|

जनकपुरधाम : जनकपुरधाममा रहेको नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीलाई सुत्केरी व्यथा लागेपछि परिवारले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए।

प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी  पेटबाट बच्चा निकालेका थिए। शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली नरहेको शिशुका पिता रविन्द्रलाई डा. मण्डलले जानकारी गराए।

‘डा. मण्डलले शिशुलाई रामानन्दचोकस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्नुपर्छ भने। त्यसपछि शिशुलाई सोही दिन नैना हस्पिटलमा लगेर उपचार सुरु गरियो। तर, बुधबार दिउँसो एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी गरायो', रविन्द्रले भने, ‘डाक्टरलाई शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ। तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए। तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं।'

चिकित्सकहरूले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा ३२ हजार रुपैयाँको बिल बनाएर अन्ततः आफ्नो सन्तानलाई मारेको रविन्द्रको दाबी रहेको छ।

घटना सम्बन्धमा डाक्टर अभय मण्डलले भने,‘चंचलाको डेलिभरी कुन अवस्थामा भयो, त्यो मलाई जानकारी भएन्। तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो। अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो। तर, बचाउन सकिएन।’

बिनादर्ता संचालित नैना हस्पिटल 

स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निजी अस्पताल सञ्चालन गर्दा प्रचलित कम्पनी कानून बमोजिम स्थापन भई अनुमति प्रदान गर्ने निकायबाट स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको हुनुपर्दछ।

पच्चिस शय्यासम्मका जनरल अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट र पच्चिस शैयादेखि माथिका अस्पतालहरू सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ। 

तर, जनकपुरधाममा भने यस्तो केहि देखिंदैन। यहाँका अधिकांश अस्पतालहरू दर्ताबिना नै बर्षौंदेखि सञ्चालनमा रहेका छन्।यस्ता अस्पतालहरू दर्जनौंको संख्यामा रहेपनि जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकार मातहतको निकायले अनुगमनतर्फ कुनै चासो नै देखाएको छैन्।

त्यस्तैअवैध अस्पताल मध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित डा.बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटल प्राली। ५० शय्याको यो अस्पताल विगत १६ महिनादेखि दर्ताबिना नै सञ्चालनमा रहेको पाइएको छ।  यो अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेकै भरमा चलिरहेको छ।

कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनीले उद्देश्यअनुसारको काम गर्नका लागि अन्य सम्बन्धित निकायसँग अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर यस हस्पिटलले स्वास्थ्य सेवा सञ्चालनका लागि कुनै पनि निकायसँग अनुमति लिएको छैन्।

यस अस्पतालको दर्ताको बारेमा मधेस प्रदेशको सामाजिक विकास मातहत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयलाई कुनै जानकारी छैन। निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनैपनि कागजात म कहाँ आएको छैन।’

यो हस्पिटल सामान्य भवनमा चलिरहेको छ, जुन मापदण्ड विपरित हो। कुनैपनि अस्पतालले सेवा सञ्चालन गर्दा अस्पताल रहने स्थान धुंवा, धुलो, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको हुनुपर्नेमा यस अस्पतालले त्यस्तो मापदण्डको कुनै पालना नै गरेको छैन्। यस सम्बन्धमा अस्पतालका सञ्चालक डा. वृजमोहन रजकले आफूहरू हस्पिटल दर्ताको प्रक्रियामा रहेको जानकारी दिए।

 चिकित्सक नै विचौलिया 

प्रादेशिक अस्पतालमा उपचार हुँदैन, दक्ष जनशक्ति र स्रोत साधनको अभाव छ भन्दै बिरामीलाई निजी अस्पतालमा पठाउने काममा चिकित्सक नै संलग्न रहेको पाइएको छ।

प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डल नैना हस्पिटलमा पनि काम गर्छन्। प्रादेशिकमा अपरेशनमार्फत शिशु जन्मेपछि यहाँ एनआईसियू खाली छैन्, यसलाई थप उपचारका लागि नैना हस्पिटलमा लग्नुपर्छ भन्दै उनले नै परिवालाई दबाब दिएका थिए।

फार्मेसीमा ब्रम्हलुट

नैना हस्पिटलले हस्पिटलको हाताभित्रै सञ्चालन गरेको फार्मेसी पनि दर्ताबिना नै सञ्चालन गरी बिरामीसँग अवैध रकम असुल गरिरहेको स्रोतले जनाएको छ।अस्पताल भित्र दर्ताबिना नै औषधि पसल सञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको बिरामीका आफन्तहरूको गुनासो छ। औषधि पसलमा अनुमतिपत्र अर्थात फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.