‘राज्यले विद्यार्थीहरूको पीडा कहिल्यै देखेन’

|

काठमाडौं : कम्मरसम्म खोलाको पानी। लौराको सहायताले एक छात्रालाई काँधमा बोकेर खोला तार्दै छन् शिक्षक। छात्राको हातमा कापी छ। अरु विद्यार्थी खोलापारि बगरमा कुरिरहेका छन्। यो तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल छन्।  

ज्यानको जोखिम मोलेर यसरी विद्यार्थी खोला तार्ने मानिसहरू हुन् चेतबहादुर घले र अरु शिक्षकहरू। घले मकवानपुर जिल्लाकाे बकैयास्थित काला भैरव प्राथमिक विद्यालय धेत्रे दमारमाका प्रधानाध्यापक हुन्। विद्यार्थीलाई परीक्षा दिन खोला तारेर लैजाँदै गरेको तस्वीरले यतिखेर सर्वसाधारणहरूको मन पगालिदिएको छ‚ सबैकाे ध्यान तानेकाे छ।

प्रधानाध्यापक घलेले हाल भइरहेको त्रैमासिक परीक्षा दिन विद्यार्थीहरू बढेको खोला तरेर आउन नसकेपछि विद्यालय व्यवस्था समितिका अध्यक्ष विजय सिं घिसिङ, र कार्यालय सहयोगीलगायत मिलेर विद्यार्थीलाई जिल्लाकाे बकैया गाउँपालिका-१२ सिमात खोला तारेर लाने र ल्याउने गरेको जानकारी दिए। 

उनका अनुसार  भदौ ३० गते शुरु भएको त्रैमासिक परीक्षा आगामी असोज ५ गतेसम्म हुनेछ। भदौ ३१ गते ठूलो पानी परेकाले विद्यार्थीहरू खोला तर्न नसक्दा परीक्षा स्थगितसमेत गर्नुपरेको थियो। ‘यहाँका स्थानीय, अभिभावकले झोलुङ्गे पुल नहुँदा विद्यार्थीलाई विद्यालय आउन परेको समस्याबारे पालिका तथा वडालाई जानकारी गराएका थियौँ,’ उनले भने।

                                                             विद्यार्थी बोकेर खोला तार्दै प्रधानाध्यापकसहित शिक्षकहरु

तर पनि पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको घलेको गुनासो छ। ‘विद्यार्थीलाई दैनिक विद्यालय जान र फर्किने क्रममा सिमात खोला तर्न समस्या हुने गर्छ। खोला तर्दा कापी, किताब तथा कहिलेकाहीँ ड्रेस नै भिज्ने गर्छ, ज्यान जोखिममा छ तर पनि विद्यार्थीहरू पढ्न बाध्य छन्,’ उनले पीडा सुनाए।

उनका अनुसार तामाङ समुदायको बाहुल्यता रहेको उक्त विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत छन्। जसमध्ये छात्रा १७ जना र छात्र १० जना छन्। बाल कक्षादेखि कक्षा ३ सम्म अध्यापन हुने गरेको छ।

विद्यालयसमेत जीर्ण अवस्थामा रहेकाले पठनपाठनमा समस्या भएको उनी बताउँछन्। विसं २०५३ सालमा स्थापना भएको विद्यालयमा राहत दरबन्दीमा १ जना प्रधानाध्यापक र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन्। बाल कक्षा शिक्षिकासमेत छैनन्। 

‘राज्यले विद्यार्थीहरुको पीडा बुझेन’

स्थानीय समाजसेवी रुपेन घलेका अनुसार बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अजिँगरे लगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट हिँडेर विद्यालय पुग्ने गर्छन्। ‘तर कतिबेला खोलाले बालबालिकालाई बगाउने थाहा छैन, सरकार किन जिम्मेवार देखिएन? यी छात्रछात्राको पीडा किन देख्न र सुन्न चाहेन?,’ उनले भने।

विद्यालयका प्रधानाध्यापक घले पनि राज्यले यी विद्यार्थीको पीडा अहिलेसम्म नदेखेको भन्दै गुनासो पोखे। ‘धेत्रे र चुवार पाखाका बालबालिकाहरु बकैयाको सिमात खोलामा जोखिम मोलेर पढ्न र परीक्षा दिन विद्यालय जान बाध्य छन्। बेलैमा पुल बनेको भए दुःख हट्ने थियो,’ स्थानीय घलेले भने।

यसो भन्छ बकैया गाउँपालिका

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले सिमात खोलामा पानीको बहाव धेरै बढेपछि समस्या आएको जानकारी दिए। उनका अनुसार उक्त खोलामा पुल आवश्यक भए पनि बनाउन नसकिएको कारण स्थानीय र विद्यार्थी सहज आवतजावत गर्न सकेका छैनन्।

विद्यार्थीलाई खोलाबाट तार्दै शिक्षिका र स्थानीय

‘हामी त्यहाँ पुल बनाउने भनेर लागिपरेका छौँ, बजेटको समस्या छ। तै पनि सरकारसँग पहल गरिरहेका छौँ, बजेट व्यवस्थापन गर्न यहीँबाट पनि माग गछौँ,’ उनले भने। 

दार्चुलामा पनि उही पीडा

दार्चुला जिल्लाको महाकाली नगरपालिका–२ बडाली गाउँस्थित भुवनेश्वरी प्राथमिक विद्यालय जाँदा तर्नुपर्ने पुल जीर्ण बनेको तस्वीर पनि केही दिनअघि सामाजिक सञ्जालमै चर्चा पाएको थियो। नगरपालिकाका प्रमुख नरसिंह चैंसिरले लास्को खोलाको उक्त जीर्ण पुल भत्काइ काठेपुल बनाएको जानकारी दिए।

‘पुल जीर्ण हुँदा विद्यार्थी, स्थानीय नै आवतजावतमा जोखिम भएपछि काठेपुल निर्माण गरेका छौँ। बाटोघाटो पनि मर्मत गरेका छौँ,’ उनले थाहाखबरसँग भने।

उनका अनुसार अहिले वर्षा भइरहेकाले नगरपालिकाभित्रका विभिन्न खोलामा अझै जोखिम कायमै छ। विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता छ।

‘निदान खोलामा पानीको बहाव बढेकाले अझै बाटो अवरुद्ध छ, आवतजावतमा समस्या छ,’ उनले भने। चारवटा झोलुंगे पुल निर्माणका लागि सम्बन्धित निकायमा प्रस्ताव पेश गरेको उनको भनाइ छ।

‘लास्को खोला, दोम्रे मन्दिरको छेउ, घट्टे खोलामा झोलुंगे पुल बनाउन प्रस्ताव पेश गरेका छौँ,’ उनले भने, ‘तत्कालको लागि काठेपुल बनाएर सहजीकरण गरिरहेका छौँ। प्रस्ताव पारित भएलगत्तै झोलुंगे पुल बनाउँछौँ।’

यी ठाउँमा मात्र नभइ अन्य जिल्लाका जोखिमपूर्ण खोलामा पनि सरकारले पुल बनाउन सकेको छैन। धेरैजसो दुर्गम क्षेत्रका विद्यार्थी ज्यानको जोखिम मोलेर विद्यालय जान बाध्य छन् तर सरकार यसतर्फ ध्यान दिएको छैन। 

शिक्षा मन्त्रालय भन्छ : पुल निर्माण स्थानीय तहले गर्ने हाे

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा सडक विभाग, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक ठाउँमा पुल बनाएर विद्यार्थीलाई पढ्न सहज वातावरण मिलाउनुपर्ने बताउँछन्।

                                                                         जीर्ण बनेकाे काला भैरव प्राथमिक विद्यालय

उनले भने, ‘बाटो निर्माण र समस्याबारे शिक्षा मन्त्रालयलाई थाहा हुँदैन, स्थानीय तहले प्राथमिकता दिएर बनाउनुपर्छ।’ उनले जानकारीमा आएसम्म बाटो व्यवस्थापनका लागि छलफल भने मन्त्रालयमा राख्दै आएको सुनाए।

‘इस्यु आएसम्म मन्त्रालयमा छलफल राख्छौँ, कुरा उठाउँछौँ, समन्वय गछौँ तर यहाँको बाटो बनाइदिनु भनेर भन्दैनौँ। किनभने जहाँ समस्या आएको छ, त्यहाँ स्थानीय तहले स्वयम् समाधान गर्ने हो,’ उनले भने। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.