|

पर्वत : पर्वतको सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ।

दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय  सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्। दुर्घटना लगत्तै उद्धार गरिएका उनीहरूको पर्वत अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्येका दुई जनामा केही बढी चोट लागेको प्रहरी नायव निरीक्षक निउरेले जानकारी दिए।

बाहिर देखिने र रक्ताम्य हुने गरी चोट नलागेको भएको भए पनि शरीरभित्र आन्तरिक चोट लागेको चिकित्सकले बताएको पनि उनको भनाइ छ।

चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन्। जिपमा धनीसमेत रहेका ठकुरी आफूहरूको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको हुन सक्ने देखिएको पनि ट्राफिक प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.