|

काठमाडौं : पृथ्वीमा मान्छे मात्र एउटा यस्तो प्राणी हो जसले कपडा लगाउँछ। यतिमात्र नभएर कपडालाई नै जोडेर सभ्य र असभ्यको परिभाषासमेत बनाउँछ।

आफूलाई विवेकशील प्राणीको ताज आफैँ पहिराउँछ। आफूलाई अन्य प्राणीभन्दा फरक बताउँछ तर जीवन प्रक्रिया भने मान्छेको पनि उस्तै छ जस्तो अन्य जीवित प्राणीहरूको छ।

निर्वस्त्र जन्मन्छ, हुर्कन्छ, एउटा निश्चित जीवन बाँच्छ र अन्त्यमा मर्छ। जसले प्रकृतिको नजरमा पृथ्वीका सबै प्राणी समान रहेको बुझ्न कठिन छैन। 

मान्छेको शरीरमा जुन कारणले कपडा जोडिएको भए पनि अहिलेको समयमा कपडाविना आफू कल्पना गर्न सक्दैन। यसको शारीरिकभन्दा पनि मानसिक कारण छन्।

शरीरमा थपिएका कपडाका पत्र स्वाभाविक भए पनि कपडाका कारण मान्छेको दिमागमा बनेका पत्रहरूले भने मान्छेलाई प्रकृति र आफैँलाई बुझ्न अवरोध खडा गरेको देखिन्छ। 

यति वेला ललितपुरको विन्ड हर्स ग्यालरीमा चित्रकार कपिलमणि दीक्षितको एकल चित्र प्रदर्शनी भइरहेको छ। दीक्षितका ६० बढी न्युड आर्ट प्रदर्शनीमा राखिएको छ।

तीमध्ये ३० वटा एक्रेलिक क्यानभास आर्ट छन् भने अरु एक्रेलिक पेपर आर्ट रहेका छन्। कालो, सेतो र पहेँलो रंग धेरै प्रयोग गरेका दीक्षितले आफ्ना चित्रबाट महिलाहरूका विभिन्न भावहरू देखाउने प्रयास गरेका छन्। 

आफ्ना लागि मान्छेको शरीर प्रकृतिकाे सुन्दर रचनामध्ये एक लाग्ने दीक्षित बताउँछन्। मानव शरीरमा रहेका तर नाङ्गो आँखाले देख्न नसक्ने धेरै कुरा आफ्ना ब्रस र क्यानभासको मदतले मानव शरीरमै खोज गरिरहेको उनी बताउँछन्।

अमेरिकाको टेक्सासमा रहेको नर्थ लेक कलेजबाट ललितकलामा स्नातक उत्तीर्ण दीक्षित झण्डै दुई दशकदेखि कला क्षेत्रमा सक्रिय छन्। राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी दर्जनौँ पुरस्कार तथा अवार्ड पाउन सफल दीक्षित सन् २००८ देखि नेपालकेन्द्रित भएर सिर्जना गरिरहेका छन्। 

गत कात्तिक ४ गतेदेखि २६ गतेसम्म हुने भनिएको प्रदर्शनी एक हप्ता थप गरी मंसिर ३ गतेसम्म जारी रहने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.