'इज्जत जोगाउने ठेक्का अब महिलाको भागमा मात्रै रहेन'

|

काठमाडौं : गत भदौ २२ गते कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी पर्‍यो। घोडाघोडी नगरपालिका-१ सुखडमा डेउडा हेर्न गएकी १५ वर्षीया बलात्कृत भएकी हुन्।

भदौ २१ गते मंगलबार राति ४ जना युवकले सामूहिक बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गरेपछि घटना सार्वजनिक भएको हो। काम छ भन्दै एकान्तमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीपत्रमा उल्लेख छ।

‘सानो काम छ भनेर एक युवकले लिएर गए। त्यसपछि अन्यलाई फोन गरेर बोलाए’‚ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाहीले भने, ‘त्यसपछि बालिकामाथि बलात्कार भएछ।’ सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ।

यसैगरी झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई भदौ ११ गते प्रहरीले पक्राउ गर्‍यो। भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यी उदाहरण मात्र हुन्। नेपालमा हरेक दिन करिब ६ जना बलात्कृत हुने गरेका छन्। नेपाल प्रहरीको तथ्यांक हेर्दा गत पाँच वर्षको अवधिमा १० हजार ८२३ जना बलात्कृत भएका छन्। पछिल्लो यस घटनामा थप बढोत्तरी हुँदै गएको देखिन्छ।

११-१६ वर्षका बालिका अधिक पीडित

वि.स २०७४।०७५ मा १ हजार ४६८  जना बलात्कारको सिकार भएका थिए। उक्त समयमा ११ देखि १६ वर्षको उमेर समूहमाथि सबैभन्दा बढी बलात्कारको सिकार भएका थिए। उक्त उमेर समूहका ५९० जनामाथि बलात्कार भएका छन्।

त्यसैगरी २०७५।०७६ मा २२५४ जनामाथि बलात्कार भएको छ। उक्त समयमा पनि ११ देखि १६ वर्ष उमेर समूहका ८८९ बालिकामाथि बलात्कार भएको छ।

यसैगरी २०७६।०७७ मा २ हजार १६७ बलात्कारका घटना भएका छन्। त्यस समयमा ११-१६ वर्ष उमेर समूहका ८०१ बालिका पीडित भए। त्यसैगरी २०७७।०७८ मा २ हजार ५५४ बलात्कार भएका छन्।

यो समयमा पनि ११ देखि १६ वर्ष उमेर समूहका १ हजार १६ बालिका पीडित बनेका छन्। आर्थिक वर्ष २०७८।०७९ मा बलात्कारका घटना २ हजार ३८० वटा भएका छन्। यो समयमा पनि ९६३ जना बालिकामाथि बलात्कार भएको छ।

'अब पुरुष सुध्रनुपर्छ'

परापूर्वकालदेखि नै पुरुषले आफूलाई महिलाभन्दा बढी शक्तिशाली हुँ भन्ने भ्रममा बाँचिरहेको छ। पुरुषले महिलालाई अन्यायमा पारिरहेको छ। मनोविद् वासु आचार्यले परापूर्वकालदेखि नै पुरुष यौनमा लिप्त हुने, महिलालाई यौनको साधनका रूपमा बुझिरहेको बताउँछन्।

'जबसम्म पुरुषले यौनको विषयमा आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्दैन तबसम्म समाजका हरेक तह र तप्कामा यौनका घटना भइरहन्छन्', उनी भन्छन्, 'अब पुरुषले आफ्नो सोचाइ सुधार्नुपर्छ।'  

ढुंगेयुगमा जसरी अहिलेको युगमा पनि पुरुषले आफ्नो यौनिक चाल र तालमा कुनै परिवर्तन गर्न नसक्दा बलात्कारका घटना बढिरहेको आचार्य बताउँछन्। आफ्नो इच्छा व्यवस्थित गर्नु नसक्नु पुरुषको कमजोरी हो। यो कमजोरीको सजाय अहिले बालिका र महिलाले पाइरहेका छन्।

'महिलालाई यौनको साधन मात्र मान्ने, शारीरिक सम्पर्क गर्दा महिलाले कुनै प्रतिक्रिया दिँदैनन् र आफूले गरेको अन्याय स्विकार्छन् भन्ने पुरुषको दम्भ देखिन्छ। यो दम्भ हट्न जरुरी छ', उनी भन्छन्, 'हरेक पीडा वा अन्यायको एउटा सीमा हुन्छ। त्यो सीमा नाघेपछि पीडकलाई सजाय दिनुपर्छ भन्ने कुरा महिलाले बुझ्न थालेका छन्। पीडक अब न्यायको कठघरामा आउनुपर्छ भन्ने आम बुझाइ भइसकेको छ। यो समाजको सबल पक्ष हो।'

'इज्जत जोगाउने ठेक्का अब महिलाको भागमा मात्रै रहेन'

केही दिनअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भयो। भदौ ५ मा दिनभर नगरकोट घुमाएर राति एयरपोर्टस्थित होटल ‘काठमाडौँ इन’मा लगेर सन्दीपले पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ। सन्दीपमाथि लागेको आरोपबारे प्रहरीवृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। अदालतले उनलाई पक्राउ गर्ने अनुमति दिइसकेको छ।  

उनको यो घटनाले समाजमा विभिन्न व्याख्या विश्लेषण शुरु भएका छन्। फेसबुकका भित्ताहरू उक्त घटनालाई लिएर तर्क वितर्कमा विभाजित छ।

लेखिका सीमा आभास लेख्छिन्, 'धेरैजसो छोराहरू वन्यजन्तु आरक्षणमा आरक्षित जन्तुजस्ता छाडा थिए। छोरीहरूलाई चरित्रसँग जोडेर त्रसित बनाउँथे। छोराहरूको चरित्रसम्बन्धी अवधारणा नै थिएन। पारम्परिक हिसाबले उनीहरूको बहुगमनलाई मर्दपनसँग जोडिन्थ्यो। बल्ल कानुन बन्यो र छोरीहरू बोल्न थाले। बोल्न दिनुस् ! ठूला माछा परेका देखेर साना माछा थरथरी कामेको चाहिँ फेसबुक स्टाटस र कमेन्टमा देखिन्छ।'

हरेक पुरुषले जान्नुपर्ने कुरा के हो भने देशको प्रचलित कानुन बुझ्नुपर्छ। यसको मतलब उमेर पुगेका महिलालाई बलात्कार गर्न पाइन्छ भन्ने होइन। हरेक महिलालाई आफ्नो शरीरको अधिकार छ। 'नो मतलब नो' हो भन्ने मान्यता पुरुषले बुझ्न जरुरी छ। कुनै बालिका वा महिलाले गर्ने आदर वा सम्मानलाई शरीर सुम्पेको जस्तो ठान्नु नै पुरुषको आपराधिक मानसिकता हो।

पत्रकार सलोजा दाहाल फेसबुकमा लेख्छिन्‚ 'इज्जत जोगाउने ठेक्का अब महिलाको भागमा मात्रै रहे‚ कानूनले पुरुषलाई पनि उत्तिकै दोषी मान्न सक्छ। त्यसैले हाम्रा दाइ, भाइ, श्रीमान्, छोरा, बुबा र हजुरबुबाहरू पनि संयमित हुनुपर्‍यो। तपाईं संयमित बन्नुभयो भने मन मिले मेला नमिले झमेला........ भन्ने गीत गाउनै पर्दैन।'

मनोविद् आचार्य महिलाहरू सहनशील हुनुपर्छ र सामाजिक मूल्य र मान्यता जोगाउने काम महिलाको हो भन्ने गलत अवधारणालाई पुरुषले भरपूर फाइदा लिने प्रयास गरिरहेको बताउँछन्।

जुनसुकै क्षेत्रमा जतिसुकै चर्चित व्यक्ति भए पनि उसले महिला वा  बालिकालाई हेर्ने नजरमा सम्मान भाव प्रकट गर्नुपर्ने उनको भनाइ छ।

'कुनै पनि व्यक्ति आफ्नो परिवारमा मात्र विवेकी भएर हुँदैन। उसले बाँच्ने समाज, उसका सहपाठी, उसका महिला साथीहरूसँग विवेकी व्यवहार हुन जरुरी छ। यौन आवेग, प्रेम समर्पण, त्यागको विवकपूर्ण प्रयोग गर्न जरुरी छ', उनी भन्छन्।

विद्यार्थी, शिक्षक, खेलाडीहरू अथवा जुनसुकै क्षेत्रको प्रतिष्ठित व्यक्ति किन नहुन् आफ्नो क्षेत्रमा मात्र क्षमतावान भएर हुँदैन। यौन र महिलालाई गर्ने व्यवहारमा परिपक्क हुनुपर्ने आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.