|

काठमाडौं :  नेपालमा हाल हरेक परिवारले आफ्नो आम्दानीको १० प्रतिशत रकम उपचारमा खर्च गर्ने गरेको पाइएको छ।

स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आज आयोजना गरेको कार्यक्रममा महाशाखाका प्रमुख डा अनुप बाँस्तोलाले नेपालमा हरेक परिवारले आफ्नो परिवारको कुल खर्चको १० प्रतिशत हिस्सा उपचारमा खर्च गर्ने गरेको बताएका हुन्।

‘नेपालमा हरेक घर परिवारले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा स्वास्थ्य उपचारमा खर्च गर्ने गरेका छन्। अझै अर्को महत्वपूर्ण कुरा के छ भने स्वास्थ्य उपचारमा खर्च गर्नु पर्दा १ दशमलव ७ प्रतिशत मानिस गरिबीमा धकेलिने गरेको पाइएको छ‚’ डा बाँस्तोलाले भने।

नेपालका लागि सर्वव्यापी स्वास्थ्य पहुँचको सूचाकांकअनुसार सन् २०१० मा कुल १०० अंकमा ५२ रहेको थियो भने सन् २०१९ मा अंक बढेर ५९ मात्र पुगेको छ। नेपालको स्वास्थ्य पहुँच अहिलेकै गतिमा अघि बढ्ने हो भने सन् २०३० सम्ममा नेपालले ७३ अंक मात्र पाउने प्रक्षेपण गरिएको छ।

भिन्न सामाजिक‚ आर्थिक, भौगोलिक अवस्थाले गर्दा अहिले पनि नेपालमा स्वास्थ्यको पहुँचमा असमानता रहेको डा बाँस्तोलाको भनाइ छ। अहिले पनि मधेश प्रदेश र कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा स्वास्थ्यको पहुँच न्यून रहेको छ।

निर्देशक डा बाँस्तोलाले सबैमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल र बिमा कार्यक्रम र विपन्न नागरिकका लागि जटिल प्रकारका नसर्ने रोगको उपचार कार्यक्रम‚ विशेषज्ञ एवं विशिष्टिकृत सेवाको विकास र विस्तार गर्दै आएको समेत दाबी गरे।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सबैलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने बताए। उनले अझै पनि स्वास्थ्य बीमा कार्यक्रमभन्दा बाहिर रहेका सर्वसाधारणलाई बिमा कार्यक्रममा समेटी स्वास्थ्य सेवा निःशुल्क बनाइने दाबी गरे। डा बसौलाका अनुसार अहिले ६१ लाख ७८ हजार १४० जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन्।

मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन मार्गचित्र तयार पारिरहेको समेत बताइन्।

सचिव गुरागाइँले स्वास्थ्यमा सबैको समान पहुँच बनाउन गहन, सहज र पारदर्शी रुपले स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन्। उनले स्वास्थ्य सेवा नपुगेका दूरदराजका सर्वसाधारणलाई सेवाको पहुँच पुर्‍याउन सरकार लागि परेको बताइन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले पहल गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.