धनकुटा : प्रतिनिधिसभाको एक तथा प्रदेश सभाको दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा तथा प्रदेश सभामा जनप्रतिनिधि दोहोरिएका छन्।
प्रतिनिधिसभामा राजेन्द्र राई तथा प्रदेश क्षेत्र नं. १ मा निरन राई र प्रदेश क्षेत्र नं. २ इन्द्रमणी पराजुली पुनः दोहोरिएका हुन्।
२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित उनीहरु यस पटकको निर्वाचनमा पनि निर्वाचित भएका छन्। २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा अहिलेकै प्रतिद्धन्दी सुनिल थापालाई १० हजार ४ सय ५९ मतले पराजित गरेको थिए। २०७४ सालमा राईले ३७ हजार ३ सय ३३ मत ल्याउँदा थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए। यो पटकको निर्वाचनमा राईले थापालाई १ हजार ३ सय ९६ मतले हराउन सफल भए। राईले ३० हजार १ सय मत ल्याउँदा थापाले २८ हजार ७ सय ४ मत ल्याउन सफल भए। सवतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत ल्याएर तेस्रो भए। २०७४ मा राईलाई माओवादीको साथ थियो भने राप्रपामा रहेका थापालाई जनता समाजवादी र कांग्रेसको साथ रहेको थियो। हालै सम्पन्न निर्वाचनमा भने राई एमालेको तर्फबाट उम्मेदवार बनेका थिए भने भर्खरै कांग्रेसमा प्रवेश गरेका थापालाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ रहेको थियो। माओवादीबाट हेमराज भण्डारीले विद्रोह गरेपछि केही माओवादीले भण्डारीलाई साथ दिएका थिए।
प्रदेश निर्वाचन क्षेत्र नं. १ मा निर्वाचित एमालेका निरन राई पनि दोस्रो पटक संसदमा प्रवेश गर्ने भएका हुन्। राईले २०७४ को निर्वाचनमा कांग्रेसका मनोहर नारायण श्रेष्ठलाई भारि मतान्तरले पराजित गरेर पहिलो पटक संसद प्रवेश गरेका राईले यसपटक भने पूर्व सहकर्मी एकीकृत समाजवादीका अर्जुन राईलाई पराजित गर्दै संसद यात्रा तय गरेका हुन्। २०७४ मा माओवादीको साथ पाएका राईले कांग्रेस, राप्रपा र जनता समाजवादीको संयुक्त उम्मेदवार बनेका नेपाली कांग्रेसका मनोहर नारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतले पराजित गरेका थिए। राईले २० हजार ८८ मत ल्याउँदा श्रेष्ठले १३ हजार ४ सय ४२ मत ल्याएका थिए।
यसपटक पनि एमालेको तर्फबाट उम्मेदवार बनेका राईले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका अर्जुन राईलाई ६ हजार ७ सय ९३ मतान्तरले पराजित गरेका हुन्। एमाले उम्मेदवार राईले १७ हजार १८ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवार राईले १० हजार २ सय २५ मत ल्याएका थिए। सो क्षेत्रमा जनता समाजवादीबाट उम्मेदवार बनेका पूर्वमन्त्री रकम चेम्जोङ ८ हजार २ सय ४७ मत पाएर तेस्रो भए।
यस्तै दोस्रो पटक प्रदेश संसदको यात्रा तय गरेका इन्द्रमणी पराजुली धनकुटा प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन्। २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका पराजुली यसपटक पनि दोहोरिएका हुन्। २०७४ सालको निर्वाचनमा माओवादीको साथ पाएका पराजुलीले कांग्रेस, राप्रपाको साथ पाएका जनता समाजवादीका अर्जुन थापालाई १२ हजार ४ सय ४१ मतान्तरले पराजित गर्दै संसद यात्रा तय गरेका थिए। पराजुलीले २० हजार ६ सय ५२ मत ल्याउँदा थापाले ८ हजार २ सय ३१ मत ल्याएका थिए।
यसपटक पनि एमालेको तर्फबाट उम्मेदवार बनेका पराजुलीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी कुशुम श्रेष्ठलाई ४ हजार ५ सय ६७ मतान्तरले पराजित गरेका हुन्। पराजुलीले १५ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।