|

काभ्रे : काभ्रेको ‘कर्णाली’ का रूपमा परिचित विकट महाभारत र खानीखोला गाउँपालिकाका सर्वसाधारणमा बिजुली बत्ती बाल्न पाउने आशा बढेको छ।

केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्ने कामले तीव्रता पाएसँगै दुई गाउँपालिकाका नागरिकमा बिजुली बत्तीको उज्यालोमा बस्न पाउने आशा बढेको हो।

महाभारत र खानीखोला गाउँपालिका २०७४ अघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा समेत थिएनन्। अघिल्लो स्थानीय तहको निर्वाचनपछि भने निर्वाचित जनप्रतिनिधिले केन्द्रीय प्रसारण लाइनका लागि पहलकदमी लिएपछि विद्युत् विस्तारको काम अघि बढेको हो। 

‘०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सांसदलाई महाभारतको बनखु लागेर डाँडापारिका समस्या लिपिबद्ध गरेर बुझायौँ’, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने, ‘त्यहाँबाट फर्केपछि प्रचण्डकै पहलमा नेपाल सरकारबाट एक अर्ब ५६ करोड रकम विनियोजन भएसँगै विद्युतको काम प्रारम्भ भयो।’     

त्यसअघि डाँडापारि सोनाम ल्होछार मनाउन पुगेका माओवादी केन्द्रका नेता वर्षमान पुनलाई बिजुली बत्ती माग्दै स्थानीयले माग पत्र बुझाएका थिए। 

केन्द्रीय प्रसारण लाइन महाभारत र खानीखोलाका सबै वडामा पुगिसकेको छ। शाखा लाइन विस्तारको काम भने धमाधम भइरहेको छ। दुवै गाउँपालिकाले यही वर्षभित्र सबै घरमा बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिएका छन्। 

अध्यक्ष जिम्बाका अनुसार अघिल्लो बजेटले अधुरो रहेका आयोजना पूरा गर्न पुनः ३० करोड रकम विनियोजन भएको छ। उनले पहिलो चरणमा महाभारत–३ फोक्सिङटार–४ र ५ बुढाखानीका सबै घरमा बत्ती बल्ने गरी काम भइरहेको बताए। 

घरमा जडान गर्ने मिटर खरिदका लागि लाग्ने दुई हजार ६८५ मध्ये गाउँपालिकाले एक हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ। ३ वटा वडाका एक हजार ३०० घरधुरीका लागि मिटर बक्स वितरण गरिसकेको जिम्बाले बताए। ‘जनतासँग जे प्रतिबद्धता जाहेर गरेको थिएँ’, उनले भने, ‘प्रतिबद्धता वेलैमा पूरा गर्नुपर्छ भनेर म आफैँ लागेको हुँ।’

गाउँपालिकाका वडा नम्बर ६ र ७ मा धेरै कार्य सम्पन्न भएको छ भने वडा नम्वर १, २ र ८ मा धमाधम कार्य भइरहेको उनको भनाइ छ। महाभारत गाउँपालिकामा ३ हजार ३०० घरधुरी छन्।

यस्तै खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले मिटर बक्स खरिदका लागि वडावडामा फाराम संकलन भइरहेको बताए। उनले विकटताका कारण धेरै अभाव झेल्नु परेकाले विद्युत्, खानेपानी जस्ता विकासका आधारभूत आवश्यकतालाई प्राथामिकतामा राखेर काम गरिहेको बताए। 

महाभारत–५ का स्थानीय बुद्धिमान योञ्जनले अब बत्ती आउने आशा पलाएको बताए। स्थानीय यमबहादुर रानाले गाउँमा विद्युत प्रधिकारणका इन्जिनियरसहितको टोली तार तान्न गाउँमा आएपछि सपनाबाट ब्युँझेकोजस्तो अनुभूति भएको बताए। 

तुलनात्मक रुपमा खानीखोलामा भन्दा महाभारत गाउँपालिकामा विद्युतको काम तीव्र गतिमा भइरहेको छ। महाभारतमा प्रसारण लाइन विस्तार कार्य सम्पन्न भएपछि मिटर बक्स वितरण र फिटिङ गर्ने कार्यले तीव्रता पाएको हो।

लघु जलविद्युत, सोलार तथा अन्य वैकल्पिक उपायको भरमा बस्न बाध्य स्थानीय मुहारमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाउने भएपछि खुशी भएका छन्। ‘मलाई त गाउँमा कहिल्यै बिजुली आउँदैन जस्तो लाग्थ्यो, बिजुली बत्ती त नेपाल (काठमाडौं)मा मात्रै होला भन्ने लागेको थियो’, स्थानीय ७३ वर्षीय साइँला लामाले खुशी हुँदै भने, ‘अब त गाउँ नै उज्यालो हुने भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.