रहेकाले काम पूरा नहुन्जेलसम्म भुक्तानी नदिइने बताए।

उनले भने, ‘मापदण्डअनुसार गुणस्तरीय बनाएको छ छैन अनुगमन गरेर काम सन्तोषजनक भएमात्रै निर्माण कम्पनीले भुक्तानी पाउँछ।’ भत्किएको तटबन्ध निर्माण कम्पनीलाई पुनर्निर्माण गर्न लगाइने उनको भनाई रहेको छ।

अठ्ठनिफाँटा र गुन्यालफाँटाका २ सयभन्दा बढी परिवार उच्च जोखिममा

कृष्णपुर नगरपालिका-२ बंक अठ्ठनिफाँटा र गुन्यालफाँटाका बासिन्दा बनहरा नदीको जोखिममा परेका छन्।  अविरल वर्षा संगै नदीले जग्गा कटानी तीव्र बनाएपछि स्थानीय जोखिमा परेका हुन्।

‘जग्गा कटान तीव्र रुपमा भैरहेकाले नदी गाउँ पस्ने खतरा निम्तिन थालेको छ’, वडाध्यक्ष साउदले भने, ‘तत्काल नियन्त्रणको प्रयास नगरिए बस्ती नै बग्ने सम्भावना बढेर गएको छ।’  उनका अनुसार नदी नियन्त्रण नगरिए २५० परिवार विस्थापित हुने संघारमा पुगेका छन्।

‘नदी नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौं‚’ उनले भने, ‘कुनै पनि निकायबाट हालसम्म सुनुवाई हुन सकेको छैन।’

नदीले अहिले धान रोपेको खेत धमाधम कटान गरी बगाउन थालेको स्थानिय बासिन्दाको भनाइ छ। नदी मोडिने ठाउँमा बढी कटानी भएको छ। वर्षा हुने क्रम शुरु भएपछि नदी गाउँ पस्ने खतराले स्थानीय बासिन्दा अनिदो रात काट्न बाध्य भएका छन्।

दोदाको पुल उच्च जोखिममा

पूर्वपश्चिम राजमार्गको दोदा नदीको पक्की पुलसमेत कटानको चपेटामा परेको छ।

पुलको पूर्वपट्टि तर्फको क्षेत्रमा नदीले कटान गरिरहेको वडाध्यक्ष साउदले बताए। ‘पुलको पाइलिङ गरिएको ठाउँमा समेत कटानी भएको छ’, उनले भने, ‘नदी नियन्त्रणको तत्काल प्रयास नगरिए पुल क्षेत्र नजिकको राजमार्गसमेत बग्ने अवस्थामा पुगेको छ।’

जथाभावी नदीजन्य पदार्थको उत्खनन् गर्दा पुल जोखिममा परेको स्थानीय बासिन्दाको भनाई रहेको छ। ‘नदीले पुल भएको क्षेत्रमा गरिरहेको कटानीको सडक डिभिजन कार्यालयका इन्जिनियर बोलाएर निरीक्षणसमेत गराएका छौं’, वडाध्यक्ष साउदले भने, ‘छिट्टै मर्मत गर्ने आश्वासन दिएर गएका छन्। मर्मत भने हालसम्म हुन सकेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.