|

पर्वत : शान्ति स्थापनार्थ हाइटीमा पुगेको नेपाली सेनाको टोली सन २०११ मा दक्षिण सुडान पुगेको थियो। त्यस यता निरन्तर दक्षिण सुडानमा खट्दै आएको नेपाली सेनाको आठौँ डफ्फा पुगेको छ।

सुरुमा एउटा मात्रै बटालियन तैनाथ रहेको भए पनि अहिले नेपाली सेनाको दुई बटालियन र एक कम्पनी शान्ति सैनिकको रूपमा सुडानमा रहेका छन्। मिसन अन्तर्गत बटालियन तथा स्टाफ र अब्जर्भर गरी करिब एक हजार सात सय भन्दा बढी नेपाली सैनिक दक्षिण सुडानमा रहेका छन्।

संयुक्त राष्ट्रसंघले विद्धमान हिंसात्मक गतिविधि तथा अस्थिर राजनीतिक अवस्थालाई निष्कर्षमा पुर्‍याउन र शान्ति स्थापना कार्यलाई प्रभावकारी बनाउन दक्षिण सुडानलाई छ वटा ‘सेक्टर’ मा विभाजन गरेको छ। राजधानी जुबामा ‘फोर्स हेडक्वार्टर’ राखेर शान्ति मिसनमा खटिएका सैनिकहरू परिचालित हुने गरेका छन्। दक्षिण सुडानमा विभिन्न देशका गरेर करिब १३ हजार भन्दा बढी सैनिकहरू खटाइएका छन्।

विभिन्न देशका सैनिकहरूको बिचमा नेपाली सेनाको लोकप्रियता भने बेग्लै छ। संयुक्त राष्ट्र संघले दिएको लक्ष्य अनुसार काम गर्नुको अलावा नागरिकमैत्री व्यवहारका कारण नेपाली सेनाले पाएको चर्चामा अरू राष्ट्रका सैनिकहरूले पनि खुसी व्यक्त गर्ने गरेका छन्।

जुबामा नेपाली सैनिकको ‘फोर्स रिजर्भ बटालियन’ को जिम्मेवारी पूरा गर्न लागेको चन्दननाथ गण (शान्ति सेना) को एक कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघमा भारतबाट प्रतिनिधित्व गर्ने फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल मोहन सुब्रामनियनले नेपाली सेनाको बहादुरीको प्रशंसा गरेका थिए। एउटै भावना र एउटै लक्ष्यबाट नचुक्ने नेपाली सेनाको बहादुरीले सबैलाई खुसी बनाएको उनको भनाइ थियो।

दक्षिण सुडानमा खटाइएका शान्ति सेनाले मुख्य गरी चार वटा कामहरू गरेको हुनुपर्ने गरी संयुक्त राष्ट्र संघले जिम्मेवारी दिएको छ। जसमा गैह्र सैनिक व्यक्ति तथा सर्वसाधारण जनताको सुरक्षा, मानवीय सहायताहरूको कार्यमा अनुकूल वातावरण सिर्जना गर्नु, शान्ति सम्झौता तथा शान्ति प्रक्रियाको कार्यान्वयनको लागि मद्दत गर्नु र मानव अधिकार उल्लंघनका घटनाहरूको निगरानी जाँच तथा प्रतिवेदन पेस गर्नु रहेका छन्। तर नेपाली सैनिकले यी सहित स्थानीय नागरिकको जनजीविकालाई सहज बनाउने गरी गरेका प्रयासले नेपाली सैनिक लोकप्रिय बनेको छ।

नेपाली शान्ति सैनिकले मिसनमा खेलेको भूमिकाको मिसनले मात्र नभई दक्षिण सुडानका स्थानीयहरूले पनि प्रशंसा गर्ने गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी सरोज राणा बताउँछन्। मिसनमा खटेका नेपाली सैनिकहरू अब्बल र पेसेवर शान्ति सैनिकको रूपमा आफ्नो पहिचान बनाउन सफल हुनु नेपालको गौरव भएको उनको भनाइ छ।

 स्थानीय नागरिकको जीवनयापनलाई सहज बनाउने गरी गरेका कामले नेपाली सेना सेनाका रूपमा मात्र नभई स्थानीयको सारथिको रूपमा काम गर्दै आएकाले नेपाली सेना रुचाइएको हुन सक्ने राणा बताउँछन्।

‘हामीलाई आएको पानी शुद्धीकरण गरेर स्थानीय नागरिकका लागि बनेका पानी ट्यांकीहरूमा बेला बेलामा पानी भरिदिने गरेका छौँ। उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्न सकियोस् भनेर नेपाली सैनिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू लगेर उनीहरूको उपचार गरेका छौँ। यहाँका विद्यालयका भवन र छाना निर्माणमा हामीले योगदान गरेका छौँ’, प्रमुख सेनानी राणा भन्छन्, ‘यहाँका नागरिक स्वस्थ रहुन्, द्वन्द्वको चिन्तामा नपरून् भनेर खेलको विकासका लागि उनीहरूसँगै मैत्रीपूर्ण खेलहरू खेल्ने गरेका छौँ। खेलकुदका सामग्रीदेखि स्टेसनरी सामग्रीहरू पनि बाँडेका छौँ।’

मिसनमा रहेका शान्ति सैनिकहरू जागिरे मानसिकतामा नरही शान्ति स्थापनामा आफ्नो केही न केही योगदान रहोस् भन्ने उद्देश्यका साथ तैनाथ भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेना र समग्र नेपाललाई परिचित गराई देश र जनताको गौरव बढाउन सेनाबाट योगदान पुगेको पनि उनको भनाइ छ।

नेपाली शान्ति सैनिकले स्थानीय जनतालाई सहयोग पुर्‍याउन ‘कम्युनिटी सपोर्ट एक्टीभिटीज’ मार्फत विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आएको छ। सेनाले गर्ने स्थानीय जनताको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, खेलकुद तथा शैक्षिक सामाग्री वितरण, स्वास्थ्य तथा सर–सफाइका सामानहरू वितरण, शुद्ध पिउने पानी वितरण, विभिन्न खेलकुद तथा कार्यक्रमहरूको आयोजना, व्यवस्थापन र सहभागिता, विद्यालय मर्मत लगायत विविध क्रियाकलापले सुडानी नागरिकलाई सहयोग पुगेको छ।

यु.एन हाउस नजिकै काम गरिरहेको अवस्थामा भेटिएका स्थानीय नागरिक इमानुअल जेम्सले पनि नेपाली सेनाको प्रशंसा गरे। आफू नेपाली सैनिकको नजिकै रहेका कारण उनीहरूको व्यवहार नियाल्न पाएको बताउँदै उनले शान्तिका लागि नेपाली सैनिक महत्त्वपूर्ण रहेको बताए।

‘यो सत्य हो की नेपाली सेनाले साउथ सुडानमा धेरै वर्षदेखि काम गरिरहेका छन्। मलाई नेपाली सेनाको व्यवहार सबैभन्दा राम्रो लाग्छ। उनीहरू आर्मी हुन तर उनीहरूमा माया छ’, उनले थाहाखबर भने, ‘हामीलाई माया गरेको देख्दा, हाम्रा लागि काम गरेको देख्दा हामीलाई खुसी लाग्छ। उनीहरूले हाम्रा दैनिक क्रियाकलापमा सघाउँदै आएको देख्दा गर्व लाग्छ। हामीलाई बेला बेलामा शुद्ध खानेपानीको आपूर्ति नेपाली सेनाले गर्दै आएको छ। उनीहरूको डाक्टरहरू आएर हाम्रा बस्तीमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्ने गरेका छन्। उनीहरू हाम्रै दाजुभाइ जस्तो लाग्छन्।’

दक्षिण सुडानमा खटिएका नेपाली सेनाले गरिरहेको कामहरूको अवलोकनमा पुगेका नेपाली सेनाका प्रमुख सेनानी सूर्य अधिकारी नेपाली सेनाको कामले देशको गौरवलाई कायमै राखेको बताउँछन्। द्वन्द्व र राजनीतिक अस्थिरताको दलदलमा फसेको देशमा पुगेको अर्कै देशको सैनिकले स्थानीयसँग कुशल सम्बन्ध निर्माण गर्नुले नेपालीको भावना कस्तो छ भनेर देखाउने उनको भनाइ छ।

दक्षिण सुडानमा नेपालकै सशस्त्र प्रहरी बलको ‘फर्मड पोलिस युनिट’ तथा सशस्त्र र नेपाल प्रहरीबाट ‘यु.एन पोलिस’ मा गएकाहरू गरी दुई सय जना भन्दा धेरै कार्यरत रहेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.