सरकारको नेतृत्वमा काँग्रेस‚ माओवादी र एकीकृत समाजवादीको दाबी

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभामा मंसिर ४ को निर्वाचनबाट नेपाली कांग्रेस ठूलो  दल बनेको छ।

२०७४ सालको निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित १९ सिट पाएर पहिलो बनेको हो। सुदूरपश्चिममा ४ वर्ष प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस गत चैत २५ मा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएको थियो।

निर्वाचनको अन्तिम मत परिणाम आए पनि नयाँ सरकार गठन प्रक्रिया अघि नबढेकाले हाल माओवादीका त्रिलोचन भट्ट नेतृत्वको सरकारले काम गरिरहेको छ। माओवादी नेतृत्वको सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू पनि छन्।

दलहरूले हालै सम्पन्न चुनावको नतिजापछि समानुपातिकतर्फका प्रदेशसभा सदस्यको नाम पनि टुंगो लगाइसकेका छन्। योसँगै सुदूरपश्चिम प्रदेशमा सरकार गठन र मुख्यमन्त्री बन्न सांसदहरूबीच भइरहेको हानाथापले चर्चा पाएको छ।

यस्तो छ प्रदेशसभाको गणित

सुदूरपश्चिममा सरकार बनाउन सत्तारुढ गठबन्धनले बहुमत पाएको छ। जसअनुरुप यहाँ समानुपातिकसहित कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सिट जितेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा २७ जना सांसद हुँदा सहज बहुमत पुग्छ। अहिलेको सत्ता गठबन्धनका प्रमुख ३ दल मिल्दा प्रदेश सांसदको संख्या ३४ हुन्छ।

प्रदेशसभामा सत्ता गठबन्धन बाहिर रहेको एमालेले भने १० सिट मात्र पाएको छ। यो चुनावबाट उदाएको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको ७, एकजना स्वतन्त्र छन् भने राप्रपाले १ सिट पाएको छ।

नेताहरू लागे काठमाडौंतर्फ

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबाट मुख्यमन्त्री र मन्त्रीका आकांक्षी प्रदेशसभा सदस्यहरू शपथ ग्रहण नगर्दै संघीय राजधानी काठमाडौं पुगेका छन्। उनीहरूले भेटघाट तथा छलफललाई तीव्रता दिइरहेका छन्।

अहिलेको सत्ता गठबन्धन कायमै रहेर आगामी सरकार गठन हुने संकेत देखिएका वेला सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका नेताहरू सत्ताकेन्द्रित राजनीतिमा व्यस्त छन्।

गठबन्धनमा हुने भागबण्डाका आधारमा प्रदेशको नेतृत्व कुन दलले पाउँछ र अन्य दलको सरकारमा कस्तो सहभागिता रहन्छ? भन्ने प्रष्ट नभइसकेको अवस्थामा आ–आफ्नो ढंगले नेतृत्व पाउनुपर्ने लबिङमा उनीहरू छन्।

नेतृत्वमा कांग्रेसको दाबी

गठबन्धनको सरकार बन्ने लगभग पक्कापक्की जस्तै हुँदा मुख्यमन्त्री को हुने? आम चासोको विषयसमेत बनिरहेको छ। अहिले यहाँ गठबन्धनकै दलहरूभित्र मुख्यमन्त्रीको लागि मारामार परिरहेको छ।

खासगरी कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने रटान लगाइरहेको छ। सुदूरपश्चिम प्रदेशका महामन्त्रीसमेत रहेका अछामबाट प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्रीका दाबेदार मेघराज खड्का आफूहरूको सरकार बन्ने बताउँछन्।

‘माओवादीले यसअघि प्रदेश सरकार चलाइसकेको छ। अब गठबन्धन कायम रहँदा पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्छ। हाम्रो सरकार बन्छ, मुख्यमन्त्रीमा मेरो स्वाभाविक दाबी छ। पहिलो आधा कार्यकाल भए पनि हामीले नै सरकार गठन गर्नुपर्छ भन्ने सबैको साझा बुझाइ छ’, उनले भने।

कांग्रेसभित्रै मुख्यमन्त्री बन्नेको लर्को

उसो त काँग्रेसबाट दर्जनभन्दा बढी सांसद मुख्यमन्त्रीका लागि दौडधुप गरिरहेका छन्। कैलालीबाट निर्वाचित प्रकाशबहादुर देउवा र कमल शाह, कञ्चनपुरबाट निर्वाचित बहादुर थापा र देवानसिंह विष्टका साथै अछामबाट निर्वाचित मेघराज खड्का लगायतले अहिले मुख्यमन्त्रीका लागि लबिङ गरिरहेका छन्।

उनीहरूमध्ये प्रकाश देउवाको सम्भावना बलियो रहेको काँग्रेस वृत्तमा चर्चा छ। उनी आरजु देउवा राणाका पूर्वपिए पनि हुन्। यतिमात्र होइन उनी प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत हुन्।

तर, अन्यलाई पनि कम आक्न नमिल्ने देखिएको छ। माओवादी केन्द्रले नेकपा हुँदै पाँचदलीय गठबन्धन बनाएर कांग्रेस सरकारमा जाँदा समेत ५ वर्ष सुदूरपश्चिम सरकारको नेतृत्व गरिसकेकाले अब कांग्रेसलाई छाड्नुपर्ने तर्क काँग्रेस नेताहरूको छ।

माओवादी पनि मुख्यमन्त्रीको दौडमा

यता, माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गरेको छ। माओवादीका नेताहरू पनि नेतृत्व पाउने अडानबाट टसमस नहुने मुद्रामा देखिएका छन्।

निर्वाचनअघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा पुगेर सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीबाटै बन्ने बताएका थिए। उनले माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्ने घोषणा नै गरेका थिए। माओवादीबाट खगराज भट्ट मुख्यमन्त्रीका चर्चित उम्मेदवार हुन्।

‘हिजो फरक प्रसंगमा फरक–फरक गठबन्धन थियो। सोहीअनुसार कांग्रेस पनि हाम्रो पार्टीको नेतृत्वको सरकारमा सामेल भएको हो,’ भट्ट भन्छन्, ‘सुदूरपश्चिममा गठबन्धनमा हाम्रो समझदारी भएको अवस्था हो। त्योअनुसार यो चुनावमा अघि बढेका थियौं। त्यसैले शीर्ष तहले माओवादीलाई सुदूरपश्चिमको नेतृत्व दिने कुरा गरेको छ। नेताहरू आफ्नो अडानमा कायम छन् र हुन्छन् भन्ने लाग्छ।’

मैदानमा एकीकृत समाजवादी पनि

उता एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ। अहिले सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको समाजवादीका सांसद दीर्घ सोडारी बताउँछन्।

सोडारी अहिले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पनि हुन्। गठबन्धनको भागबन्डा गर्दा आफूले मुख्यमन्त्री पाउने उनको विश्वास छ।

‘हाम्रो पार्टीले गठबन्धनमा हुने भागबण्डाका क्रममा सुदूरपश्चिमको नेतृत्व पाउनुपर्छ भनेर प्राथमिकतामा राखेको छ,’ उनी भन्छन्, ‘यस अर्थमा सुदूरपश्चिमको नेतृत्वमा हाम्रो सशक्त दाबी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.