|

काठमाडौं : काठमाडौंका विभिन्न नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ।

छठ पर्वको मुख्य दिन भोलि (आइतबार) छठी माईको पूजाका लागि काठमाडौंको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो। कुपण्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतीशकुमार झाले बताए।

उनले त्यहाँ छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिए।

काठमाडौंका विभिन्न १३ ठाउँमा छठ पर्वको तयारी भइरहेको छ। त्यसैअनुसार कमलपोखरीमा पनि छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए।

उनका अनुसार उक्त तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ। कमलपोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ।

सूर्य भगवान्‌को पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदै छ। आइतबार (भोलि) छठ पर्वको मुख्य दिन हो। यो अवसरमा छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सोमबार (पर्सि) उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.