|

काठमाडौं : एउटा टोल छ, आदर्श नगर। जहाँको पहिचान नै आदर्श हो। सोही टोलमा बालकृष्ण केसी नामक तीन बिस कटेका एकल पुरुष बस्छन्। उनी एक्लै छैनन्। कान्छो छोरा, एउटा पट्टु, केही शारीरिक बिमार र एक्लोपन उनीसँगै छन्।

यो प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म महापुरुषकै आदर्श नगर हो जुन फिल्म बाहिरका धेरै नगर, टोल, गाउँ र गल्लीहरूको प्रतिनिधि ठाउँ हो। त्यस्तै फिल्मका पात्र बालकृष्ण फिल्म बाहिरका धेरै बालकृष्ण, रामकृष्ण, हरिकृष्ण, सीता, राधा, सरिता, हरिमायाहरूको प्रतिनिधि पात्र पनि हो।

बालकृष्ण फिल्मको केन्द्रीय पात्र हो भने आदर्श र खुशी फिल्मले केलाउन खोजेको मुख्य विषयवस्तु हुन्। बालकृष्णसँग अगाडि दुईवटा बाटा छन्।

आदर्शको बाटो रोज्दा एक्लोपन साथै आउँछ- नाम, इज्जत, मानिसहरूको वाहवाही, महापुरुष कहलिन्छन् र भगवान बन्ने बाटो पनि यही हो भने खुशीको बाटो अलिकति अप्ठ्यारो छ।

आदर्शको बाटोमा हिँड्दा जस्तो धेरै मानिस सँगै छैनन् तर एक्लोपन पनि हुँदैन, कुरा बुझ्ने सहयात्री कोही हुन्छ। नाम इज्जत हुँदैन, महापुरुष, भगवान कहलिँदैन तर एउटा सामान्य मान्छे जसरी बाँच्न भने सकिन्छ। एक्लोपन बोकेर आदर्श र खुशी छुटिने दोबाटोमा रहेको बालकृष्णको कथा महापुरुषले भन्छ। 

बालकृष्णका दुई छोरा विज्ञान र विदुर फिल्मको मूल कथा र पात्रको दिशा एवम् गतिमा प्रभाव पार्ने दुई पात्र हुन्। फिल्मको मध्यान्तरअघिसम्म सामान्य दूरीसहित उही दिशामा अघि बढेका दुई पात्र मध्यान्तरपछि फरक फरक दिशामा अघि बढ्छन्।

एउटा छोरा सानैदेखि बाबुसँगै हुन्छ, भविष्यमा के गर्ने अझै दोधारमा छ। पकाउने, खाने, कपडा धुने कुरामा अझै पनि बाबुमा निर्भर छ, बाबुलाई माया गर्छ तर बुझ्दैन।

अर्को छोराले आफ्नो बाँच्ने मेसो गरिसकेको छ, आफ्नो सिद्धान्त र इमान उसका लागि सबथोक हो, बाबुलाई बुझ्ने कोशिस गर्दैन किनकि उसलाई लाग्छ कि उसले बाबुलाई बुझेको छ र उसको बुझाइमा उसका बाबु भगवान हुन्। बाबु बरु अलि छिटै मरुन् तर उसले बुझेको भन्दा फरक भएर नबाँचुन् भन्ने उसको सोच छ।

बाबु दुवै छोरालाई बुझ्छन्, माया गर्छन्, खुशी देख्न चाहन्छन्, यसका लागि चुकाउनुपर्ने सबै मूल्य चुकाउन उनी तयार छन्। शुरुदेखि नै चुम्बकको एउटै ध्रुव जस्तो बेमेल देखिए पनि दुवै छोरा नजिक छन्। जसकारण बाबु पनि दुवैको नजिक छन्।

तर जब दुई रेखाले एउटा विन्दुबाट आफ्नो दूरी बढाउँदै लैजान्छन्‚ मूल रेखालाई आफ्नो दिशा चयन गर्न दुविधा हुन्छ। सोही दुविधापछिको निष्कर्ष फिल्म ‘महापुरूष’को सार हो।

वर्षौंदेखि समाजले लगाइदिएको आदर्शको चश्माले गर्दा मानिसहरू कसरी नजिकैको खुशी पनि देखिरहेका छैनन्? भन्ने प्रश्नको जवाफ खोज्न दर्शकलाई बाध्य बनाउनु फिल्मको मूल उद्देश्य हो। जसमा फिल्म सफल भएको छ।

फिल्मले बालकृष्णको कथा भनिरहँदा समाजमा प्रचलित असल र खराबको परिभाषा, आदर्श र चरित्रहीनको परिभाषाअनुसार चल्नुपर्ने बाध्यकारी अवस्थाका कारण खुशी हुन नपाएकाहरू जति सबैको कथा भनेको छ। 

फिल्ममा केन्द्रीय भूमिकामा हरिवंश आचार्य देखिएका छन्। गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ। यीबाहेक पिँजडामा थुनिएको सुगा, वर्षौंदेखि थन्क्याइएको मोटरसाइकल, मोबाइल फोन आदिले पनि कथा वाचनमा विशेष भूमिका खेलेका छन्। 

पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक साथ पाएको फिल्मलाई वर्षको उत्कृष्ट पारिवारिक फिल्म मानिएको छ। ‘महापुरुष’ प्रदीपको निर्देशनमा बनेको चौथो फिल्म हो।

योसँगै व्यावसायिक रुपमा प्रदीपका लगातार चारैवटा फिल्म सफल भएका छन्। उनको निर्देशनमा बनेका ‘जात्रा’ फ्रेन्चाइजले करिब १५ करोड, ‘शत्रु गते’ले १२ करोडभन्दा माथिको कमाइ गरेको थियो भने ‘महापुरुष’ले पहिलो हप्तामै ५ करोडको आँकडा छुने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.