|

काठमाडौं : नेपाली कांग्रेसका नेता‚ सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ। घाँटीको क्यान्सरबाट पीडित भइ करिब ३ साताअघि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरी शनिबार राति निधन भयो । 

नेपाली राजनीतिमा अन्य नेताहरूको अनुपातमा उनी 'जिरो हेटर्स' भएका नेता हुन भन्दा पक्कै अन्यथा हुँदैन। अहिले गिरीको निधनलाई लिएर देशदेखि विदेशसम्मका नेपाली नागरिकले श्रद्धान्जली दिइरहेका छन्। उनी युवादेखि वृद्धवृद्धासम्मका प्रिय नेतामा गनिन्छन्/ गनिन्थे।  विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता पनि उनको विनम्रता, अब्बल बौद्धिकता, स्पष्ट विचारकका प्रशंसक छन्।

इमान्दारीता र निष्ठाको पर्याय, सधै लो प्रोफाइलमा बस्न रुचाउने, पार्टी भित्र र बाहिरका खराब प्रबृत्तिका विरुद्ध खरो उत्रिने उनको स्वभावले परिचित गिरीलाई  युवापुस्ताले उनलाई कसरी हेरिरहेको छ? हामीले युवाहरूको राय बुझ्ने प्रयास गरेका छौं।

****

प्रदिप गिरी समकालीन नेपाली समाजका एक बौद्धिक, निष्ठाको राजनीति गर्ने एक सादगी व्यक्तित्व हुनुहुन्छ। जसले यसरी पनि राजनीति गर्न सकिन्छ भन्ने पाठ मात्र सिकाइ मात्र रहनु भएको थिएन, राजनीतिलाई सतही रुपमा लिने हाम्रो चिन्तनलाई पुनर्विचार गर्न अभिप्रेरित गरिरहनु भएको छ।

संसद भवनमा आम भुइँ मान्छेका विषयलाई विकल्पसहितको बुलन्द आवाज उठाएर होस् वा जटिल घन चक्करमा रुमल्लिहरने राजनीतिका दर्शनलाई सरलीकृत रुपमा सपाट ढंगले उठाइरहँदा होस् यी यस्तै कारणले मेरा लागि औँलामा गन्न पनि नपुग्ने नेपाली राजनीतिज्ञहरूको पहिलो नम्बरमा प्रदिप गिरी रहनु भएको छ।

विभिन्न समय र स्थानमा हुने नेपाली साहित्यिक महोत्सवमा हुने बौद्धिक विमर्शहरू गिरीबिना अधुरा र अपूरा लाग्छन्, गिरीले पोखरा लिटरेचर फेस्टिवलमा ‘महाभारतका प्रमुख पात्र’ माथि गरेको टिप्पणी सुनेपछि म उहाँको बौद्धिकदेखि नतमस्कत भएको थिएँ। नेपाली राष्टिय दैनिक पत्रिकामा आउने उहाँका आर्टिकलहरुको म नियमित पाठक हुँ। हार्दिक श्रद्धाञ्जली

डम्मर बिसी, बर्दिया

****

परिवर्तनशील समाजमा भत्किँदै र बन्दै गर्ने नवीन सोचहरूमा यति बिघ्न परिचित परिपक्व अनुहार देखेर म अचम्मसँग लालायित भएको थिएँ।

एक पाको व्यक्ति जो समाज र संस्कृतिको उत्तिकै सन्तुलित व्याख्या गर्छ र आफू कुनै राजनितिक पार्टीसँग आवद्ध भएको कतै छनक पनि देखाउँदैन। वर्तमानमा बाँचिरहेका समस्याहरू सिद्धान्त र परिवेशको सुन्दर संयोजनमा व्याख्या गर्न मन पराउने प्रदीप गिरी खास समाजको समस्या बुझिरहेका थोरै कम राजनीतिज्ञको रुपमा देखिरहे मैले।

मलाई यस्तो एक चिन्तक कसरी राजनीतिमा लाग्नुभयो र किन आफ्नो पार्टीमा अझ शक्तिशाली बन्न सक्नुभएन भन्ने लागिरहन्थ्यो।

गिरीको उमेरका नेताहरू बेइमान महिमत्त साँढेजस्ता आफ्नै सुगारटाइमा रमिरहँदा उमेर भन्दा दशकौँ पछाडिको मेरो उमेर समुहका कानमा पनि नबिझाउने गरि सुक्ष्म तर विषयमा उहाँको बडो स्पष्ट र सरल व्याख्या सुनेर म बेहद खुसी हुन्थेँ।

देशको टीठलाग्दो राजनितिक परिवेशमा सुन्न र बुझ्न लायक औँलामा गन्न मिल्ने नेतामा गिरी एक हुनुहुन्छ।

अहिले पनि म गिरीलाई कुनै नेता भन्दा पनि व्याख्याता र विश्लेषककै रुपमा अगाध माया गर्छु। जीवनमा उहाँका कुरा सुनेर बिताएका क्षणहरू सदा-सर्वदा प्रिय र खास औचित्यपूर्ण छन्। बडो सुन्दर आवाजमा शब्दहरूमा प्राण भर्दै विचार उत्तेजक कुरा गरिरहने गिरी,मेरो नेपाली समाजका थोरै मध्ये एक प्रेरणाका स्रोत हुनुहुन्छ।

प्रमिल पौडेल, पर्वत

****

प्रदिप गिरी सिद्धान्त निष्ठ लोकतान्त्रिक चरित्र भएका इमानदार व्यक्तित्व लाग्छ। मेरो नजरमा उहाँ राजनीतिज्ञ कम विश्लेषक बढि लाग्नुहुन्छ। सदनमा कैयौं पटक आफु सम्बद्ध राजनितिक दलको भन्दा माथी उठेर विचार प्रस्तुत गर्दा गज्जब लाग्छ।

माओवादीको शसस्त्र  द्वन्द्वलाई शान्तिपुर्ण राजनीतिमा ल्याउन तत्कालिन सत्तापक्षबाट उहाँले खेल्नुभएको भुमिका इमानदार थियो भलै ति भूमिकाहरूले मात्र माओवादी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सकेन तर उहाँलगायतले वार्ताको जग बसालेको हो भन्ने लाग्दछ।

गिरी इमानदार राजनीतिज्ञ निष्पक्ष विश्लेषण गर्ने र युवा वृत्तमा लोकप्रिय हुँदाहुँदै पनी राजनीतिमा सक्रिय हस्तक्षेप गर्न नसक्नु उहाँको कमजोरी हो भन्ने लागिरहन्छ। आदर्श व्यक्तित्व गिरी फेरि पनि गुलजार भएर सदन र सडकमा प्रस्तुत हुनुपर्थ्यो विडम्बना उहाँ हामीबीच रहनुभएन।  उहाँप्रति श्रद्धाञ्जली 

उज्वल खड्का, बझाङ

****

मूलत प्रदिप गिरी भन्ने बित्तिकै मलाई नेपाली कांग्रेसका नेता भन्ने भान नै पर्दैन सोझै मेरो मानसपटलमा एक बौद्धिक व्यक्तित्व तस्बिर खडा भइहाल्छ।

म गिरीलाई कम्युनिस्ट,मार्क्सवादी अध्येता भन्न चाहान्छु, भन्ने नै हो भने गिरी सबै क्षेत्रका जानकार हुन म विशेषत मार्क्सवादी किन भन्छु भने जति प्रदिप गिरीका लेख रचना अन्तर्वार्ता र भाषण हेर्छु म मार्क्सवादी दृष्टिकोणको भाव भेट्छु।

उहाँको व्यक्तिगत जिवनशैली त नजिकबाट नियाल्न नपाए पनी सार्वजनिक बहस कार्यक्रम हरुमा देख्दा बोलिको विनम्रता, विचारमा स्पष्ट र ज्ञानमा अब्बल देख्दा प्रदीप गिरीको व्यक्तित्व असाधारण देखिन्छ।

गिरी पुस्ताका हिसाबले मेरो हजुरबुबा कालिन भए पनि राजनीतिक सोचका हिसाबले मेरो पुस्ताको पनि चिन्तन बोक्ने सरल चिन्तक लाग्नुहुन्छ।

गिरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्यन गरेका भएरै होला राजासँग निकट सम्बन्ध भएको पारिवारिक पृष्ठभूमि भए पनि उहाँ प्रजातान्त्रिक र कम्युनिस्ट विचारक हुनपुगेको उहाँका विचारबाट स्पस्ट हुन्छ।  गिरी जस्ता नेतृत्व बौद्धिक हिसाबमा इतिहासमा बिरलै पाउने नेतृत्व भित्र पर्नुहुन्छ।

गिरीले नेपाली राजनीतिमा प्रमुख पारेको छाप नै राजनितिक व्यक्तित्व बौद्धिक हुनुपर्छ र ज्ञानमा अब्बल हुनुपर्छ भन्ने नै लाग्छ। उहाँले आन्दोलन,क्रान्ति र परिवर्तनलाई जसरी वैज्ञानिक तरिकाले बुझ्नुहुन्थ्यो र बुझाउनुहुन्थ्यो त्यो नै प्रमुख हो। गिरीले राष्ट्रियता,समावेशिता,समानुपातिकको पक्षमा जसरी अब्बल विचार राख्नुहुन्थ्यो। त्यो हामी जस्ता युवाहरूका लागि सामाजिक एवम राजनैतिक चेत हुनजान्छ। विशेषत राजनितिक यात्रामा हिडेँका युवापुस्ताले प्रदिप गिरीलाई पढन र बुझ्न अत्यन्तै जरुरी छ, जस्ले राजनैतिक चेतमा अब्बल ल्याउने छ। गिरी एक राजनितिक आदर्श हुनुहुन्छ र आदर्श रहिरहनुहुनेछ।

मिनराज आचार्य, जुम्ला

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.