|

संखुवासभा :  खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयका लागि जग्गा प्राप्त भएको छ। विदुषी योगमाया आयुर्वेद विश्व विद्यालयका लागि खाँदबारी नगरपालिका –९ ढुंगे बिसौनामा ४८.६७ रोपनी जग्गा रजिस्ट्रेसन पास भएको हो।

योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ रोपनी जग्गा  रजिस्ट्रेसन पास भएको विश्वविद्यालय पूर्वाधार समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए।

प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो।

खाँदबारी –९ ढुंगे बिसौनाका स्थानीय मानबहादुर तामाङ १९.९२ रोपनी ,तिलकबहादु तामाङ ४.४८ रोपनी,ग्याम बहादुर सुब्बा ४ रोपनी,धनमाया श्रेष्ठ २.०२ रोपनी, केशर बहादुर श्रेष्ठ १.५४ रोपनी र सफल माया श्रेष्ठको १६.७१ रोपनी जग्गा योगमाया विश्वविद्यालय पूर्वाधार समितीको नाममा रजिस्ट्रेसन पास भएको राईले बताए।

जग्गा खरिद गर्न सरकारले योगमाया विश्वविद्यालय पूर्वाधार समितीको नाममा रु सात करोड विनियोजन गरिसकेको छ। 

आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको ३७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिका २३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ।

वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगी सहित अरुण नदीमा जल समाधि गर्नु भएको थियो। उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ।

उनको वास्तविक नाम मायादेवी न्यौपाने हो। आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय सञ्चालन गर्ने अभियानताहरू बताउँछन्। खाँदबारी ९ तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पुर्वाधार निर्माण समितिको फिल्ड कार्यालय समेत स्थापना भई सकेको छ। अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.