|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निर्माणाधीन २० वटा ठूला विकास निर्माणका योजना अलपत्र छन्।

संघीय र प्रदेश सरकारका यी योजनाहरू निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले संरक्षण गर्दा अलपत्र परेको स्थानीयको गुनासो छ।

अलपत्र परेका योजनामा सडक, पुल, भवनलगायत आयोजना रहेका छन्। म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ९ वटा सडक र पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन्।

पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका ६ वटा सडक र ५ वटा पुल अलपत्र छन्। यसैगरी १५ वटा खानेपानी, बेनी अस्पतालको ५० शय्याको भवन निर्माण अलपत्र छ।

बेनी–जोमसोम, बेनी–दरबाङ, गलेश्वर, भगवती, पोखरेबगर–भगवती, दरबाङ–ताकम धारापानी-बेनी–बागलुङ, बेनी-बालढुंगालगायतको सडक पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले निर्माणमा ढिलासुस्ती र अलपत्र पार्ने क्रम बढेको छ।

म्याग्दीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले जिल्लाका अधुरा र अलपत्र योजना ६ महिनाभित्र पूर्णता दिन तत्कालै पहल थाल्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले जिल्लामा रोकिएका विकास निर्माणका योजनाको तत्काल गति बढाउने प्रतिबद्धता जनाएका छन्।

अलपत्र गलेश्वर–भगवती सडक

३ वर्षदेखि म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती कालोपत्रे सडक योजना अलपत्र छ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले समयमै काम नगर्दा योजना अलपत्र परेको हो।

आयोजनाको थप भएको समयमा समेत निर्माण कम्पनीले काम नथालेपछि रघुगंगा गाउँपालिका वडा नम्बर २ र ३ का जनप्रतिनिधिले पूर्वाधार विकास कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन्।

वडाध्यक्षद्वय अमृत भण्डारी र खिमबहादुर शाहीले सडक कालोपत्रे छिटोभन्दा छिटो अघि बढाउन माग गर्दै कार्यालय प्रमुख गुरुदत्त अधिकारीलाई पत्र बुझाएका हुन्। पत्रमा निर्माण कम्पनीको लापरबाहीले कालोपत्रे गर्ने सडक योजना अलपत्र पर्ने खतरा बढेकाले समन्वय गरेर काम अघि बढाउन माग गरेका छन्।

पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले पिप्लेदेखि भगवतीसम्मको सडक कालोपत्रेकोे काम तत्काल अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन गरिएको बताए।

‘निर्माण कम्पनीलाई कार्यक्षेत्रमा खटिन हामीले पटकपटक पत्र काटेका छौं, यही महिनाको अन्तिमबाट काम शुरु हुन्छ‚’ कार्यालय प्रमुख अधिकारीले भने।

पिप्लेदेखि भगवती जोड्ने सडक कालोपत्रे गर्न ठेकेदारले सडकलाई फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली बनाउने लगायतका काम गरेर अलपत्र छोडेको थियो।

भ्याटसहित १८ करोड ४१ लाख ८३८ रूपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडक ८ मिटर फराकिलो बनाउने र साढे ५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ।

प्रदेशका अन्य योजनालाई तत्काल काम अघि बढाउन निर्माण कम्पनीलाई ताकेता गरिरहेको पूर्वाधार कार्यालयले जनाएको छ।

बेनी–मालढुंगा सडकको हविगत पनि उस्तै

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि पर्वतको मालढुंगासम्म १३ किलोमिटर लामो बेनी–मालढुंगा सडक पनि अलपत्र छ।

ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो। सडक अस्तव्यस्त पारेर ठेकेदार ४ महिनादेखि कार्यस्थल गएको छैन।

ठेकेदार कम्पनीहरूबीच नै आपसमा असमझदारी बढेपछि ४ महिनाअघिसम्म काम गरेको ठेकेदार सडक अलपत्र छाडेर योजना निर्माणबाट पछि हटेको हो।

सडक अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। यो सडकमा १३ किलोमिटर दूरी पार गर्न सवारीसाधनलाई डेढ घण्टा लाग्ने गरेको छ।

बेनी र मुस्ताङ घुम्न आउने पर्यटक सडकको दुरावस्थाका कारण घण्टौं जाममा फस्नु परेको गुनासो गर्छन्। वर्षातमा सडक माथिबाट खसेको पहिरो, खाल्डाखुल्डी र जथाभावी छाडिएका निर्माण सामग्रीका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको गुनासो बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.