|

प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखमा राजनीतिक दलहरू विभाजन हुने र मिल्ने क्रम जारी छ। कतिपय साना दल र मोर्चाहरू मिलेर चुनाव लड्ने तयारीमा रहँदा कतिपय राष्ट्रिय दल भने फुटेर निर्वाचनको सामना गर्दैछन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि जनता समाजवादी पार्टीबाट बाहिरिएर हालै मात्र नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका छन्। यो दलले पार्टी पुनर्गठनदेखि निर्वाचनको तयारीसमेत गरिरहेको छ।

यसै सेरोफेरोमा नेसपाको राजनीतिक कार्यदिशा, आगामी चुनाव र पार्टीको संगठन निर्माणसम्मको तयारीका बारेमा थाहाकर्मी जगत भण्डारीले नवगठित पार्टी नेसपाका महासचिव रमेश यादवसँगको कुराकानीको सम्पादित अंश— 

संघ र प्रदेशको निर्वाचन घोषणापछि पार्टी निर्वाचन आयोगमा दर्ता गर्नुभयो। तपाईँहरूलाई त समय नै अपर्याप्त हुने भयो हैन?

संगठन निर्माणको जरो नभएकाले अलि अप्ठेरै छ। तर चुनावमा जानैपर्छ। तयारीमै छौँ।

पार्टीको दर्ता प्रक्रियादेखि संगठन निर्माणसम्मको काम सकियो त?

सकियो, हामीले निर्वाचनका लागि समेत दल दर्ता गरिसक्यौँ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सातै प्रदेशमा भाग लिने गरी तयारीमा जुटिसक्यौँ। 

स्थानीय तहको निर्वाचन एउटा पार्टीबाट, संघ र प्रदेशको निर्वाचन अर्को पार्टीबाट आम मतदाता र जनताले के भन्लान्?

जनताले बुझिराखेका छन्। स्थानीय चुनावमा हामी आफैँले निर्माण गरेको पार्टी जसपामा थियौँ। हामीले नै एकता गरेर जसपा बनाएको हो तर त्यहाँ प्राइभेट कम्पनीजस्तो चलाउन खोजेपछि नयाँ पार्टी खोल्यौँ। 

पार्टीमा समानान्तर गतिविधि गर्ने, छुट्टै बैठक बस्ने अनि कारबाहीमा परेपछि अध्यक्ष उपेन्द्र यादवलाई दोष दिएर हुन्छ त?

होइन नि। हामीले त पार्टीलाई विधि विधानअनुसार नै चल्नुपर्यो भने धेरै भन्यौ। उहाँ (उपेन्द्र) एकलौटी ढंगले चल्न थालेपछि हामीले आग्रह गर्‍यौँ। अनि नमानेपछि के गर्ने त ? हामीले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक बोलाउन धेरै भन्यौ। तर मान्नुभएन बरु आफ्नो गुटको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर आफ्नो विचार राख्न अरु साथिहरूलाई थाहै नदिएर बैठक बसेपछि हामी काठमाडौँमा बैठक बसेका हौँ। त्यतिबेला पनि हामीले पार्टी जोगाउनका लागि छलफलमा आउन भनेका थियौँ तर, आउनु भएन। 

तर जसपाको केही भाग ल्याएर नयाँ पार्टी बनाउनु पनि भट्टराईको सफलता मान्नुभएको होला हैन तपाईँहरूले ?

जित–हार सफल–असफलको कुरा होइन। हाम्रो मुद्दा र विचार मिलेको हो। समानुपातिक, समावेशीताको कुरा जुन उहाँ(बाबुराम) ले उठाइरहनुभएको छ। त्यो कार्यान्वयनका लागि हामी एक ठाउँमा उभिएका हौँ। 

यसअघि जसपामा हुँदा तपाईँका पार्टी अध्यक्ष बाबुरामले गठबन्धन गर्नुहुँदेन भनेर निकै रोष व्यक्त गरिरहनुभएको थियो। अहिले फेरि त्यहीँ गठबन्धनमा जोडिन जुत्ता च्यातिने गरी दौडिरहनुभएको छ हैन?

जतिबेला केपी शर्मा ओलीले संसद् विघटन गर्नुभयो त्यतिबेला सबैभन्दा पहिला हाम्रा अध्यक्षज्यूले राष्ट्रियताको रक्षा गर्नका लागि र संविधान जोगाउनका लागि आवाज उठाउनुभएको थियो। संविधान अपुरो छ तर जस्तो छ यसलाई बचाउनुपर्छ भनेर भूमिका खेलिएको हो। त्यो परिस्थितिले बनेको गठबन्धनमा अहिले पनि हाम्रो भूमिका छ। 

स्थानीय तहको निर्वाचनमा त उहाँले कांग्रेससँग चुनावी तालमेल गर्नु हुँदैन भन्नुभएको थियो। भेडा भेडातिर, बाख्रा बाख्रातिर भनेर अहिले त्यही अटाउन मरिहत्ते किन गर्नुपरेको?

त्यस्तो होइन। हाम्रो पार्टीको विधानमा विचार मिल्लेसँग तालमेल गठबन्धन हुनसक्ने भनिएको छ। त्यो अनुसार हुन्छ। 

कति सिट ल्याउनुहुन्छ त?

गठबन्धनमा कति भाग पर्छ। कार्यदल बनेको छ। त्यसमा छलफल हुन्छ। हाम्रो भागमा कति सिट पर्छ त्यो अनुसार हिसाबकिताब होला। भाग परेको सबै ठाउँमा जितिन्छ भन्ने पनि छैन। जित्ने ठाउँमा भाग मिल्छ भन्ने पनि छैन। 

एमाले, लोसपा र रेशम चौधरीको पार्टीबीच चुनावी तालमेलको छलफल अघि बढेको होइन र?

छलफल भइरहेको छ। पहिला त एउटा छुट्टै समाजवादी केन्द्र बनाएर जाने कुरा भएको थियो। प्रचण्डजी, माधव नेपालजीदेखि लिएर वामदेवजी सबै मिलेर जाने कुरा थियो। अहिले पनि हामीले एउटा साझा टिम बनाएर चुनाव लड्दा राम्रो हुन्छ भन्नेमा छलफल भइरहेको छ। कति सफल हुन्छ असफल हुन्छ, भोलि पर्सि थाहा हुन्छ। 

अर्को कुरा, तपाईँले लोसपा भन्नुभयो त्यो त जसपामा विचार नमिलेर उहाँहरूले पनि नयाँ पार्टी बनाउनुभएको हो। तत्कालीन राजपालाई एकतामा ल्याएर जसपा बनाइएको थियो। हामी हिजो पनि एउटै पार्टीमा थियौँ। अहिले पनि छलफल भइरहेको छ। विचार मिल्ने पार्टीहरूसँग छलफल गरेर टुंग्याउँछौँ। 

तर एमालेसँग सम्भावना छैन तालमेलको?

छैन। कुनै सम्भावना छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.