|
फाइल फोटो

जनकपुरधाम : मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्। 

आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्य ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुर प्रस्थान गरेका हुन् । रामजानकी विवाहमहोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने प्राचीन परम्परा हो।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दस्रो रात जलेश्वर , तेश्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो ।

यस क्रममा दिवा र राीत्र भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले  स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झिन्छन्।

अहिले यो परम्परा भने अब हराउँदै गएर केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मेला उत्सवको आकर्षण घट्दै गएर सिमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दैछन् 
 
विगत दुई वर्ष कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधुसन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाहपञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाहपञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेता युगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.