प्राथमिक तहसम्म अध्ययन गरेँ, पुन: प्रौढ शिक्षाबाट पढ्न लेख्न सिकेँ

|

विराटनगर : जति उमेरका खुड्किलाहरू थपिँदै जान्छ, उति नै जिम्मेवारीले काँध गह्रौँ हुँदै जान्छ। तिनै जिम्मेवारीका चाङहरूसँगै जीवन विलीन हुन्छन् कतिका इच्छा र सपनाहरू।

तर, बाल्यकाल देखिका इच्छा र सपनाहरू पछ्याएर नथाकेका खड्गमाया तुम्बाहाङफे लिङ्थेपको ८५ वर्षको उमेरमा पनि लेख रचनाको सन्दर्भमा उर्जा उस्तै छ।

उनका तिनै हौसला र उर्जालाई कथाको पात्र बनाउन विराटनगरबाट धरान पुग्दा पहिलो भेटमा नै उनले भनिन्, ‘लेख्नु, पढ्नु पनि नसा रहेछ, आज नलेखौँ, नपढौँ भन्यो मनले मान्दैन।’

हिउँ झैँ कपाल, चाउरिएका अनुहारमा नथाकेका सपनाका चाङहरू। आफूले लेखेको पुस्तकका पाना पल्टाउदै गर्दा उनी बेलाबखत मुस्कुराउँथिन्। उनको त्यो मुस्कान भित्र उनले अनुभूति गरेका सन्तुष्टिका दृष्य नियाल्न सकिन्थ्यो।

त्यसो त विविध बाधा अवरोधहरूका चेपुवाबाट बाल्यकालदेखिको लेखन प्रतिको रुची र सपना साकार बनाउन सफल हुँदा ती भावहरू व्यक्त गर्न नचाहने मान्छे सायदै हुँदैनन्।

‘मैले त धेरै पढेको छैन’, आफूले लेखेको पुस्तक सुम्सुम्याउँदै उनी सुनाउँछिन्, ‘प्राथमिक तहसम्म अध्ययन गरेँ, त्यो बेला पढेको भुलेर फेरि प्रौढ शिक्षा पढ्न लेख्न सिकेँ।’

अभाव र दुःखले स्कुल जान नपाएर उनको अध्ययन रोकिएको थिएन। उनको बाल्यकाल सम्पन्न परिवारमा सुखको अनुभूतसँगै हुर्किएको थियो। उनी अध्ययन गर्न जाँदा हातमा कपि र डट्पेन हुँदैनथ्यो। भूईंमा कखरा सिक्नुपर्ने अवस्था रहेको उनी विगत स्मरण गर्दै सुनाउँछिन्।

आर्थिक अभावले भन्दा पनि त्यो समय छोरीले पढे जात जान्छ भन्ने छोरीका लागि समाजले निर्माण गरेका धारणाहरूले प्राथमिक तहसम्मको अध्ययनसँगै उनको शैक्षिक यात्रामा पूर्णविराम लाग्यो। त्यो सँगै लेखिका, साहित्यकार, कवयित्री बन्ने सुनौला सपना के होला? भन्ने प्रश्नहरू उनको मनमा तितरवितर भएर फैलिन थाल्यो।

छोरा र छोरीलाई विभेद गर्ने समाज। त्यो सँगै जीवनका अनेकन आरोह, अवरोहहरूलाई छिचोल्दै जीवनको ८ दशक बढी लामो यात्रा पार गरेकी उनले प्राथमिक तहसम्म मात्रै अध्ययन गरेर इच्छाशक्ति, आत्मबल र आत्मविश्वासलाई डगमगाउन दिइनन्। उनले यो अवधिमा ४ वटा पुस्तक प्रकाशन गरिसकेकी छिन्। अझै तीनवटा पुस्तक प्रकाशनका तयारीमा छन्।

शिक्षाको ज्योति आमा

तेह्रथुम जिल्लाको माझगाउँ धरमपुरमा भूतपूर्व गभर्नर जनरल स्व. ललितबहादुर तुम्बाहम्फे र आमा स्व. देवका तुम्बाहम्फेकाे कोखबाट ९ जना दिदिबहिनीमध्ये सातौँ सन्तानको रुपमा जन्म लिएकी उनी अनुभव र इच्छाशक्तिले  मान्छेलाई सफलताको बाटो देखाउने धारणा राख्छिन्।

बुबा सामाजिक, धार्मिक विविध कामले घरमा खासै समय नदिने भएकाले उनीसँगै अन्य दिदीबहिनीहरुको आमासँग धेरै नै समय बित्ने गर्दथ्यो।

परिवारको कारण भन्दा पनि समाजका कारण अध्ययनलाई विट मार्दै गर्दा उनको मन खल्लोपनले नभरिएकाे होइन। तर, खल्लोपनाले भरिएको मनमा प्रेरणाको स्वादिलोपन उनको आमाले भरिदिनुहुन्थ्यो। अर्थात, अध्ययन गर्नुपर्छ भन्ने प्रेरणा उनकी आमाले दिएकाे उनले सुनाइन्।

‘मेरो बुबा त खासै घरमा बस्नु हुन्नथ्याे, आमासँग नै धेरै समय बित्थ्यो’, उनले बाल्यकाल स्मरण गर्दै सुनाइन्, ‘आमा शिक्षित नै हुनुहुन्थ्यो, उहाँ महाभारत, रामायण अध्ययन गर्नुहुन्थ्यो र हामीलाई पनि अध्ययन गर्न प्रेरित गर्नुहुन्थ्यो।’ उनी थप्छिन्, ‘हाम्रो लागि शिक्षाको ज्योति नै आमा हुनुहुन्छ।’

लुक्दै गीत लेखेको त्यो किस्सा

फुर्सद हुँदा उनी पुस्तक अध्ययन गर्ने, रामायण पढ्ने, बुवाले घरमा ल्याएका धार्मिक पुस्तकहरू आमाले पढेर सुनाउने धार्मिक कथा र त्यही समय लक्ष्मी प्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन पढ्ने अवसर पाएकाले पनि लेखनमा थप उर्जा मिलेको उनले सुनाइन्।

‘धार्मिक भजन कीर्तन सुन्दा मनमा छुट्टै मिठासले जरा गाडेको थियो। त्यही भएर पनि होला १० वर्षको उमेरदेखि मैले जानी नजानी गीत, कथा, कविताहरू लुकी लुकी लेख्ने गर्थें’, उनले सुनाइन्, ‘मैले लेखिका, कवियत्री बन्ने ठूलो सपना सजाएकी थिएँ, बीचैमा अध्ययन रोकिएपछि निराश भएर अबदेखि कहिल्यै लेख्दिनँ भनेर मेरा रचनाहरू पानी पँधेरोमा च्यातेर फालिदिएँ।’

उनलाई आफूले लेखेका लेख, रचनाहरू पानीमा बग्दै गर्दा पछुतोका भाव उत्पन्न नभएको पनि होइन। आफूले गल्ती गरेजस्तो आभाष नभएको पनि होइन तर मनका ती सबै भावनाहरूलाई कसेर त्यो दिनदेखि उनले कलम समाउन नै बन्द गरेकी थिइन्। तर, अध्ययन गर्ने क्रमलाई  भने उनले निरन्तरता नै दिएकी थिइन्।

०५५ सालदेखि  पुनः लेखन यात्रा सुरु

भनिन्छ इच्छाइएका हरेक कुराहरूलाई मनभित्र दबाउन खोजे पनि दबाउन सकिँदैन। उनले कयौँ सपनाहरुलाई मनभित्र नै दबाएर कहिल्यै त्यो बाटोमा यात्रा नगर्ने प्रण गरेकी थिइन्। तर, मनैदेखि  चाहेका कतिपय कुराहरू यसै विलीन हुन दिन मनले मान्दैन।

३५ सालको कुरालाई उनी स्मरण गर्दै सुनाउँछिन्, ‘त्यो बेला बहुदल निर्दलको निर्वाचन हुन लागेको थियो, जनताहरू जोसिएका थिए। त्यो दृश्य देखेर मेरा हातहरू पुनः कलम समाएर कापीका पानाहरूमा सल्बलाउन थाल्यो।’

लेख्न छोडेको धेरै समय भएकाले उनका कतिपय प्रयासहरू खेर पनि गएका थिए। तर, पनि जसोतसो केही कथा, कविता र गीत लेखेको उनले सुनाइन्। कसैको अर्ती, मार्ग निर्देशनविना नै लेखन यात्रामा अगाडि बढेकी उनी केही समय अन्योलमा नपरेकी पनि होइनन्।

कहिले आफैँले लेखेको लेखहरूलाई पटकपटक अध्ययन गर्ने त कहिले अरुले लेखेका लेखहरूलाई अध्ययन गर्ने बानीले पनि निखारिँदै गएको उनले अनुभव सुनाइन्।

नपढेका मान्छेले के गर्न सकिएला भन्ने मनका प्रश्नहरूले गाँजिरहेको बेला उनले ०५५ सालमा आफूजस्तै कम पढाइ भएकाहरूले लेख, कथा लेखेको देखेर उनलाई आफ्ना विचारहरू लेख्न नपढेकाले पनि सक्ने रहेछ भन्ने विचार आए र उनले यात्रालाई निरन्तरता दिएकी थिइन्।

उनको यो अवधिसम्ममा सावरमती (कथा संग्रह), पुर्खाका कीर्तिहरू (कथा संग्रह), वैशाली (कथा संग्रह) र नरमाया पागल भई (कथा संग्रह)लगायतका कृतिहरू प्रकाशित भइसकेका छन्। 

मनका भावहरू लेखमार्फत व्यक्त हुन्छन्

अक्सर लेखकहरूले आफैँले भोगेका कतिपय भोगाइहरूलाई लेखमार्फत व्यक्त गर्छन्, भन्ने भनाइहरू छन्। त्यस्तै खड्गमाया पनि आफ्ना मनका भावनाहरूलाई कथा मार्फत व्यक्त गर्ने गरेको उत्तमकुमार लिङ्थेप (खडगमायाका छोरा) बताउँछन्।

उनको ४ जना छोराहरू छन्। ४ जनामध्ये उनी उत्तमकुमारसँग धरानमा बस्दै आइरहेका छन्। ‘आमाले कतिपय कुराहरू आफ्नो लेख रचनामार्फत पोख्नु हुन्छ’, उनी आमातर्फ नजर लगाउँदै सुनाउँछन्, ‘वैशाली (कथा संग्रह) को १५ नम्बरमा ‘चार सन्तान चार थरीका’ भन्ने शीर्षकमा छ, त्यो हेर्नुहोस हामी सन्तानहरूबाट चित्त नबुझेको उहाँले ले मार्फत व्यक्त गर्नुभएको छ।’

प्राथमिक तहको अध्ययन गरेर लेख रचनाहरू दैनिक जस्तो लेख्न, पढ्न सक्नु भनेको  इच्छा, चाहना र लगनशीलताले नै गर्दा सफलता मिलेको उनी बताउँछन्। त्यसो त उनको यो लेखन यात्रालाई सम्पूर्ण परिवार साथै बहिनी डा. शिवमाया तुम्बाहाम्फेको पनि बलियो साथ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.