भारतीय लेखक तथा कलाकार पियुष मिश्राकाे प्रस्तुति रहने

|

काठमाडौं :  ‘किताब जात्रा’को पाचौँ संस्करण आयोजना हुने भएको छ। भदौ २४ र २५ गते गरी नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा यस वर्षको किताब जात्रा आयोजना हुन लागेको हो।

दुई वर्षपछि भौतिक रुपमा हुन लागेको जात्रामा मुख्य आकर्षकको रुपमा भारतीय लेखक तथा कलाकार पियुष मिश्राको उपस्थिति तथा विशेष प्रस्तुति रहने बताइएको छ।

‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं। यो उत्साहका साथ मिस्टिक नेपाल अवधारणामा हामीले यसपालि किताब जात्राको प्रस्तुतिमै पनि विशेष तरिकाले विविधता दिँदैछौं।’

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कला लगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन्। फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन्। जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए।

लेखक र पाठकबीच अन्तरंग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहने क्रिएटिभ फेस्टिभल डिरेक्टर कला अनुरागीले जानकारी दिए। साथै जात्रामा ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए।

पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले जानकारी दिए।

पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ। उनका अनुसार प्रदर्शनीमा उपलब्ध हुने पुस्तकमा विशेष छुटका साथै अनलाइन पेमेन्ट गेटवे प्रभु पेमार्फत भुक्तानी गर्दा अतिरिक्त पाँच प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ। सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ।

गत वर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो। त्यसअघि सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन्।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ। गत वर्ष आख्यानकार जीवा लामिछाने लिखित ‘देश देशावर’ले उक्त अवार्ड पाएकाे थियो। त्यसअघि अमर न्यौपानेलिखित उपन्यास ‘गुलाबी उमेर’ र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए।

किताब यात्राले आफ्नो स्थापनाको ५ वर्षको उपलक्ष्यमा आफ्नो प्लेटफर्मबाट गत ५ वर्षमा सबै भन्दा बढी बिक्री भएको किताबलाई यस वर्ष ‘किताब यात्रा डेमी–डिकेड बेस्ट सेलर अवार्ड’ पनि प्रदान गर्दैछ। किताब यात्राका सिइओ भट्टराईका अनुसार हरेक पाँच वर्षमा यो अवार्ड प्रदान गरिनेछ। सम्मान र अवार्ड किताब जात्राको उद्घाटन समारोहमा घोषणा हुनेछ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.