|

विराटनगर : २०४८ सालयताका ६ वटा निर्वाचनमा नेपाली काँग्रेसका विजयकुमार गच्छदार पराजित भएको कुनै रेकर्ड थिएन।

२०४८ देखि देशमा ६ वटा आमनिर्वाचन सम्पन्न भए। ती सबै निर्वाचनमा उनै विजयी हुँदै आए।

२०४८, २०५१, २०५६ र २०७४ मा चारवटा निर्वाचन नेपाली कांग्रेसबाट उनले जिते भने २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट एकपटक गच्छदारले चुनाव जिते। त्यसो त हारको स्वाद नचाखेका गच्छदार १८ पटक मन्त्री बने।

जित र सत्ताको आडमा बस्ने बानी बनेका उनले २०७४ को प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी ३ बाट थोरै मतान्तरले एमालेकी भगवती चौधरीलाई हराएका थिए।

सोही निर्वाचनमा धाँधलीको आरोप लागेका गच्छदारमाथि अझै त्यो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। २०७४ देखि २०७९ सम्म आइपुग्दा भने गच्छदारको राजनीतिक शक्ति फेरिएको छ। जीवनको आधाभन्दा बढी समय राजनीतिक यात्रामा हिँडेका उनले निर्वाचनमा पराजित हुँदाको स्वाद कस्तो हुन्छ भन्ने पत्तो पाएका थिएनन्।

हालको निर्वाचनमा उनको निरन्तरताको विजयी यात्रामा रोक लगाउँदै एमालेकी भगवती चौधरीले बाजी मारेकी छिन्। चौधरीले ४०‚७८८ मत ल्याउँदा गच्छदारले ३५‚६०० मत ल्याएका छन्।

 हारले निखारेको भगवतीको राजनीतिक र व्यावसायिक यात्रा

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपल्ट उनले  भाग लिँदै गर्दा ३ दशकदेखि नेपाली राजनीतिमा छाएका प्रभावशाली नेता विजयकुमार गच्छदारसँगको प्रतिस्पर्धामा झिनो मतान्तरले पराजित भइन्।

हारेर पनि राजनीति यात्रासँगै सामाजिक कामलाई लिएर हिँडेकी चौधरी पुनः नेकपा एमालेबाटै २०७४ सालको आमनिर्वाचनमा विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा उत्रिइन्। उक्त निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएकी थिइन्।

यो निर्वाचनमा जित्छु भन्ने कतिको विश्वस्त हुनुहुन्छ? निर्वाचनअघि सोधिएको यो प्रश्नमा उनले मुस्कुराउँदै जवाफ दिएकी थिइन्, ‘यो पटक म जित्छु, अदालतले नदिएको न्याय जनताले दिनुहुन्छ।’ निर्वाचन आउनुभन्दा केही दिनअघि सोधिएको प्रश्नको जवाफ र उनले आफूमाथि राखेको भरोसाको जवाफ सुनसरी क्षेत्र नम्बर ३ का जनताले दिए।

यो जितसँगै वर्गीय, क्षेत्रीय र लैङ्गिक असमानताले गाँजेको समाजबीच पूर्वी नेपालमा एउटी महिला नेतृको उदय भयो। उनले राजनीतिमा पहाडजस्ता समस्या र चुनौतीसँग जुध्दै सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामीण भेगका महिलाको अनुहारमा उज्यालो ल्याउन अहोरात्र लागेकी छिन्।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ लाई आधार क्षेत्र बनाएर नेकपा एमालेको राजनीतिमा होमिएकी चौधरी लघुवित्त कार्यक्रममार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न दशकौँदेखि लागेकी छिन्।

सुनसरीको दुहबीमा रहेको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था मूलतः गरिबीको रेखामुनि रहेका तथा न्यून आय भएका ग्रामीण भेगका महिलाको जीवनस्तर उकास्न तल्लीन छ। भगवती चौधरीलाई आर्थिक अधिकारबाट वञ्चितीकरणमा परेका विपन्न महिलाको आर्थिक सशक्तिकरणकी अभियन्ताका रूपमा चिनिन्छ।

मध्यम वर्गीय किसान परिवारमा जन्मिएकी उनी आफ्नो परिवारमा मात्रै होइन, छरछिमेक र समुदायमा पनि छोरीको शिक्षा र हकका लागि लड्दै आएकी छिन्। छोरी पढाउनुहुन्न भन्ने त्यो समयमा हजुरबुवा र हजुरआमाबाट पढ्ने हौसला पाएको बताउने उनी आफूजस्तै उमेरका केटाकेटी खासगरी मुसहर समुदायका बालबालिका विद्यालय जानबाट वञ्चित भएको देख्दा असाध्यै दुःख लाग्ने बताउँछिन्।

उनले विद्यालय शिक्षाबाट वञ्चित डेढ सय बालबालिकालाई शिक्षा दिइरहेकी छिन्। साथै आजका युवालाई प्राविधिक शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले गाउँमै प्राविधिक कलेज समेत स्थापना गरिदिएको उनी बताउँछिन्।

 बंगलादेशका नागरिक नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसबाट प्रभावित भएर ग्रामीण आर्थिक सबलीकरण, महिला उत्थान र सामाजिक काममा समर्पित नेतृ चौधरीले देशका तीन लाखभन्दा बढी महिलामा वित्तीय पहुँच पुर्‍याउन सफल भएकी छिन्।

उनले ग्रामीण महिला उत्सुकता विकास मञ्चमार्फत वित्तीय साक्षरता र सामाजिक सचेतना फैलाउँदै फरवार्ड माइक्रो फाइनान्सबाट ग्रामीण महिलामा वित्तीय पहुँच पुर्‍याउने तथा दिनेश चौधरी स्मृति प्रतिष्ठानमार्फत सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.