|

म्याग्दी :नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लबले ६ वटा स्वर्ण पदक जितेको छ। 

आइतबारसम्म १० वटा इभेन्ट्स सकिँदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक स्वर्ण जितेका छन्। प्रहरीले दुई, नेपाली सेनाले तीन, सशस्त्र प्रहरीले दुई, लुम्बीनीले दुई र मधेश प्रदेशले एक वटा रजत पदक हात पारेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए।

गण्डकीले ६ र प्रदेश १ ले ५, सेना, सशस्त्र र बागमती प्रदेशले दुई\दुई तथा लुम्बिनी र पुलिसले एक\एक कास्य पदक जितेका छन्। 

गिरोगी बिधा अन्तरगत बेनीको कालीपुल कबर्ड हलमा आइतबार साँझ भएको खेलमा नेपाल प्रहरीका वीरबहादुर मोहरले ७४ केजीतर्फको पुरुष र सुमित विष्टले महिला ५४ केजीमा स्वर्ण पदक जिते।

५७ केजी तौल समूह महिलामा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बिनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समीक्षा लिम्बुले कास्य पदक हात पारे। ७४ केजी पुरुषतर्फ सशस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जिते।

५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कास्य पदक जिते। प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए। महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक हात पारे।

पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते। पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्बु  मोक्तान र योवन दाहालले कास्य पदक जिते।
टिम पुम्से महिलामा सेनाका स्वतिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राईले कास्य पदक हात पारे।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कास्य पदक जिते। पुरुष ५८ केजी तौल समूहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जिते। सेनाकी कडायतलाई ओलम्बियन दिपक विष्टले आठौँ प्रतियोगितापछि काठमाडौँमा लगेर संरक्षण दिएका थिए। निशा दर्नाल र कमल श्रेष्ठले पुलिसलाई ४ स्वर्ण दिलाउन योगदान गरे।

२२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) का ३३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताए। २२ स्वर्ण, २२ कास्य र ४४ रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.