काठमाडाैं : दुई दशकभन्दा लामो समयदेखि नेपाली रंगक्षेत्रमा सक्रिय खगेन्द्र लामिछाने लेखक हुन्, अभिनेता हुन्, नाटक निर्देशक पनि हुन्।
'पानीफोटो'बाट उनले फिल्म निर्देशनमा समेत हात हालेका छन्। साउन १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर तथा ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
यसअघि उनकै निर्देशनमा नाटकको रूपमा मञ्चन भइसकेको 'पानीफोटो' झण्डै १२ वर्षपछि फिल्म बनेर आउन लागेको हो। निर्देशन मात्र नभएर फिल्मको लेखन पनि खगेन्द्रले नै गरेका हुन् भने फिल्ममा उनको अभिनय पनि छ। लेखन, अभिनय, निर्देशन सबै विधामा सक्रिय भए पनि लेखनमा सबैभन्दा मजा लाग्ने उनी बताउँछन्। 'पानीफोटो'को नाटकदेखि फिल्मसम्मको यात्रालाई लिएर तयार पारिएको उनको पुस्तक पनि प्रकाशनको तयारीमा रहेको छ। त्यस्तै यसै वर्ष नाटक लिएर रंगमञ्चमा फर्कने तयारीमा पनि उनी छन्।
फिल्मलाई अभिव्यक्तिको सबैभन्दा बलियो र प्रभावकारी माध्यम हो भन्ने उनी मान्छन्। फिल्मका माध्यमबाट समयको यथार्थ चित्र देखाउन प्रयास गर्ने खगेन्द्र भन्छन्, 'अहिले बन्ने सिनेमाले अबको पचास वर्षपछि अहिलेको समयमा मान्छेले कस्तो लुगा लगाउँथे, कस्तो खान्थे, दैनिकी कस्तो थियो, मान्छेका सुख, दुःखका कथा कस्ता थिए भन्ने कुरा पनि देखाउनुपर्छ भन्ने मलाई लाग्छ।'
भर्खरै पानीफोटोले चलचित्र विकास बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। प्रस्तुत छ लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेसँग गरिएको कुराकानीको सम्पादित अंशः
फिल्म प्रदर्शनका लागि अब एक हप्ता मात्रै बाँकी रहँदा कत्तिकाे छटपटी भइरहेकाे छ?
त्यस्ताे केही छैन। मेराे हातमा हुने भनेकाे फिल्म बनाउने वेलासम्म हाे, आफूले ध्यान दिएर बनाएकाे छु। अब जे हुन्छ‚ त्याे हुन्छ। मेराे हातमा केही छैन। अब प्रेसर लिए पनि हुने त्यही हाे, नलिए पनि त्यही हाे। त्यसाे भएपछि किन प्रेसर लिनु। दाैडधुपले एक खालकाे तनाव चाहिँ हुन्छ। थाकिन्छ। स्वभाविक हाे, त्याे त बारी खन्दा पनि थाकिन्छ।
पानीफाेटाे तपाईंका लागि एउटा सपना हाे भन्दै आउनुभएकाे छ, सपनासँगै आएकाे याे दाैडधुपमा कत्तिकाे मजा लिनुभएकाे छ?
मजा भइराखेकाे छ। खासमा निर्माताको काम एकदमै हेक्टिक हुन्छ। ध्यान दिएर फिल्म बनाउने निर्माताहरूलाई अझ बढी दबाव र चुनाैती हुन्छ। त्याे हुँदाहुँदै पनि आफूले नेतृत्व गरेर कुनै काम गर्दाकाे बेग्लै मजा पनि हुन्छ।
मन लागेकाे काम हाे, मनबाट केही बनाउँदै छु। जसमा जीवन देखिन्छ। फिल्म निर्माण भनेकाे रिक्रिएट अफ लाइफ त हाे। त्यसैले जति थाके पनि, जति तनाव भए पनि त्यसकाे मजा बेग्लै हुन्छ। कति अनुभूत गर्ने कुरा हुन्छन्। जसलाई व्याख्या गर्न सकिँदैन। याे गाह्राे काम हाे, सँगसँगै रमाइलाे काम पनि हाे।
पहिलेका आफ्ना फिल्म प्रदर्शनमा आउँदै गर्दा र अहिले आफ्नाे निर्देशनमा बनेकाे पहिलाे फिल्म प्रदर्शनमा आउँदा केही फरक छ?
पक्कै पनि छ। मलाई एक्टरकाे रूपमा दर्शकले स्विकार्नुभयाे। राइटरकाे रूपमा त झन् पहिलेदेखि नै नाटक, कथा लेखिराखेकाे हुँ। याे फिल्म एकदम भित्रबाट मन खाएर बनाएकाे फिल्म हाे। मैले हेर्दा राम्राे भएकाे छ। यसलाई दर्शकले कसरी लिनुहुन्छ हाेला भन्ने छ। इट्स गुड अर नट गुड भन्ने हुन्छ नि त। दर्शककाे प्रतिक्रियालाई लिएर अलिकति उत्साह छ तर जस्ताे प्रतिक्रिया आए पनि मलाई असर चाहिँ गर्दैन।
फिल्म पहिलाे भए पनि धेरै नाटक निर्देशन गरिसक्नुभएकाे छ। नाटक निर्देशककाे भूमिकामा काम गर्दाकाे अनुभव फिल्ममा काम लाग्याे?
माध्यम फरक हाे। पक्कै पनि केही कुरा फरक छन् तर फरक भएर पनि दुवै नजिक छन्। चरित्रहरूलाई विकास गर्ने ताैरतरिका‚ एक्टरले गर्ने प्राेसेस, त्यसमा डिरेक्टर इन्भल्भ हुने कुरामा समानता भेटिन्छ। जसले गर्दा थिएटरकाे अनुभवले फिल्म बनाउँदा सकारात्मक भूमिका खेल्छ।
प्राेसस, टेक्निकालिटी, एक्टिङ स्टाइल, स्टाेरी टेलिङ लगायतका केही कुरा फिल्म र नाटकमा फरक छन्। फिल्म मेरा लागि नयाँ थियाे तर धेरै नाटक निर्देशन गरिसकेकाे थिएँ। त्याे हुनाले नाटक र फिल्ममा मिल्दाजुल्दा तत्त्व प्रयाेग गर्न पाएँ।
तपाईंले लेखेका खेलेका अधिकांश फिल्ममा जनयुद्ध जाेडिएकै पाइन्छ। अब पानीफाेटाेबाट पनि जनयुद्धकै कारण जन्मिएकाे कथा भन्दै हुनुहुन्छ। तपाईंकाे स्मृतिमा चाहिँ जनयुद्ध कसरी बसेकाे छ?
म काठमाडाैंमा थिएँ। घर जाँदा आठदश ठाउँमा चेकिङ हुन्थ्याे। गाडी राेक्याे, सामान झिक्याे, चेक गर्यो, चढ्याे, अर्काे ठाउँमा फेरि राेक्याे, सामान झिक्याे, चेक गर्यो, फेरि चढ्याे। अप्रत्यक्ष रूपमा त म पनि प्रभावित थिएँ, सबै नेपाली थिए। प्रत्यक्ष रूपमा भने त्यस्ताे खासै भाेग्नु परेन तर युद्धले प्रत्यक्ष असर पारेका मान्छेहरूकाे पीडा म महसुस गर्थेँ।
कति मान्छे मरे, कति बेपत्ता भए, कति लखेटिए, कति सुरक्षित ठाउँ खाेज्दै आफैँ बसाइँ सरे। नेपालमा शहरकाे जनसंख्या यसरी बढ्नुकाे एउटा कारण जनयुद्ध पनि हाे। यस्ता कुरा म नजिकबाट महसुस गर्थेँ। पछि यी हाम्रा कथा हुन्, हामीले नै भन्नुपर्छ भन्ने लाग्याे। त्यस्तै फिलिङ्सले ड्राइभ भएर नाटक लेखेकाे हुँ। अहिले फिल्म बनेर आउँदै छ।
हामी समाजमा रहेर समाजकाे कथा भनिरहँदा हरेक कथा कुनै न कुनै सत्य घटनाबाट प्रेरित हुन्छ। पानीफाेटाे लेख्न तपाईंलाई प्रेरित गर्ने घटना के थियाे?
१६ वर्षकाे उमेरमा मेरा मामा हराउनुभएकाे थियाे। त्यसपछि कहिल्यै फर्किनुभएन। हजुरआमाले जहिले पनि आज आउला, भाेलि आउला भनी कुरी बस्नुहुन्थ्याे। यति वर्ष भयाे हाेला भन्नुहुन्थ्याे। हजुरआमाकाे आँखामा मैले सधैँ एउटा आशा देख्थेँ।
त्यसपछि शान्ति सम्झाैता भइसकेपछि जनयुद्धमा बेपत्ता नागरिकका बारेमा एउटा डकुमेन्ट हेरेकाे थिएँ। घटना फरक भए पनि हजुरआमाकाे आँखामा देखिएकाे आशा र अरू बेपत्ता नागरिककाे कथा जाेडिएर आयाे। शान्तिपूर्ण वातावरणमा हराउनुभएका मेरा मामा र युद्धमा हराएका अरू मान्छेकाे कथा जोडियाे। त्यसरी पानीफाेटाे जन्मियाे।
२०१० मा नाटक मञ्चन भयाे। धेरै जनाले मन पराउनुभयाे तर नाटक त सीमित दर्शकसम्म मात्रै पुग्ने भयाे। याे कथा ठूलाे जनसमूहले हेर्नुपर्छ, युद्ध ठिक हाेइन भन्ने कुरा सबैले महसुस गर्नुपर्छ भन्ने लागेकाे थियाे। पछि म फिल्ममा लागेपछि कम्तिमा याे एउटा कथामा चाहिँ फिल्म निर्देशन गर्छु भन्ने थियाे। अहिले बनेर तयार भएकाे छ।
फिल्म छायांकनका क्रममा केही चुनाैती आए?
हामीले प्रि-प्राेडक्सनमा महिनाैँ लगाएर काम गरेका थियाैँ। हामीले फिल्डमा गएपछि कसरी काम गर्ने भनेर जुन योजना बनाएका थियाैँ‚ त्यसरी नै काम भयाे। पानीले अलिकति डिस्टर्ब गर्यो, बीचमा काेराेना आयाे। त्यसले गर्दा फिल्म निर्धारित समयमा रिलिज हुन पाएन बाँकी त्यस्ताे गाह्राे भएन। सबैले साथ दिए हिम्मत नहारी, हँसिलाे मुहारसहित रमाइलाेसँग काम गरियाे। शुटिङ सकिएपछि केही दिन 'ओहाे! के मिस भयाे' भन्ने भइरहेकाे थियाे।
एउटा दर्शककाे रूपमा आफ्नै फिल्म हेर्दा खगेन्द्र लामिछानेकाे निर्देशनमा बनेकाे अर्काे फिल्म हेर्ने इच्छा छ कि छैन?
याे फिल्म बनाउने मेराे सपना थियाे। मैले बनाएँ। याे फिल्ममा निर्देशककाे रूपमा काम गर्दा मैले एकदम धेरै आनन्द लिएँ। मेराे नेतृत्वमा बनेकाे चिज हाे। फिल्म हेर्दा पनि बनाउँदाकाे भाेगाइ सबै क्रमैसँग आउँदाे रहेछ। त्यसले छुट्टै आनन्द दिँदाे रहेछ। त्यसैले अहिले नै ढाेका बन्द गरी चाहिँ नहालाैँ तर आजकाे दिनसम्म अर्काे फिल्म बनाउँछु अथवा बनाउँदिनँ भनेर साेचेकाे छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।