|

काठमाडौं : नेपाल सरकार र बेलायत सरकारबीच श्रमिक आपूर्ति गर्न ६ भदौमा श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी सरकारको सम्झौतासँगै खुल्ला हुन लागेको हो।

बेलायत सरकारले नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने प्रस्ताव गरेसँगै सरकारले चासो देखाएको थियो। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

नेपाल र बेलायतबीच जी टू जी अर्थात सरकार–सरकारबीचको समझदारी मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने गरी सम्झौता गर्ने तयारी भएको श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिएपछि हस्ताक्षरको मिति तय भएको श्रम मन्त्रालयले जनाएको छ।केहीदिन अघि नेपालस्थित बेलायती दूतावासले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गर्दै भदौ ६ मा सम्झौताको मिति तय गरेको थियो।

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस र नेशनल हेल्थ सर्भिसका प्रतिनिधि साथै काठमाडौंमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा भएको थियो।

सोही मस्यौदाअनुसार श्रम सम्झौताका लागि सबै आधार तय भएको उनले जानकारी दिए। गत साता नै मन्त्रिपरिषद्ले पनि बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिइसकेको छ।​

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट अनमी, बी एन नर्स, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता हुने सचिव अर्यालले बताए।

श्रम सम्झौतापछि स्वास्थ्य क्षेत्रमा काम गर्ने गरी कामदार पठाइँदै छ। अहिले यति संख्या भनेर यकिन नभएको उनको भनाइ छ। पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता हुने भएको छ।​

यस्तो छ मापदण्ड

रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम आईईएलटीएस परीक्षामा ६ अंक प्राप्त गर्नुपर्ने गरी सम्झौता हुँदैछ।

बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, ५ वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त छन्।

कम्तीमा साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउँछन्। बेलायत जाने नर्सले वार्षिक करिब ५ लाख नेपाली रुपैयाँभन्दा बढी कमाउन सक्नेछन्।

हाल, कृषि, उद्योग, पर्यटन, उत्पादन र निर्माण क्षेत्रमा मौसमी कामदार बेलायत जाने गरेका छन्। गत आर्थिक वर्षमा २ हजारभन्दा धेरै नेपालीहरू मौसमी रोजगारीका लागि बेलायत पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.