|

दाङ : बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापकको दरबन्दी छ। तर अहिले यहाँ पाँच–सात जनाले मात्रै पढाइरहेका छन्।

सीमित प्राध्यापकका कारण नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थी गुनासो गर्छन्। ‘अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर सीमित शिक्षक छन्, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ’, विद्यार्थी अभयप्रताप चौबले भने, ‘म कैलालीबाट बीएएमएस पढ्न पनि आएको हुँ, तर यहाँको पढाइ निकै कमजोर रहेछ।’ एक प्राध्यापकले सातामा १२  पिरियड पढाउनुपर्नेमा २५\३०  पिरियड पढाइरहेको उनले बताए।

त्यस्तै झापाबाट बीएएमएस पढ्न आएका प्रदीप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताए। ‘प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँछन्। त्यो पनि पढाइले सिकाइ गतिलो भएको छैन’, उनले भने, ‘एक हप्तादेखि हामी कलेज नै गएका छैनौँ।’ उनी नवौँ ब्याचका विद्यार्थी हुन्।

त्यस्तै कैलालीकी रिया भण्डारी गएको भदौमा ११औँं ब्याचको रूपमा आएकी हुन्। तर उनले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषय पढाइ नै भएको छैन। पदार्थ विज्ञान एक दिनमात्रै पढाइ भएको उनले सुनाइन्। ‘शिक्षकले अहिले हामीलाई संस्कृत मात्रै घोकाइरहेका छन्, यस्तो पाराले हामी कसरी डाक्टर बन्ने हो?”, उनले भनिन्, ‘घोकेर पछि बिरामीलाई हामीले कसरी उपचार गर्ने?’ पहिला पास भएर गएका डाक्टरले पनि एउटा सिरिञ्जसमेत लगाउन नजान्ने उनले बताइन्।

विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेले २०७८ चैत १६ गते शिक्षकका लागि विज्ञापन खोलेको बताए। तत्काल निर्वाचन आचरसंहिता लागेका कारण त्यो प्रक्रिया अघि नबढाउन सरकारले निर्देशन दिएपछि कार्य अगाडि बढ्न नसकेको बताए। अहिले विषयसँग सम्बन्धित शिक्षक नपाइने समस्या पनि रहेको उनको भनाइ छ।

ओपीडीको पनि समस्या 

विद्यापीठमा अहिलेसम्म ओपीडी नहुँदा विद्यार्थी कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने अवस्था छ । डाक्टर पढाउने क्याम्पसको एउटा ओपीडी नहुनु दुःखद भएको विद्यार्थी बताउँछन्। प्रयोगात्मक नहुँदा पास भएर गए पनि बिरामीलाई सहज उपचार दिन नसकिने उनीहरूको भनाइ छ। क्याम्पसमै प्रयोगात्मकको सहज व्यवस्थापन हुन आवश्यक रहेको विद्यार्थी चौबले बताए।  विद्यार्थीका यी मागप्रति आफू सकारात्मक रहेको विश्वविद्यालयका उपकुलपति लामिछानेले बताए।

विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय केन्द्रीय आयुर्वेद विद्यापिठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.