भूमि फिर्ता र झुट्ठा मुद्दा खारेज गर्न माग

|

धनगढी : भारतीय पक्षले महाकाली नदी किनारमा निर्माण गरेको बाँध नहटाएपछि दार्चुलामा सोमबार प्रदर्शन गरिएको छ।

भारतविरुद्ध नाराबाजी तथा विरोध प्रदर्शन गरिएको हो। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयको सहभागितामा आज दिनभर भारतविरोधी प्रदर्शन गरिएको थियो।

जिल्लाका विभिन्न स्थानबाट ओइरिएका सयौँ कार्यकर्ता र स्थानीय भारतविरोधी नारा लगाउँदै निर्माणाधीन तटबन्ध क्षेत्रमै पुगेका थिए। उनीहरूले भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका हुन्।

भारतीय थानामा ७ जना नेपालीमाथि लगाएको झुट्ठा मुद्दा फिर्ताको मागस्वरुप पनि आफूहरू विरोधमा उत्रिएको उनीहरूले बताएका छन्। 

केही दिनअघि महाकाली क्षेत्रमा भारतीयहरूले नेपालतर्फ ढुंगा प्रहार गर्दा ४ जना बालक घाइते भएका थिए। तर भारतीय पक्षले नेपालीहरूले ढुंगा प्रहार गर्दा कामदार घाइते भएको भन्दै ७ जनामाथि मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित भएका छन्। भारतले सीमा क्षेत्रका नेपालीमाथि ज्यादती गरेको बताउँदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन्।

उनीहरूले भारतद्वारा अतिक्रमित दार्चुलाको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत गरेका छन्। नेपाली प्रशासन भारतसामु निरीह भएको उनीहरूको आरोप छ।

प्रदर्शनपछि केही बेर दार्चुला सदरमुकाम क्षेत्रमा तनाव उत्पन्न भएको बताइएको छ। तर जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक तर्क पाण्डेयले भने सामान्य विरोध प्रदर्शन मात्र भएको दाबी गरे।

पाण्डेयले थाहाखबरसँग भने, ‘विप्लवको पूर्वघोषित कार्यक्रम मात्र भएको हो। अन्य कुनै घटना भएका छैनन्। आजकल विप्लवका कार्यकर्ताहरूले सामान्य विरोधका नियमित कार्यक्रमहरू गरी नै राखेका छन्।’ भारतले विवादित क्षेत्रबाहेक अरु स्थानमा मात्र तटबन्ध निर्माण गरिरहेको उनले बताए।

अझै हटाएन भारतले बाँध

नेपालतर्फ महाकालीको धार परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको संरचना १० दिनभित्र हटाउन नेपाल र भारतीय प्रशासनबीच सहमति भएको थियो। भारतले सहमति जनाए पनि कार्यान्वयन भने गरेको छैन। महाकाली नगरपालिका–४ स्थित रिङ्गे ताल क्षेत्रमा तटबन्ध निर्माण गर्दा बनेको बाँध नहटाइएको बताइएको छ।

१० दिन समय बित्दा पनि भारतीय पक्षले महाकालीमा बनाएको बाँध नहटाएको कम्युनिष्ट पार्टीका दार्चुला सचिव लोकेश नेपालीले बताए। ‘भारतले अझैसम्म महाकालीको त्यो बाँध हटाएको छैन। सहमति भयो मात्र भनियो‚ काम भएको छैन,’ उनले भने, ‘सहमति भएअनुसार काम पूरा नहुँदासम्म हामी निरन्तर संघर्ष गर्छौं।’

उनका अनुसार भारतले रिङ्गे ताल क्षेत्रमा थुप्रो लागेर बनेको बाँधले नदीको धार नेपालतिर फर्किएको छ। यसअघि नेपाल र भारतीय प्रशासनबीचको छलफलमा भारतीय पक्ष १० दिनभित्र उक्त बाँधको निकास खोज्न र तटबन्ध विवाद सुल्झाउन सहमत भएको थियो।

मंसिर १८ मा भारतीय पक्षले महाकाली नेपालतिर धकेल्ने गरी एकलौटी तरिकाले तटबन्ध गर्न थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए। त्यसपछि विरोध बढ्ने देखिएकाले सरकारले भारतलाई कूटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनबीच सीमामा भइरहेको तनाव सुल्झाउने सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.