|

काठमाडौंं :   राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेकी छिन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सात दिनको समयसीमा दिएर सहमतीय सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन्।    

नेपालको संविधानको धारा २९८ ९२० अनुसार उनले सरकार गठनको आह्वान गरेकी हुन्।  सात दिनको समयसीमामा सहमतिमा सरकार गठन हुन नसके उपधारा ३ अनुसार बुहमतीय प्रक्रिया सुरु हुनेछ।  राष्ट्रपतिको आह्वानबमोजिम जेठ १८ गतेभित्र सहमतिमा सरकार गठन नभए बहुमतीय प्रक्रिया सुरु हुनेछ।  

राष्ट्रपति भण्डारीले ‘नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको’ राष्ट्रपतिको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

सहमतिबाट प्रधानमन्त्री चयन नभए राष्ट्रपतिले बुहमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्राचार गर्नेछिन्।  राष्ट्रपतिको पत्राचारअनुसार संसद् सचिवालयले प्रधानमन्त्री निर्वाचनको आन्तरिक कार्यतालिका प्रकाशन गर्नेछ।  सचिवालयले छिटोमा तीन दिनभित्र बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको चुनाव गराउने गरी कार्यतालिका प्रकाशन गर्न सक्नेछ।  

सूचनाअनुसार सचिवालयले एक दिन मनोनयन दर्ता, एक दिन दाबी विरोध र मनोयन फिर्ताका लागि दिन सक्नेछ।  तेस्रो दिनमा संसदमा प्रधानमन्त्री चयनको निर्वाचन गर्ने गरी कार्यतालिका सचिवालयले तय गर्न सक्नेछ।  

संसदमा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले बहुमतीय प्रक्रियामा प्रधानमन्त्री चयन गर्नसक्ने संवैधानिक व्यवस्था छ।  हाल कायम रहेको सङ्ख्याअनुसार बहुमतीय सरकार गठनका लागि २९७ सांसद आवश्यक पर्छ।  दुई सत्ता साझेदार दल काँग्रेस र माओवादी केन्द्रसँग २८८ सदस्य छन्।  कम्तीमा १० सिट रहेको सानो दलको समर्थनमा सहजै बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.