|

काठमाडौं : सन् १९०४ मा बेल्जियमसँग पहिलो अन्तरराष्ट्रिय फुटबल खेल खेलेको फ्रान्स ११८ वर्षदेखि अन्तरराष्ट्रिय फुटबलमा सक्रिय छ।

सन् १९९८ र सन् २०१८ को विश्वकप विजेतासमेत रहेको फ्रान्स यतिवेला कतारमा जारी विश्वकप २०२२ को सेमिफाइनलसम्म पुगेको छ। जहाँ फाइनल प्रवेशका लागि ६६ वर्षअघि फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको उत्तर अफ्रिकी देश मोरक्कोसँग उसले प्रतिस्पर्धा गर्नेछ।

दोस्रो विश्वयुद्धपश्चात युरोपेली शक्ति राष्ट्रहरूको अधिनमा रहेको अफ्रिका महाद्विपको अधिकांश भागमा स्वतन्त्रताको लहर शुरु भइसकेको थियो। त्यही क्रममा सन् १९१२ देखि फ्रान्सको अधिनमा रहेको मोरक्कोले पनि सन् १९५६ मा स्वतन्त्रता पायो।

१८ नोभेम्बर १९५६ मा फ्रान्सबाट स्वतन्त्र भएको मोरक्कोले सन् १९५७ अक्टोबर १९ मा आफ्नो पहिलो अन्तरराष्ट्रिय फुटबल खेल खेल्यो। हाल साढे ३ करोडभन्दा माथि जनसंख्या रहेको मोरक्कोमा सबैभन्दा लोकप्रिय खेलको सूचीमा फुटबल सबैभन्दा अगाडि आउँछ।

हाल मोरक्कोका धेरै खेलाडीहरू युरोपका चर्चित क्लबहरूबाट खेल्दै आएका छन्। जसले मोरक्कोलाई खुशी बनाउँदै आएको थियो तर आफ्नो देशले अन्तरराष्ट्रिय फुटबल, विशेष गरी विश्वकपमा सम्झनलायक केही गरोस् भन्ने चाहना भने पूरा हुन सकेको थिएन। 

सन् १९७० मा पहिलो पटक विश्वकप खेलेको मोरक्को सन् १९८६ मा अन्तिम १६ सम्म प्रवेश गर्दै प्रतियोगितामा ११ औँ स्थानमा आएको थियो। सन् २०२२ अघि मोरक्को विश्वकप उपाधिको सबैभन्दा नजिक पुगेको त्यही एक पटक थियो।

मोरक्कोको उक्त ऐतिहासिक सफलता पछिल्लो पुस्ताले देख्न पाएको थिएन। त्यसपछि खेलेका सन् १९९४, सन् १९९८ र सन् २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मोरक्कोका लागि यो विश्वकप अविस्मरणीय र सबैभन्दा सफल साबित भइसकेको छ। जहाँ मोरक्को अब उपाधिबाट २ खेलमात्र टाढा रहेको छ। 

यो पटक मोरक्कोका जनताको आफ्नो देशले विश्वकपमा ठूला ठूला देशहरूलाई पराजित गर्दै आफ्नो टोलीलाई उपाधिको दावेदारको रुपमा गनिएको हेर्ने चाहना मात्र पूरा भएको छैन विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग खेल्नुपर्ने खेलले उनीहरूलाई ४४ वर्षसम्म फ्रान्सले आफूमाथि गरेको शासनको पनि सम्झना दिलाइरहेको छ। 

अहिलेसम्म ११ पटक आमुन्नेसामुन्ने हुँदा मोरक्कोले फ्रान्सलाई एक पटक मात्र पराजित गरेको छ। ७ पटक फ्रान्सले जितेको छ भने ३ खेल बराबरीमा टुंगिएका छन् तर विश्वकपमा भने मोरक्को र फ्रान्स पहिलो पटक आमुन्नेसामुन्ने हुन लागेका हुन्।

लामो फुटबल इतिहास रहेको फ्रान्स यो पटकको लागि पनि उपाधिको दावेदार टोली हो तर छैटौँ पटक विश्वकप खेलिरहेको मोरक्कोलाई पनि सेमिफाइनलसम्म पुग्दा ठूला कहलिएका टोलीलाई स्तब्ध बनाउन सक्ने र उपाधिको दावेदार टोलीको रुपमा लिन थालिएको छ।

यो विश्वकपको सेमिफाइनलसम्मको यात्रामा मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगल जस्ता युरोपेली फुटबलका ‘हस्ती’ मानिएका टोलीहरूलाई धुलो चटाइसकेको छ। यसकारण पनि फ्रान्ससँगको खेलमा मोरक्कोलाई कम आँक्न मिल्दैन। बरु मोरक्कोले आफू यो विश्वकपको ‘डार्क हर्स’ भएको प्रमाणित गरेको छ।

लामो समय फ्रान्सको अधिनमा रहेको मोरक्को धेरै वर्ष गरिब राष्ट्रको सूचीमा रह्यो। जसको एउटा प्रमुख कारण फ्रान्सलाई नै मानिने गर्छ। हाल झण्डै आधा जनता कृषिमा सक्रिय रहेको मोरक्को विकासोन्मुख देशमा गनिन्छ।

आर्थिक रुपमा पनि समृद्धितर्फ उन्मुख मोरक्कोका लागि फुटबल विश्वकपको फाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्न लाग्नु नै एउटा उत्सवको कारण बनेको छ। 

चर्चा एमबाप्पे र हकिमीको मित्रताको

तर मोरक्को र फ्रान्सबीच हुने आजको सेमिफाइनल खेलमा कुनै समयको शासक र शासित देशबाहेक यतिवेलाका दुई मित्र पनि एक अर्कोको विपक्षी भएर उभिँदैछन्। 

सन् १९९८ जतिवेला फ्रान्सले मोरक्को छाडेको ४४ वर्ष बितिसकेको थियो। र दुवै देश त्यो समयबाट निकै अगाडि बढिसकेका थिए। त्यही वर्ष नोभेम्बर ४ मा अशरफ हकिमी र डिसेम्बर २० मा किलियन एमबाप्पेको जन्म भयो। 

हकिमी सन् २०१६ देखि मोरक्को राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् भने एमबाप्पे पनि सन् २०१७ देखि नियमित रुपमा फ्रान्सबाट खेल्दै आएका छन्। अहिलेको समयमा आ-आफ्ना देशका लागि महत्वपूर्ण योगदान दिँदै आएका दुवै खेलाडीले क्लब फुटबलमा एउटै टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट मात्रै खेल्दैनन्‚ दुवै मिल्ने साथी हुन् र मैदानमा सफल जोडी पनि हो।

एमबाप्पे सन् २०१८ देखि पिएसजिका लागि खेल्दै आएका छन् भने हकिमी सन् २०२१ मा अनुबन्धित भएका हुन्। क्लब फुटबलको इतिहासमा सफल जोडी खेलाडीमध्ये गनिने हकिमी र एमबाप्पेलाई पिएसजीले ‘द म्याजिक डुओ’ पनि भन्ने गर्छ।

मैदान भित्र र बाहिर सबैतिर हकिमी र एमबाप्पेको मित्रता राम्रैसँग देख्न सकिन्छ। बुधबारको सेमिफाइनलअघि दुवै जना खेल हुने स्टेडियममा गएर बनाएको एउटा भिडियो यतिवेला इन्टरनेटमा भाइरल बनेको छ। जहाँ दुवै जनाले ठट्यौली शैलीमा फुटबलको नियम नै विपक्षीलाई हराउने रहेको र आफूहरू आफ्नो साथीलाई हराउनका लागि खेल्ने जनाएका छन्।

एमबाप्पे जारी प्रतियोगितामा ५ गोलसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन् भने मोरक्कोको पहिचान सामूहिक खेल बनेको छ। प्रतियोगिताको एकमात्र अपराजित टोली मोरक्कोको गोल पोस्टमा एउटा मात्र गोल भएको छ। जुन गोल मोरक्कोकै खेलाडीबाट अर्थात आत्मघाती गोल भएको थियो। मोरक्कोका लागि युशुफ एन नासरीले सबैभन्दा बढी २ गोल गरेका छन्। 

केही तस्वीरः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.