धनकुटा : अवसर र सुविधाको खोजीमा दुर्गमबाट सुगममा बसाइँ सर्ने क्रम निकै तीव्र छ। कुरुलेतेनुपा धनकुटा जिल्लाको सबैभन्दा विकट गाउँ हो।
विकट भएकै कारण कुरुलेतेनुपाबाट सुगम क्षेत्रमा बसाइ सर्ने क्रम बढ्दो छ। शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका विभिन्न समस्या देखाउँदै अवसर र सुविधाको खोजीमा यहाँबाट सुगम क्षेत्रमा बसाइँ सर्दा गाउँ रित्तिने अवस्थामा पुगेको छ।
गाउँमै सम्भावनाको खोजी गरेर गाउँमै केही गर्नुपर्छ भनेर पनि केही युवा लागि रहेका छन्। बाख्रापालनमा भविष्य खोजिरहेकामध्ये एक हुन् दीपक दाहाल।
धनकुटाको चौबीसे गाउँपालिका-३ कुरुलेका दीपकले बाख्रापालन शुरु गरेको १० वर्ष भयो। एक समयको जिल्लाकै विद्वान्हरू भएको गाउँको रूपमा चिनिने कुरुलेतेनुपाबाट अहिले भने अवसर र सुविधाको खोजीमा धेरै मानिस बाहिरिए पनि उनी भने गाउँमै रमाइरहेका छन्।
यतिवेला गाउँमा दीपकका समकक्षी गाउँमा कोही पनि भेटिँदैनन्। न त नयाँ पुस्ता नै भेटिन्छन्। उनी भने बाख्रा फार्ममै रमाइरहेका भेटिन्छन्। दीपकले अहिले पनि गाउँमै बाख्रा पालनमा आफ्नो भविष्य खोजिरहेका छन्। दीपकले वि.सं. २०६९ साल भदौमा २५ हजार रुपैयाँमा १० वटा पाठी किनेर बाख्रापालन शुरु गरेको बताउँछन्।
दीर्घकालमा आम्दानी राम्रो
गाउँभन्दा अलि तल करिब एक सय रोपनी क्षेत्रफलमा आधुनिक खोर बनाएर उनले दुई सयवटा बाख्रा पालेका छन्। बाख्रापालन तत्कालका लागि भन्दा पनि दीर्घकालीन आम्दानीको राम्रो स्रोत हुने विश्वास उनलाई छ।
अहिले लगानी गरेर भरे नै प्रतिफल प्राप्त हुन्न तर दीर्घकालमा आम्दानी राम्रो दिन्छ। गाउँमा शुरुशुरुमा बाख्रा पाल्न अलि समस्या भए पनि अहिले कुनै समस्या छैन। सामान्य बाटो पुगेपछि बाख्रा किन्न व्यापारी गाउँमै पुग्ने गरेका छन्। न त बजारको नै कुनै समस्या छ न त बाख्राका लागि चाहिने घाँस, अन्न, दाना, पानी ल्याउनमै छ। गाउँ छाडेर बसाइँ सरी जानेलाई यहीँ प्रशस्त सम्भावना भएको भन्दै गाउँ फर्किएर जग्गा बाँझो नराखी कृषि कर्म गर्न सुझाव दिन्छन्। ‘जग्गाजमिन बाँझो नराखी जे गरे पनि आम्दानी दिन्छ’, उनी भन्छन्।
दीपकले कृषिमा मुनाफा लिन कम्तिमा १० वर्ष माथि लाग्ने भएको बताउँदै कृषिमा व्यापार गरेजस्तो नहुने बताउँछन्। उनले कमाइ गर्ने आधार तय भएकाले आगामी दिन उज्यालो हुने अपेक्षा रहेको बताउँछन्।
दुई करोडभन्दा बढी लगानी
दीपकले बोयर बोका, बाख्रा, जग्गा र संरचनाका लागि मात्र करिब दुई करोड रुपैयाँ खर्च गरिसकेको बताउँछन्। दीपकले अहिले वार्षिक भइरहेको कमाइ संरचनामा लगानी गरेकाले नगद मौज्दात नरहेको बताउँदै संरचना नबनाउँदा वार्षिक ८ देखि १० लाख रुपैयाँ बचत हुने बताए।
उनले फार्ममा लगानी अझै बढाउँदै जाने सोच रहेको बताए। उनले भने, ‘अझै लगानी गर्छु। आफ्ना सन्तानले पनि कृषिमै भविष्य खोजून् भन्ने चाहना छ।’ सम्भावनाको खोजीमा गाउँ छाडेर बाहिरिनेहरूलाई गाउँमै कसरी सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन्। सहजै खसीबोका बिक्री हुने र लगानी अनुसारको राम्रो आम्दानी लिन सकिने भएकाले बाख्रापालन जिल्लाको प्रमुख आम्दानीको स्रोत बन्न सक्ने दीपकले बताए।
दीपकको लाँगर्चे कृषि फार्ममा यतिवेला दुई सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन्। आफ्नै जन्मभूमिमा केही गर्छु भन्ने अठोटका साथ दीपकले बाख्रापालन गरिरहेको बताउँछन्। फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने बाख्राका लागि आवश्यक घाँस खेती गरिएको छ। उनका अनुसार बोयर जातका बाख्रा अष्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन्।
बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ। बोयर बाख्रा दुई वर्षमा तीनपटक ब्याउने र सानन वर्षमा दुईपटक ब्याउने गरेको उनले जानकारी दिए। तीन महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उनको भनाइ छ। पछिल्लो समय आधुनिक र उन्नत जातको बाख्रापालन फस्टाउँदै गएकाले बजारको समस्या छैन। पाठा हुर्कन नपाउँदै किन्न आउनेको लाइन हुन्छ।
मनोविज्ञानका कारण कामदार अभाव
दीपकको फार्म पूर्णकालीन समय ३ जनाले र हाजिरामा ७ जनाले रोजगार पाएका छन्। समाजको मनोविज्ञानका कारण दीपकलाई कामदार पाउन समस्या छ। फार्ममा काम गर्ने कामदारलाई समाजमा फलानाको नोकर वा फलानाको गोठालो भन्ने गरेका कारण कामदारको अभाव हुने गरेको छ। ‘कुनै विद्यालयमा ५ देखि १० हजार तलब पाएर काम गर्ने मान्छे सबैको गुरु हुन्छ। दीपकले भने- फार्ममा २० हजार दिएको मान्छेलाई समाजले नोकरको दर्जा दिन्छ।’ समाजले फार्ममा काम गर्ने कामदारको इज्जत नगर्दा समस्या भएको उनको भनाइ छ।
काम गरेर माग गरेमा अनुदान
दीपकले २०६० सालतिर रेमिट्यान्स कम्पनी तथा काठ व्यापार गरेका थिए। उनले बाख्रापालन थालेको २ वर्षपछि २०७१ सालमा ज्ञान नभएका कारण १ सयभन्दा बढी बाख्रा मरेको बताए। उनले सम्बन्धित निकायमा काम गरेर माग गरेमा अनुदान पाउन सकिने बताउँछन्।
दीपकले गत आर्थिक वर्षमा प्रदेश १ कृषि मन्त्रालयबाट २४ लाख पाएको बताउँछन्। उनले कृषि मन्त्रालयबाट २४ लाख ५३ हजार ११ रुपैयाँ अनुदान पाएको र आफ्नो १५ लाख ६१ हजार ३३८ रुपैयाँको लागतमा जम्मा ४० लाख १४ हजार ३४९ रुपैयाँको लागतमा विभिन्न ५ शीर्षकमा काम गरेको जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।