|

म्याग्दी : नेकपा (माओवादी केन्द्र) म्याग्दीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ।

सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादी केन्द्रले देश र प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा गठबन्धन प्रभावकारी, इमान्दार र उत्कृष्ट भएको ठहर गर्दै भावी योजनाका विषयमा समेत गठबन्धनका अन्य राजनीतिक पार्टीहरूसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रका जिल्ला र पालिका कमिटीका पदाधिकारीहरू सहभागी शनिबार सम्पन्न समीक्षा बैठकमा सहभागी नेताहरूले विजयी उमेदवारहरूलाई बधाई, मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरूलाई धन्यवाद दिँदै संगठन निर्माण, रचनात्मक र सिर्जनशील काम गरेर पार्टी र नेतृत्वलाई जनतासमक्ष स्थापित गराउनुपर्ने बताएका थिए।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हरिबहादुर भण्डारी प्रदेश सभा म्याग्दी क्षेत्र (१) र रेशम बहादुर जुग्जाली (सुविन) क्षेत्र (२) बाट गण्डकी प्रदेशसभा सदस्यमा तथा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

निर्वाचित सांसदहरूलाई तल्लो तहका नागरिकको आवश्यकता, समस्या सम्बोधन गर्ने जनमैत्री कानुन र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेताहरूले सुझाव दिएका छन्।

म्याग्दीमा गठबन्धनमा इमान्दारिता र प्रभावकारी भएको नेताहरूको निष्कर्ष थियो। प्रदेश सरकारमा माओवादी सहभागी हुने अवस्थामा म्याग्दीका जनप्रतिनिधिलाई मन्त्री बनाउन माथिल्लो कमिटीसँग माग गरेका छन्।

माओवादी केन्द्रका गण्डकी प्रदेश सचिव जगन्नाथ खनालले देश र प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा गठबन्धन प्रभावकारी, इमान्दार भएको र उत्कृष्ट नतिजा आएको बताए। ‘म्याग्दीको पार्टी कमिटीले जुन सुझबुझपूर्ण निर्णय लिएर माओवादीलाई जित दिलायो त्यसको मूल्याङ्कन प्रदेशबाट पक्कै हुन्छ’, उनले भने।

म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल र प्रदेश सहसचिव टेकबहादुर विश्वकर्माले २०७४ र गत वैशाखको निर्वाचनको तुलनामा समानुपातिक मतको आधारमा म्याग्दीमा माओवादीको जनमत बढेको बताउँदै त्यसको मुल्यांकन प्रदेश र केन्द्रीय कमिटीबाट हुने अपेक्षा गरे। प्रदेशसभा क्षेत्र (१)का ईञ्चार्ज विनोद केसी, प्रदेश सदस्यहरू पदम पुन, रिम केसी, गौरी सेञ्चुरी, खुमनाथ सुवेदी, चन्द्रप्रसाद बुढाथोकी, विशेष प्रदेश सदस्य अर्जुन थापा, अन्नपूर्ण गाउँपालिकाका नेता बागबिर पाइजा लगायतले आगामी चुनावसम्म माओवादीको संगठनलाई एक्लै चुनाव जित्ने बनाउनुपर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.