|

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङ स्थित भिरमुनीकी २६ वर्षीया राजकुमारी सार्कीको उपचारमा सघाउन उनको परिवारले आम नागरिक सबैमा अनुरोध गरेको छ।

करिब तीन महिना अगाडिदेखि दुवै मिर्गौलामा समस्या देखिएपछि उनलाई पोखरामा रहेको आस्था किड्नी एण्ड स्पेसलाइज हस्पिटलमा राखेर निरन्तर उपचार हुँदै आएको छ। 

तर पोखरामा भइरहेको उपचारले उनलाई निको नहुने र थप उपचारको लागि भारको नयाँ दिल्ली लैजानुपर्ने भएपछि आर्थिक समस्याकै अभाव ज्यान नै गुमाउनुपर्ने अवस्था आएपछि उनका श्रीमान् राजु सार्कीले स्थानीय पाङ युवा क्लबमार्फत सहयोग गर्नका लागि सबैमा अपिल गरेका हुन्।

दैनिक ज्यालादारीको भरमा परिवार पाल्दै आएको परिवारले राजकुमारीको उपचारमा अहिलेसम्म करिब १० लाख रुपैयाँ खर्च गरिसकेको छ। आफू र आफन्तले गर्न सक्ने सहयोगले अहिलेसम्मको उपचार गरिएको भए पनि नेपालमै राखेर वा दिल्ली लगेर थप उपचार गर्नको लागि आफूसँग कुनै उपाय नभएको राजुले बताएका छन्। 

‘दुई जनाले दिनभर ज्यालामा काम गरेर कमाएर ल्याएर बिहान बेलुकाको छाक टार्ने गरेका थियौँ। हाम्रो उपाय लागेसम्मको पैसा अहिलेसम्म खर्च गरियो। जग्गा बेचेर लैजाऊँ भने जग्गा पनि छैन,’ उनी भन्छन्, ‘आफन्तको किड्नी मिलेमा त्यसलाई ट्रान्सप्लान्ट गर्नका लागि अब ८, १० लाख रुपैयाँमा उम्किन सकिन्छ भन्ने सुनेको छु। तर आफन्तको किड्नी नमिलेको अवस्थामा त्यो भन्दा अझ धेरै खर्च हुन्छ रे।’

सानी छोरीको साथमा रहँदै आएका उनीहरूको अवस्था दयनीय रहेकोले सामाजिक सेवामा सक्रिय रहँदै आएको क्लबले पनि उनको सहयोगका लागि सबैमा अपिल गरेको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए। 

मजदुरीको भरमा परिवार धान्दै आएको राजु दम्पतीको बैङ्क खाता समेत नभएका कारण क्लबकै खातामा आर्थिक सहयोग जम्मा गरेर क्लबले उनीहरूलाई पठाउने गरी व्यवस्थापन गरिएको छ।

राजकुमारीको उपचार गरिरहेको आस्था किड्नी एण्ड स्पेसलाइज हस्पिटल पोखराका कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. अमृत के.सी.ले उनीहरूले अहिलेसम्मको उपचार निकै दुःखपूर्ण तरिकाले गरिरहेको बताउँदै अबको उपचारमा पनि समस्या रहेको बताए।

‘क्रोनिक किड्नी रोगको अवस्था पाँचौँ अवस्थामा रहेको त्यसमा पनि उच्च रक्तचाप रहेका कारण अर्को समस्या छ। अब लगातार डायलाइसिस गर्दै जाने अथवा कसैले मिर्गौला दिन तयार भएमा ट्रान्सप्लान्ट गर्ने हो,’ उनले भने, ‘दुवै मिर्गौलाले काम नगरेका कारण कम्तीमा एउटा मिर्गौलालाई ठिक अवस्थामा राख्न पनि त कसैले किड्नी दिन तयार हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.