|
फाइल तस्विर

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ।  पाँच पुल सञ्चालनमा आए पनि १० वटा अझै पूरा भएको छैन। 

आगामी असारसम्ममा १० पुल निर्माण सक्नेगरी काम अघि बढाएको नागढुंगा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। ३३ महिनामा पुल सम्पन्न गर्नेगरी २०७६ चैत १० गते सम्झौता गरिएको थियो। यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ। 

‘कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ’, कार्कीले भने। घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो। 
 
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ। सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ। भौगोलिकरूपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको हो।

कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ। त्यहाँबाट हटाउँदै गर्दा घरटहरा व्यवस्थापन गर्नुपर्ने हुन्छ। उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्छ। यसका लागि एक करोड रुपैयाँ माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ। असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको कार्कीले बताए। तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने उनको भनाइ छ। 
 
तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए।  सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो। हाल यो सडक नौदेखि ११ मिटर फराकिलो छ। ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धिखोला गरी सात पुल छन्। प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन्। 

प्याकेज–१ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ। पुल र नक्सांकनका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ बजेट छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ। दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्सा‌कन र पुलका लागि ४९ करोड ६० लाख रुपैयाँ हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो।
 
दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ। पुलको गाडी हिँड्ने ठाउँ सात दशमलब पाँच मिटर फराकिलो हुनेछ। दुवैपट्टि १.५ पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.