|

काठमाडौं : वैदेशिक रोजगार विभागले​ चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्राइभेट लिमिटेडमा छापा मारेको छ।​

विभागले सोमबार कन्सल्टेन्सीले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको सूचना पायो। त्यसकै आधारमा मंगलबार उसले चाबहिल पुगेर कन्सल्टेन्सीमा छापा मार्‍यो।

रोजगार विभाग छापा मार्न पुग्दा कन्सल्टेन्सी सञ्चालक विष्णु शर्मा त्यहाँ थिएनन्। उनी त वैदेशिक रोजगारीमा पठाउने भन्दै निवेदकहरूलाई होटलमा बोलाई अन्तर्वार्ता लिन व्यस्त थिए। शर्माले कतिपयलाई भने वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आवश्यक कागजातमा हस्ताक्षर गर्न बोलाएका थिए। कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउने अनुमति लिएको थियो। काम भने धमाधम वैदेशिक रोजगारीमा पठाउने गर्दै आएको खुलासा भयो।

त्यही वेला विभागबाट गएको टोलीले शर्मालाई रंगेहात पक्राउ गर्‍यो। कन्सल्टेन्सी सञ्चालक शर्मालाई पक्राउ गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिएका छन्।

पक्राउ परेका शर्माले क्रोएसिया, क्यानडा लगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति ९ देखि १२ लाख रुपैयाँ उठाएको आरोप छ।

वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त म्यानपावर कम्पनीले मात्र वैदेशिक रोजगारीमा पठाउने कानुनी प्रावधान छ। रोजगारीमा पठाउनका लागि यतिवेला वैदेशिक रोजगार विभागमा करिब ८ सय  म्यानपावर व्यवसाय दर्ता भएका छन्। तिनीहरूले मात्र विभिन्न देशमा श्रमिक पठाउन पाउने कानुनी प्रावधान रहेको छ।

पछिल्लो समय एजेन्ट‚ कन्सल्टेन्सी लगायतले पनि वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने, भिजिट भिसामा पठाउने भन्दै ठगी गर्ने लगायतका काम गर्दै आएका छन्। यसलाई नियन्त्रण गर्नका लागि वैदेशिक रोजगार विभागले विशेष अभियान चलाएको विभागले जनाएको छ।  

रोजगारीको प्रलोभनमा सञ्चालक शर्माले एक दर्जन युवालाई होटलमा राखेर विभिन्न कागजपत्रमा हस्ताक्षर गराएका थिए। रंगेहात पक्राउ गरे पनि  कुनै कागजपत्र भने फेला पर्न नसकेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। 

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीमा छापा मारेको यो पहिलो घटना हो। उनले भने, ‘कन्सल्टेन्सी विभागको कार्यक्षेत्र होइन। जसले इजाजत दिएको छ‚ त्यसले नै नियमन गर्नुपर्ने हुन्छ तर वैदेशिक रोजगारीको नाममा ठगी भएकाले  विभागले कारबाही गरेको हो।’

यसरी ठगिन्छन्

धादिङ घर भएका मिलन सुनार रोजगारीको खोजीमा थिए। देशमा रोजगारीको भनेजस्तो अवसर नपाएपछि उनले वैदेशिक रोजगारीको खोजीमा थिए। काठमाडौं बस्दै आएका सुनारले चाबहिलको एसबीई कन्सल्टेन्सीले वैदेशिक रोजगारीका लागि कमाइ हुने देश पठाउने सूचना पाए। 

उनी एसबीई कन्सल्टेन्सीमा पुगे। ​एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्माले ​क्रोएसियामा रोजगारी खुलेको र त्यसका लागि ९ लाख रुपैयाँ चाहिने बताए।

त्यसमा ५ लाख नेपालमै बुझाउनुपर्ने र बाँकी ४ लाख क्रोएसिया पुगेर काम थालेपछि मासिक तलबमा काटिँदै जाने बताएका थिए। यो कुराले उनमा उत्साह पलायो। राम्रो काम छ भन्दै अरू युवा पनि आएको उनले देखे। यति भएपछि यो त राम्रै जागिर हो भन्नेमा उनी ढुक्क भए। उनले भने, ‘१ लाख ५० हजार बुझाइसकेको छु। भिसा आएपछि ५ लाख बुझाउनुपर्ने शर्त थियो।’

साउनको पहिलो साता पठाउने भने पनि भदौको अन्तिम हुँदा पनि पठाउन सकेको थिएन। उनले काम नहुने भए पैसा दिनुहोस् भन्न थाले। कन्सल्टेन्सीले पैसा फिर्ता गर्न आनाकानी गर्न थाल्यो। कन्सल्टेन्सीले भिसा प्रक्रियामा छ‚ क्रोएसिया जाने हो‚ मासिक १ लाख कमाइ हुने ठाउँमा हो भन्दै प्रलोभन देखाइरह्यो। केही दिनमा काम हुन्छ भन्दै उनलाई पर्खाइरहेको थियो। 

शर्माले डकुमेन्टमा सही गर्न आउनुपर्ने भन्दै गत मंगलवार होटलमा बोलाएका थिए। मिलन पनि उक्त होटलमा पुगे। गत मंगलवार एक होटलमा दुईजना भारतीय नागरिकलाई आफूसँगै लिएर शर्मा आए। मिलनसँगै हेटौडा घर भएका जोगबहादुर सापकोटा, नवराज सेन्चुरी, धादिङका युवराज कार्की पनि थिए। उनीहरूलाई सञ्चालक शर्माले क्रोएसिया, नर्वे, क्यानडा पठाइदिने भन्दै प्रलोभन देखाएका थिए। त्यसै वेला विभागको टोली आई शर्मालाई नियन्त्रणमा लिएको थियो।

ठगी गर्ने कन्सल्टेन्सीलाई के कारबाही ?

वैदेशिक रोजगारीका इजाजत प्राप्त संस्थाले मात्र पठाउन पाउने व्यवस्था छ। कन्सल्टेन्सीलाई अनुमति शिक्षा मन्त्रालयले दिएको हुन्छ। नियमन गर्ने अधिकार पनि सोही संस्थालाई हुन्छ। वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीलाई कारबाही गर्ने अधिकार छैन। त्यसैले व्यक्तिलाई अर्थात् व्यक्तिले ठगी गरे सरह सजाय हुने  विभागले जनाएको छ। 

वैदेशिक रोजगार विभागका सूचना अधिकारी भुसालका अनुसार वैदेशिक रोजगार ऐनको दफा ४४ अन्तर्गत ठगी गर्ने अर्थात् पीडकलाई ३ देखि ७ वर्ष कैद र पीडितसँग लिएको रकममा ५० प्रतिशत थप गरी तिर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.