|

धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनसँग भावी प्रधानमन्त्री बन्ने मान्छे देखाउन चुनौती दिएका छन्।

आगामी निर्वाचनबाट बन्ने सरकारको नेतृत्व कसले हाँक्छ ? गठबन्धनको नेता को हो ? भन्ने जवाफ उनीहरूसँग नभएको ओलीले टिप्पणी गरेका छन्।

कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकार बनाउँछौँ भन्ने विश्वास नभएकै कारण गठबन्धनले हाम्रो प्रधानमन्त्री फलानो हुन् भनेर भन्ने हिम्मत नगरेको ओलीले दाबी गरे।

‘गठबन्धन कि ठगबन्धनको आगामी कार्यक्रम के हो ? सरकार कसले हाँक्छ ? नेता को हो ? एमालेले जस्तै गठबन्धनले फलानो हाम्रो प्रधानमन्त्री हो भनेर किन भन्न सक्दैन’, ओलीले भने, ‘किनकि उनीहरूलाई सरकार बनाउँछौँ भन्ने विश्वास नै छैन। सरकार बनाउँदा पनि कुन पार्टीको कार्यक्रम लागू गर्ने‚ त्यो छैन। त्यसैले यो गठबन्धनलाई बिदा गरौँ।’

अहिले गठबन्धनका नेताहरूले आफू आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतालाई ढाँट्ने काम गरिरहेको बताए। ओलीले फरक फरक पार्टीका घोषणापत्र लागू हुने सम्भावना नै नरहेको दाबी गरे।

एमालेलाई देख्दा गठबन्धनको सातो जाने गरेको जिकिर ओलीको थियो। ओलीले कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्ने बताउँदै बहुमत ल्याउन कठिन भएको र एमालेले नै बहुमत ल्याउने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.