|

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन्। आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन्।

श्रमिकले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा मन्त्रीसँग राखेका थिए। पछिल्लो समय धेरैले विदेश जाँदा ठगिएको गुनासा राख्ने गरेका छन्।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्ने बताए।  उनले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेकोसमेत बताए।

उनले म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए। मन्त्री कुँवरले श्रमिकलाई म्यानपावरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरेका थिए।

मन्त्री कुँवरले अहिलेसम्म ३ साता श्रमिकका गुनासो सुनेका छन्। अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्यक्ष मन्त्रीसँग आफ्ना गुनासा राखेका छन्।

श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासो वैदेशिक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गरेका छन्। श्रमिकसँग श्रममन्त्री कार्यक्रम हरेक साताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.