|

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।

सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।

कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा पाउन नसकेको गुनासो गरे। उनले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाँच्ने भन्ने समस्या भएको बताए।

त्यसैगरी बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमवार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घर डुबानमा परेको बताए। उनले नदीमा पानीको बहाव बढिरहेकाले झनै समस्या थपिएको चिन्ता गरे।

अन्य स्थानीय बासिन्दा भने अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन्। गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यो वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने उनीहरू बताउँछन्।

उनीहरू गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको र गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन्।

अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लामा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ। ५ दिनयता भइरहेको भीषण वर्षाले देशभरका पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढाएको छ। खहरे खोलामा आएको बाढी र विभिन्न स्थानमा गइरहेको पहिरोका कारण सवारी आवतजावतमा समस्या भएको छ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र ती क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.