|

काठमाडौँ : नेपालमा बालबालिकामा लगाइने खोपको कभरेज घटेको छ।

केही वर्षअघि सम्म नेपालमा बालबालिकामा लगाउने खोपको कभरेज अन्तरराष्ट्रिय रूपमै राम्रो हुने पाइए पनि गत पाँच वर्षभित्र बालबालिकाले लगाउने खोपको कभरेज घटेको हो।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले २३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बी.सी.जी. खोप डी.पी.टी. हेप/ बि-हिब पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकालाई नलगाइएको पाइएको हो।

यद्यपि यसअघि सन् २०१६ को यही सर्वेक्षणमा एक प्रतिशत बालबालिकाले मात्रै कुनै पनि खोप लगाएका थिएनन्। त्यस्तै सन् २०११ मा ३ प्रतिशत, सन् २००६ मा ३ प्रतिशत, सन् २००१ मा १ प्रतिशत र १९९६ मा २० प्रतिशतले कुनै पनि खोप लगाएका थिएनन्।

सन् १९९६ पछि विगत पाँच वर्षमा नेपालमा बालबालिकालाई लगाइने खोपको कभरेज घटेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख समेत रहेका वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले पाँच वर्षको बीचमा करिब दुई वर्ष कोभिड महामारीले गर्दा लामो समयसम्म भएको लकडाउन, निषेधाज्ञा लगायतका प्रतिबन्धले बालबालिमा लगाइने खोपको कभरेजमा कमी आएको बताउँछन्।

‘पाँच वर्षअघि सम्म नेपालमा बालबालिकालाई लगाइने खोपको कभरेज धेरै राम्रो थियो तर विगत दुई वर्षको बीचमा हामी कोभिड महामारी नियन्त्रणमा लगाइएको कडा लकडाउन, निषेधाज्ञा जस्ता प्रावधानले पनि खोपको कभरेजमा कमी ल्याएको देखिन्छ। अब खोप कार्यक्रमलाई प्रभावकारी तरिकाले लैजानुपर्ने देखिएको छ’‚ डा. पौडेलले भने।

हाल नेपालमा ८० प्रतिशत बालबालिकाले भने पूर्ण खोप लगाएको समेत उनको भनाइ छ।

यस्तै नेपालमा हाल पाँच ५ वर्षमुनिका ७५ प्रतिशत बालबालिकालाई तीव्र प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्या रहरेको पाइएको छ। यसका साथै ७८ प्रतिशतमा ज्वरो र ५७ प्रतिशतका बालबालिकामा झाडापखलाको समस्या देखिने गरेको पाइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.