गर्दभरागको याम आएजस्तो अनुभव भइरहेको छ, यद्यपि मालश्रीको सुमधुर धुन सुनिने बेला संघारमै आइसकेको हो। छरछिमेकमा अनाम गायक गाइरहेको छ उदय सोताङको स्वर, धुन अनि सन्तोषप्रधानको रचनामा सजिएको गीत।
आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो
बल्ल बल्ल भरिएको घाउमा फेरि नयाँ चिरा पर्यो...
केही हल्ला पनि सुनिँदैछ। शायद गायकको प्रशंसा भइरहेको छ।
अकिञ्चन एउटा श्लोक सम्झिरहेछ–
उष्ट्राणां च विवाहेषु गीतं गायन्ति गर्दभा:।
परस्परं प्रशंसन्ति अहो रूपSमहो ध्वनि:।।
अर्थात् ऊँटको बिहेमा गधाहरू गाउँछन्। कति राम्रो रूप अनि कति राम्रो स्वर भन्दै उनीहरू एकार्काको प्रशंसा गर्छन्।
मन त्यसै पनि शान्त छैन, देशभित्र र बाहिरको विषम परिस्थितिले गर्दा हुँडलिएको छ। त्यसमाथि सिकारु गायकलाई सुन्नुपर्दा त झन मुटुभित्र छुरा होइन, खुँडा, खुकुरी, तरबार चल्न थालेका छन्। हृदय युद्धभूमिमा परिणत होला जस्तो भएको छ।
तर अकिञ्चनलाई जसरी भएपनि सम्हालिनु छ। मनको शान्ति कायम गर्नुछ। केही लेख्नुछ अशान्त लहरहरूले मस्तिष्कबाट विचारहरू बढारिदिनुअघि नै।
दु:खको कुरा बिथोवन, मोजार्ट, चाइकोव्सकी, बाख, लोकधुनहरू केहिले पनि हुँडलिएको मन शान्त पार्न सकेका छैनन्। शान्ति कसैले लुकाइदिएको छ, कालाबजारियाहरूले पो हो कि?
थकित मन बोकेर अकिञ्चन विगततर्फ फर्किएको छ। रिडीबाट कालीगण्डकी, रूद्रवेनी, बडिगाडको किनार नापिसकेपछि केही लर्कन उकालो काटेर अकिञ्चन घर आइपुगेको छ।
हजुरआमा बुढोघरमा हजुरबुबाको श्राद्ध गराउँदै हुनुहुन्छ। पाँचवर्षीय अकिञ्चन बडो ‘मूड’मा छ। शारदीय मौसमले पनि साथ दिएको अनुभव हुँदैछ, ऊभित्रको संगीतकार जागेको अवस्था छ।
निर्जीव मुरलीमा जीवन फुकिरहेको छ ऊ। सबै थरी सुर, तालहरू उसको मुखबाट मुरली हुँदै लोकमा प्रवाहमान भइरहेका छन् जस्तो लागिरहेको छ।
होइन, संस्कृतका हरफहरूसँग मुरलीका 'धुन'को दोहोरो भिडन्त हुँदा आगोका झिल्काहरू उत्पन्न भएर त्यो सानो लोक नै युद्धग्रस्त क्षेत्रजस्तो पो भएछ क्यारे! मुरलीबाट प्रवाहित बेसुरा ध्वनि तरंगहरूले पतिवियोगले विदीर्ण हजुरआमाको मन–मुटु–मस्तिष्क झन् खल्बल्याइदिएछन् कि! सम्झिल्याउँदा त्यस्तै लाग्छ।
विद्युत् वेगमा हजुरआमा प्रकट हुनुहुन्छ। उहाँले मुरली लुकाइदिएपछि अकिञ्चनको रुवाइले त्यो सानो संसार एकै छिन 'तरंगित' हुन्छ। केही क्षणपछि कसैका पाइलामुनि परेर गुन्द्रीमुनि लुकाइदिएको निर्धो मुरलीको नश्वर चोला हजुरबाको तिथि पारेरै उठ्दा चाहिँ लोक अलि बढी समय 'तरंगित' हुन्छ बालकको रुवाइले। ‘बालानां रोदनं बलम्’ त्यसै भनिएको होइन।
के हजुरबुबाको तिथि पारेरै मुरलीको नश्वर देह माटोमा मिल्नु संयोगमात्रै थियो त?
फर्केर हेर्दा हजुरआमा माथि सहानुभूति पनि जाग्छ। कसरी सहन सक्नुभएको होला उहाँले ती कर्णकटु 'धुनहरू' पतिवियोगको घाउ झनै बल्झाउने त्यो दिन?
अहिले अकिञ्चन बसेको शहरको एक टोलमा उल्लिखित 'प्रशस्त सम्भावना भएको' गायकले विश्राम त लिएको छ, तर अकिञ्चन आतंकित नै छ। सांगीतिक आक्रमणको अर्को लहर शुरू हुनुअघि नै चल्दिनुमा भलाइ छ, यस्तै सोचेर ऊ बाहिरिन्छ।
महानगरको मुटुमा सार्वभौम संसदमा उपस्थित केही रिमोट-सञ्चालित, ट्रोजन घोडा हिन्हिनाइरहेका छन्। घोडाको अपमान गरेको होइन, यो कठिन समयमा जनावरप्रेमीले यति बुझिदिनुहोला।
श्यामकर्ण, हरितकर्ण,लालकर्ण, श्वेतकर्ण, पीतकर्ण र अन्य वर्णका सबैजसो घोडाले हालै मालिकको आदेशानुसार हिन्हिनाएरै नागरिकता संशोधन विधेयक अनुमोदन गरेका छन्।
आधुनिक युगको एक चक्रवर्ती सम्राटले राजसूय यज्ञ गरेपछि छाडेका घोडाहरू द्विदेशीय अन्तराष्ट्रिय सीमा पार गर्दै, गाउँ, बस्ती, शहर तहसनहस पार्दै संसद् पसेका हुन् भन्दैछन् दबाइएका आवाजहरू, पुष्टि हुन बाँकी समाचारहरू। केहि घोडाहरू मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुखहरूका अग्लाअग्ला पर्खालहरूले 'सुशोभित' निवासतर्फ सोझिएका छन्। खुला घाउझैँ लाग्ने खुला सीमाबाट अनधिकृत प्रवेश गरेका अनेकथरी पात्रहरू टोलटोलमा घुमिरहेका छन्, अकिञ्चन चाणक्यकालीन जासूसहरूको जासूसी कला सम्झिन खोज्छ। कोही साधुसन्त रे!, भगवानका नाममा माग्छन्। कोही सरसामान बेच्छन्। कोही स्टोभ–प्रेसर कुकर मर्मत गर्छन्।
हामी भने जातैले लाहुरे, घरआँगनमा कामका अवसर कहाँ देख्छौँ र? योग्यता धेरै भएर हो कि के हो कुन्नि, कामको खोजीमा संसारभर भौँतारिन्छौँ। ५२ घुस्सा ५३ ठक्कर खान्छौँ।
यी सबै दृश्य कलाकार शशि शाहका घोडाहरू निर्निमेष हेरिरहेछन्।
जरोग्रस्त अकिञ्चन इतिहासका पाना पल्टाउँछ, वर्तमानको गन्ध आउँछ। आधुनिक नेपालको इतिहासको कुनै पानाबाट थापाथली दरबारका झड्केला महाराजको आत्मा प्रकट हुन्छ। त्यो विद्युत् वेगमा सिंहदरबार पस्छ। उनको शक्ति क्षीण भइसकेको छ तर सत्ता र शक्तिको लालसा जवान छ। उनी ढुंगा, माटो, आकाश, पानी, प्रकाशमा बिलिन भइसके। आत्मा भइसके उनी। त्यसैले युद्ध गरेर देशको क्षेत्रफल वृद्धि गर्न सक्तैनन्।
नत्र त वर्षायाम करिबकरिब सकिइसकेको, शरद शुरू हुनै लागेको याममा त कूच गर्नुपर्ने हो, राज्य बढाउने उद्योग गर्नु पर्ने हो। उल्टै राजसूय यज्ञपछि छाडिएका चक्रवर्ती सम्राटका घोडा राज्यको मुटुमै धावा बोल्दा पनि चुप छन् उनी। रैतीलाई थर्काउन भने छोडेका छैनन् उनले। बेलाबेलामा खै कताबाट हो चूप लाग, बढ्ता नबोल भन्दै 'बडबोलाहरू'लाई थर्काएको सुनिन्छ। रैती ए महाराज त जिम्दै रै‘छन् भन्दै खुशी हुन्छन् आफ्ना हजार दु:ख बिर्सेर।
शहरको एकलास चिर्दै वायुवेगमा एउटा नम्बरबिनाको कार खै कतातिर हो बतासिन्छ। आकाशभेदन गर्ने गरी कोहि चिच्याएको आवाज आउँछ। ठिक त्यही वेला सडकबत्ती सबै निभ्छन्, सिसीटीभी गुल हुन्छ।
सिद्धार्थ आर्ट ग्यालरीमा सुप्रसिद्ध कलाकार किरण मानन्धरको कला प्रदर्शनी चलिरहेको छ। आफ्ना गुरूहरूप्रति, कलाप्रेमीहरूप्रति, कलाकारहरूप्रति, समाजप्रति, देशप्रति 'समर्पण' गरेका छन्, उनले यी कलाकृति।
'समर्पण' कला प्रदर्शनीको छेक पारेर कलाकारसँगको संवादमा सहभागी हुँदा कलाकारको जीवन, उनले गरेको संघर्ष र त्यागबारे जानकारी प्राप्त गर्ने अवसर प्राप्त हुन्छ।
खासगरी कलाकार मानन्धरले आफ्नो परिचय बनाउन संघर्ष गर्दै गर्दाको कालखण्ड नेपाली लोकले कला र कलाकारको महत्त्व खासै बुझ्न नसकेको कठिन समय रहेको थाहा हुन्छ उनकै अभिव्यक्तिबाट। परिवारमा पनि डक्टर, इन्जिनियर, सरकारी कर्मचारी आदिलाई ठूला मान्छे ठान्ने, कलाकारलाई चाहिँ तल्लो श्रेणीमा राख्ने चलन छ, अहिले पनि। अझ वैध वा अवैध जसरी होस्, 'पैसो' कमाउन सक्यो भने त त्योभन्दा ठूलो मान्छे कोही हुँदैन।
छिमेकमा त हुँदै हो, सातसमुद्र पारि त झन कलाकारहरूको, कलाकृतिहरूको ज्यादै सम्मान हुँदोरहेछ।
सुप्रसिद्ध कलाकार पाब्लो पिकासोको गुएर्निका नामक कलाकृति विश्वप्रसिद्ध छ। कलासत्रमा गुएर्निका सम्बन्धमा पनि चर्चा चल्यो। उक्त कलाकृति स्पेनी गृहयुद्धले गरेको विनाशमा केन्द्रित छ। स्पेनी 'राष्ट्रवादीहरूको आग्रहमा सन् १९३७ मा नाजी जर्मनी र फासिवादी इटली सरकारले गुएर्निका बास्क क्षेत्रमा अवस्थित शहर गुएर्निकामा बमबारी गरेका रहेछन्। पिकासोले उक्त आक्रमणको विरोधमा 'गुएर्निका' सिर्जेका रहेछन् प्यारिसस्थित घरमा बसेर।
किरण मानन्धरसँगको संवादमा गुएर्निकाबारे थप केही तथ्य उद्घाटित भए।
कुनै बेला यसलाई पिकासोको उम्दा कलाकृति मानिँदो रहेनछ। अहिलेको कुरै बेग्लै छ।
फ्रान्सले गुएर्निका किन्न खोजेको रहेछ स्पेनले भनेजति मूल्य तिर्नेगरी।
स्पेनिस सरकारले जवाफ दिएछ: हामी यो कलाकृति कुनै पनि मूल्यमा तिमीलाई दिँदैनौँ।
हाम्रोमा चाहिँ राम्रै मूल्य पाइने भए सबै थरी शासकहरूले यस्ता कलाकृति बेच्न बेर मान्दैनन् 'देश र जनताका लागि'। सत्ता र शक्तिका लागि लौ त परे देशै बेच्न पछि नपर्नेहरूले कलाकृति बेच्नु कुन ठूलो कुरा भो, होइन र?
संगीत, कला, साहित्यको कदर नहुने राज्यप्रणालीमा अनमोल मणि कौडीका भाउमा बिक्नु कुन अचम्म भयो र?
विदेशतिर धनाढ्यहरूले, ठूलाठूला व्यापारिक घरानाहरूले कलाकृतिहरू किनिदिएर, कलागृह अर्थात् ग्यालरीहरूलाई आर्थिक सहयोग गरेर कलाको संरक्षण, संवर्द्धन गर्ने गर्छन् रे, सरकारहरूले पनि धेरै सहयोग गर्छन् रे,विदेशतिर कला र कलाकारको उन्नयनका लागि। हाम्रा मन्त्रीहरू, उच्चपदस्थ सरकारी कर्मचारी, सांसदहरू, पत्रकारहरू टाउकाले टेकेर भए पनि दलबलसहित विदेश भ्रमणमा गइरहेकै हुन्छन् राष्ट्रिय ढुकुटीको चरम दुरूपयोग गरेरै भए पनि। विदेश भ्रमणका लागि ठेकेदार खोज्ने प्रवृत्ति जगजाहेरै छ।
त्यस्ता भ्रमणहरूले कला र कलाकारको पक्षमा काम गर्न सिकाएको देखिएको छैन। विदेश भ्रमण गर्न नपुगेर पो हो कि कतै?
केही दिन अघि सञ्चालन गरिएको उक्त प्रदर्शनी र कलाकारसँगको संवादका क्रममा खड्किएको एउटा कुरा यहाँ उल्लेख गरूँ– त्यो हो उक्त समारोहमा सहभागी युवा विद्यार्थीहरूको मौनता।
ललित कलामा स्नातक गर्दै गरेका विद्यार्थीहरूले कलाकारसँग कुनै प्रश्न गरेको पाइएन। हुन त आजभोलि इन्टरनेटबाटै धेरै जानकारी प्राप्त गर्न सकिन्छ। तर मानिस-मानिसबीचको संवादको विकल्प यन्त्रसँगको संवाद हुनै सक्दैन।
विद्यार्थीहरू संवाद सञ्चालन गरिरहेकी आफ्नै कला अध्यापिकाको उपस्थितिमा प्रश्न गर्न हिच्किचाउन त नपर्ने हो।
त्यसो त यो प्रश्न नगर्ने प्रवृत्ति त्यहाँमात्र देखिएको होइन। संसदमा आशौच बारिरहेका कुर्सीहरूमा कतिपय महत्त्वपूर्ण काम असरल्लै छाडेर यदाकदा विराजमान हुने गणतन्त्रका भुरेटाकुरे राजाहरू अर्थात् सांसदहरू पनि सरकारलाई बिरलै प्रश्न गर्छन्। अन्तरात्माको आवाज दबाएर ती फगत तिनका मालिकहरूको आवाज बन्न अभिशप्त छन्। फेरि जागिर पाकिहाल्छ, भत्ता र अन्य खाइपाइ आएका सुविधा पाइहालिन्छ, किन जान्ने हुनु, किन लेठो गर्नु? फेरि प्रश्न सोधेर के नै हुन्छ र? आम सरोकारका विषयहरू सम्बोधन हुने होइन। जहाँसम्म अर्को चुनावको कुरा छ, दाम भए मत किनेर पनि जित्न सकिहालिन्छ। यस्तै सोच्दा हुन् उनीहरू।
नेपाली लोक त झन् प्रश्नै सोध्दैन। शायद सबै बुझेको छ उसले। एक पटक मतदान गरिसकेपछि पाँच वर्षलाई हाइसञ्चो भो, यस्तै सोच्छन् मतदाताहरू। परिवर्तन त चाहन्छन् तर एक घण्टा मेनु हेरेर अन्त्यमा मोमो नै खाएझैँ बाजेबराजुले जुन दललाई अमूल्य मत दिए तिनै दललाई जिताएर पठाउँछन्।
भर्खरै नेपाल सरकारले बडो विवादास्पद तरिकाले, संसदीय अभ्यास उल्लंघन गरी निर्वाचनको मिति घोषणा गरिसकेपछि पेश गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधि-सभा र राष्ट्रिय-सभा दुवैले पारित गरिदिए। अहिले राष्ट्रपतिमाथि उक्त विधेयकलाई जस्ताको तस्तै सदर गरिदिन तीव्र दबाब छ। कतिपय विश्लेषक अन्तत: यो विधेयकले तराई, पहाड र हिमालका आदिवासी, अनादिवासीलाई नै अल्पमतमा पार्नेछ भन्दैछन्।
यस्तो संवेदनशील विधेयकविरूद्ध पनि नेपाली लोक चल्मलाएको देखिएको छैन। आफ्नै शासकहरूले प्रहार गरेका आत्मघाती गोल खाँदाखाँदा आजित भएको छ लोक।
सत्तासीन दलहरू त यस दुरभिसन्धिका मतियार भइहाले, प्रमुख प्रतिपक्ष पनि विवादास्पद विधेयकविरूद्ध सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको छैन। के ऊ पनि भोट-बैंक राजनीतिमा लिप्त भएको हो?
नेपाली लोक र यसका प्रतिनिधि भनिएका दलहरूको यस किसिमको मौनताले हाम्रा नेताहरूलाई, कर्मचारीहरूलाई, सत्ता र शक्तिका दलालहरूलाई थप राष्ट्रघाती कार्यहरू गर्न उत्प्रेरित गर्नेछ।
नयाँ ज्ञान, चेतना, ऊर्जाका, सकारात्मक परिवर्तनका संवाहक हुन् किशोरकिशोरी, युवायुवती। उनीहरूले शासकहरूलाई आफ्ना र लोकका सरोकारका विषयहरूमा प्रश्न गर्नुपर्छ, जवाफदेही बनाउनुपर्छ। नत्र यिनीहरू झन् झन् भ्रष्ट, निरंकुश र राष्ट्रघाती हुनेछन्।
यत्तिकै छाडिदिने हो भने यी शासकले नेपाललाई जाति, धर्म, वर्ण, संस्कृति आदि विभाजनका रेखाहरू गहिर्याउँदै गुएर्निका बनाउन सक्छन्। दोस्रो विश्वयुद्धकालको सिंगापुर बनाउन सक्छन्, अहिलेको अफगानिस्तान बनाउन सक्छन्। सोमालिया बनाउन सक्छन्। सिरिया बनाउन सक्छन्।
बरू उच्चपदस्थहरूलाई, सम्बन्धित अधिकारीहरूलाई प्रश्न सोध्ने बानीको विकास गर्दै लैजाने पो हो कि!
तपाईंको ईमेल गोप्य राखिनेछ ।