|

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू ठाडोभर्‍याङस्थित सडकमा बा.१ प ७६३ नम्बरको पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नम्बरको मोटरसाइकल आपसमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ कुम्हरौलमा बा.१२ च ५३८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ हरैया बस्ने श्रीदेव महराकी छोरी ६ वर्षीया राखी महराको बुधबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी मेडिकल रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी कारचालक मिथिला नगरपालिका-४ बस्ने ३२ वर्षीय विनोदकुमार महतो कोइरीकी छोरी १० दिनकी आरुषी कुमारी महतोको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ। कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनुषा, मिथिला नगरपालिका-७ ढल्केवरमा बुधबार राति भएको सवारी दुर्घटनामा प्र.२-०२-००३ प ३८४३ नम्बरको मोटरसाइकल चालक महोत्तरी सितापुर भंगहा नगरपालिका-४ बस्ने २३ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको छ। सोही ठाउँमा प्र.३-०१-००६ ख ०६८४ नम्बरको बसमा ठोकिएर पुन: बा.५ ख ५२७४ नम्बरको हाइसमा समेत ठोकिएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो।  हाइस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सिरहाको धनगढी नपा-९ जिरोमाइलमा बा.१९ च ३९६६ नम्बरको गाडी र बा.५४ प ४७३२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ लखनपुर बस्ने ३८ वर्षीय देवदत्त राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ बौध पोलिक्लिनिक जिरोमाइल धनगढीमा सामान्य उपचारपछि थप उपचारका लागि बीएनसी अस्पताल बिर्तामोड झापामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो  हाल फरार गाडी चालकको प्रहरीले खोजी  गरिरहेको छ।

यसैगरी पर्वतको जलजला गाउँपालिका-८ नाइलीवाङमा ध.१ ख ४९४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय जुठेबहादुर दमैको बिहीबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी उदयपुरको  त्रियुगा नगरपालिका-१३ किरात चोकमा लु.८२ प ६५३३ नम्बरको मोटरसाइकल रोकी राखेको ना.१ ख ७७०० नम्बरको टिपरमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका-६ नेपालटार बस्ने २९ वर्षीय पवन रोकाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा गतराति मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.