|

विराटनगर : किनमेलका लागि आउने जानेको लर्को सकिने छाँटकाँट थिएन। अरु वेला पनि उत्तिकै व्यस्त रहने विराटनगरको पुरानो गुद्री बजार तिहार नजिकिएसँगै झनै व्यस्त र पाइलै हाल्न नसकिने गरी भीडम्भिड थियो। 

​किनमेल गर्नेको भीड उर्लिएको बजारमा चाडपर्वलक्षित सामग्री बेचबिखन गर्नेमध्ये अधिकांश महिला देखिन्थे। गुद्रीको त्यही भीडको एउटा कुनामा मेरो आँखा पुगेपछि क्यामेराले पनि पछ्यायो। तस्वीर लिँदै गर्दा उनले मुसुक्क हाँस्दै भनिन्, ‘दिदी फेसबुकमा चैँ नहाल्दिनु ल!’

उनीसँग नजिकिने एउटै बहाना थियो- उनले बेच्न राखेको कमलको फूल किन्ने।

‘यो फूलको दाम कति हो?’

उनले जवाफ फर्काइन् : ‘५० को दुइटा, एउटा लग्नु २५ मा दिन्छु।’ उनले भनेको दाम सुनेर कोही कोही ओठ लेपार्दै अर्कोतिर लागे।

कसैले भगवानको तस्वीर किने‚ मैले भने उनको भनेको भाउमै कमलको फूल किनेँ‚ वरिपरि हटारुको थामिनसक्नुको भीडमा।

काखमा  दूधेनानी च्यापेर त्यस्तो भीडमा कमलको फूल बेचिरहेकी २५ वर्षीया पूनमकुमारी यादव नानी भोकाउँदा दूध चुसाउँदै आउनेजाने ग्राहकसँग मोलमोलाई गर्नमा व्यस्त थिइन्।

ल्याएका जति कमलका सबै फूल चाँडै बिक्री भए नानी च्यापेर वेलैमा घर फर्किने सुरमा थिइन् उनी। तिहारको खर्च जुटाउन कमलको फूल बेच्न नानी च्यापेरै भए पनि सुनसरीको देवानगञ्जबाट आएको उनले सुनाइन्।

विशेष गरेर लक्ष्मी पूजाको दिन धनकी देवी लक्ष्मीलाई कमलको फूल चढाएर पूजा गर्ने चलन छ। लक्ष्मी पूजाको अघिल्लो दिनदेखि नै कमलको फूलको व्यापार राम्रो हुने बुझेकी उनी पनि मौकामा राम्रै व्यापार गरेर पर्व मनाउने सोचले आएको बताइन्।

उनले पतिसँग घरमा अर्को अलिक ठूलो नानी छाडेर ६ महिनाको काखेनानीलाई आफूसँग साथै ल्याएको सुनाइन्। 

‘अर्को बच्चा श्रीमानले हेर्नुभएको छ। म चाहिँ बेपारका लागि बजार आएँ,’ उनी सुनाउँछिन्, ‘लक्ष्मी पूजाको दिन कमलको फूल चढाउँछ नि त! त्यही भएर आज व्यापार गर्न आएकी।’

तर उनले बेच्न ल्याएको कमलको फूल आफैँले खेती गरेको भने होइन। अरुले ल्याएको फूल नै आफूले थोरै नाफा राखेर बेचिरहेकी थिइन् उनी।

पैसा थोरै भए पनि तिहारका लागि सामान किन्न टेवा पुग्ने बताउने उनले अरु चाडपर्वमा पनि यसैगरी सिजन अनुसारका सामानको बेपार गर्ने गरेकी छन्।

त्यही भीडमा भेटिइन् २२ वर्षीया सन्ध्या। उनका पति भने वैदेशिक रोजगारीका लागि परदेशमा गएका रहेछन्।

पतिले कमाएको मेहनतको पैसा जोहो गर्न र आफैँले कमाएको थोरै रकमबाट तिहार मनाउन उनी पनि कमलको फूलको बेपार गर्न गुद्री बजार निस्किएकी रहिछन्।

पूनमले जस्तै उनले पनि कमलको फूल आफैँले खेती गरेको होइन‚ अरुबाटै किनेर थोरै मात्र नाफा राखेर बेचिरहेको उनले बताइन्।

‘श्रीमान विदेशमा हुनुहन्छ, उहाँले कमाएको पैसा जोगियोस् भनेर यसो कहिलेकाहीँ सिजनअनुसारको बेपार गर्छु,’ उनी सुनाउँछिन्, ‘अरुबाट नै किनेको हो। किनेको भाउमा थोरै मात्र नाफा राखेर बेपार गरको हो।’

हनुमान मन्दिरअगाडि कपासको बत्ति बेचीरहेकी थिइन्- ४० वर्षीया अनिता सिंह। उनी पनि पूनम र सन्ध्या जस्तै आफूले ल्याएको बत्ति बेचेर आउने २/४ पैसाले तिहार मनाउने तरखरमा रहेको बताइन्। उनले फूर्सदका वेला आफैँ बत्ति कात्ने गरेको बताइन्।

‘घरमा त्यसै केही नगरी बस्दा अल्छी लाग्छ, बाति (बत्ति) कात्दै बस्छु,’ उनले भनिन्, ‘आफैँले कातेको हो‚ भगवानलाई चढाउने चिज हो। यसमा धेरै फाइदा राखेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.