|

पछिल्लो समयमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा सम्पन्न कला कार्यक्रममा वरिष्ठ कलाकार विजय थापासँग भेट हुने मौका मिल्याे। भेटमा भलाकुसारी सँगसँगै चित्रकला र कलाका बारेमा लेखिने आलेखका बारेमा चर्चा चलेको थियाे।

उनी प्रायः भन्ने गर्दछन्, ‘मेरा क्यानभास आधुनिक हुन्।’ उनले भनेजस्तै पक्कै पनि उनका सिर्जना आधुनिक हुन्। किनकि उनले अख्तियार गरेका आधुनिक कला शैली विश्वकला मञ्चमा क्रमिक रूपमा विकास भएर आएका हुन्।

विजय थापा नेपाली समसामयिक कलाक्षेत्रका एक स्तम्भ हुन् भन्दा फरक पर्दैन। लगभग चार दशकभन्दा बढी समयको उनको कला आरोहणले विशिष्ट पहिचान कमाइ सकेको छ। नेपाली कलाक्षेत्र र राष्ट्रले उनको कला योगदानबाट धेरै फाइदा लिइसकेको छ। एकताका राजामहाराजालाई कला सिकाउने र उनीहरूकै ‘पोट्रेट’ बनाउने कामदेखि प्राज्ञिक ओहदा सम्हाल्दै नेपाली कलाक्षेत्रलाई हाँक्नेसम्मका काम थापाबाट भएको छ।

१९६५ मा बनारसबाट कला अध्ययन सकेर नेपाल आएपछिको थापाको कला जीवनले वस्तुवादी कलाजीवन पार गर्दै अमूर्तवादी कलाधारमा पाइला टेकेको छ। थापाको कला यात्रालाई नियाल्ने हो भने उनको कलाले विश्वको सिंगो कलाविकासको आरोहलाई प्रतिविम्वित गर्दछ। उनको कलामा रोजर फ्रे, गोगा, सेजादेखि पिकासो र कान्डिन्स्कीसम्मका कलाकारहरूको कलाको झल्को मिल्छ।

कला के हो? विश्वमा यसको विकास कसरी भयो? भन्ने जान्न र बुझ्न पनि उनको कलाको गति धेरै सहयोगी सिद्ध हुन्छ। उनको कलाको विस्तार वा लय बुझ्न कलाको विगतलाई बुझन जरुरी छ।

आजभन्दा झण्डै बाह्र हजार वर्ष अगाडिसम्म रहेको ढुंगेयुगको अन्त्यतिर कलाको शुरुवात र विकास भएको हो। त्यस युगमा मानवहरू दिनभरका शिकारका
उपलब्धि गुफाका भित्तामा कोर्थे। इतिहासकाे चर्चितमध्येकाे एक गुफा हो – स्पेनको अल्तामिरा गुफा। आदिम मानव समाज जब नवपाषण युगमा आइपुग्यो तब मानवीय आवश्यकताले उनीहरूलाई नौलो आविष्कार गर्न उत्प्रेरित गर्‍याे। प्रगतिउन्मुख उनीहरू गुफाहरूमा बस्न छाडी खुला जमिनमा थुम्का जस्ता घर निर्माण गरी बस्न थाले। जुन चरण वास्तुकला र धार्मिक मठ मन्दिरको विकासको प्रारम्भिक चरण बन्यो।

ती थुम्काको विकसित रूप आजका चुच्चिदै गएका मिश्रका पिरामिडहरू हुन्। जहाँ मानव जनजीवन, युद्ध, शिकार आदिका चित्रहरू खोपिएका छन्। ग्रिकको वास्तुकलामा पनि भित्तेचित्र लेख्ने परम्परा थियो। युरोपमा पुनर्जागरण अगावैका पौराणिक शैलीका कलाकृतिमा देवीदेवता, इसामसिह आदिका चित्र कोरिन्थे र दरबार, महलका भित्तामा कथानक रूपमा परमेश्वरीय आस्था र भावनालाई चित्रमा उतारिन्थे।

युरोपमा जस्तै नेपालमा पनि भित्तेचित्र कोरिने चलन रहेको देखिन्छ। एघारौं शताब्दीको मध्यदेखि ताडपत्र, भोजपत्र आदि चित्रपटमा चित्र बनाइने प्रचलन बसेको पाइन्छ। त्यसताका हरिवंश, पञ्चतन्त्र, हितोपदेश आदि धार्मिक कथालाई नाटकीय ढंगबाट चित्रकलामा उतार्नु धर्म मानिन्थ्यो।

नेपालका कलाकार अरनिको तेह्रौं शताब्दीमा तिब्बत र चीन पुगी नेपाली कलाको गौरव बढाएका थिए भने उता यति नै बेला युरोप र पश्चिमी मुलुकमा धार्मिक, सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित ‘रियालिज्म’ चित्रशैलीको जग मजबुत बनिसकेको अवस्था थियो। ग्रुनेवाललगायतका कलाकारको कला योगदानले वस्तुवादी कलाशैली पराकाष्ठामा पुगिसकेको पाइन्छ। लियोनार्दाे दा भिन्ची, माइकल एन्जेलो, राफेललगायतका कलाकारको उदयले त युरोपीय कला झनै समृद्ध बनेको भेटिन्छ।

पुरातन कलाका प्रतिनिधि कलाकारहरूले नै विश्व कलामा नौलो जागरणको युग ल्याउन आधार स्तम्भ निर्माण गरिदिएका थिए। ती कलाकारले आफ्नो जीवनकालमा परापूर्वकालदेखि नै चलिआएको चित्र र मूर्तिकलाको शैली वा प्रवृत्तिमाथि प्रगतिवादी लक्षण पस्केर कलाक्षेत्रमा चलिरहेको वस्तुवाद वा ‘रियालिज्म’लाई अघि बढ्ने ढोका खोलिदिएका थिए।

यस्तै सन् १८८० को उत्तरार्धमा फोटोग्राफीको शुरुवातले चलिआएको ‘सररियालिज्म’ कलामाथि ठूलो परिवर्तन ल्याएको पाइन्छ। समाजमा यो प्रविधिले छिटो, छरितो तरिकाले कला सिर्जना गर्न थालेको देखिन्छ। यो प्रविधि जन्मिएपछि पोट्रेटका शौखिनहरू मोडलमा बसिरहनुपर्ने झन्झटबाट मुक्त भए। अब कलाकारले गर्ने काम फोटोग्राफी कलाले सजिलै पूरा गर्ने भयो। यही कारण हो जसले कला क्रान्तिको ढोका ढकढकाउन प्रोत्सान गर्‍याे र नौलो कलावादको खोजीलाई नैसर्गिक बनायो।

साथै १८६३ मा फ्रान्समा चलेको नौलो कलामोडलाई परम्परावादी र यथास्थितिवादीले अस्वीकार गरेपछि प्रदर्शनी भएको ४००० ‘अस्वीकृत कृति’को सफल प्रदर्शनीले पनि नौलो मान्यताको आवश्यकतालाई अपरिहार्य सावित गरिदिएको हो। त्यतिवेला पाश्चिमा मूलमा उदय भएका परिवर्तनवादी कलाकारहरू मोने, माने, डाली र भेनगागका समयानुरूपका कलाले कला दुरुस्तको प्रस्तुतीकरण मात्र होइन कला प्रयोग, अभिव्यक्ति र विद्वत्ताको कसी पनि हो भन्ने मान्यता वीजारोपण भएपछि र दोमियोका समाजवादी चित्रहरूमा कलाक्रान्तिका झिल्काहरू देखिन थालेपछि कलाले परिवर्तनको आधुनिक संघार चिर्न सफल भएको हो

प्रथम र दोस्रो विश्व युद्धको प्रभावमा त झन् आधुनिक कलाको स्वरूप नै स्पष्ट रूपमा अगाडि आएर देखिन थाल्यो। तत्कालीन विश्वका परिवर्तित विश्व घटना क्रमहरू, औपनिवेशिक नीति, शीतयुद्ध, हिंसा, आर्थिक नाकाबन्दी, गरिबी, भौतिक र आणविकवादको प्रभुत्व जस्ता दम्भको परिणतिले पनि कलाकारहरूलाई आधुनिक कला जन्माउन प्रेरित गरेको हो। र ‚यो घटनाक्रममा कलाकारहरू माने, रोजर फ्रे, गोंगा, सेजा, डाली, वेनदेतो, ब्राक, इटालीका कलाकार पाब्लो पिकासो, पल ली, अमेरिकामा ज्याक्सन पोलक, विलियम डि. कनि,मास्कोका कान्दस्की आदि थुप्रै आधुनिक कलाकारहरूको उदय भएको हो।

अठारौंदेखि उन्नाइसौ शताब्दी त आधुनिक कलाको विकासक्रमका निम्ति स्वर्ण युग नै मानिन्छ। आजको पुँजीवादी प्रभुत्वको समयचक्रले त झन् कलाको प्रायोगिक सोचलाई फराकिलो बनाउदै लगेको प्रमाण छ। युरोप र पाश्चात्य मुलुकमा कलामा गरिएको प्रयोगले कलाको परिभाषालाई असीमित बनाउँदै लगेको छ। अहिले कलाकारहरू वाद र बन्धनको घेरा तोड्दै स्वनिर्मित वाद वा शैली अनुरूप नै काम गरिरहेका छन्।

नेपाली कलाले पनि यसरी नै कला विकासको फड्काे मार्दै आजको रूपमा अर्थात् आधुनिक र उत्तरआधुनिक कला रूपमा पाइला टेकेको छ। परम्परागतबाट शुरु भएर वस्तुवादी हुँदै अघि बढेको हाम्रो कलाविकासको यात्राले थापालाई पनि यही कला विकासको गतिमा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.