|

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरे। 

मुख्यमन्त्रीबाट राजीनामा नदिई संघीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भयो। तर यो दोहोरो भूमिकाको प्रमुख कारक संवैधानिक बाध्यता भएको संविधानविद्ह‍रुको भनाई छ। 

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेसँगै उनको प्रदेशसभा सदस्यको पद स्वतः रिक्त हुन्छ। प्रदेशसभा सदस्य नभएको व्यक्ति कसरी मुख्यमन्त्री रहिरहन सक्छ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । तर संविधानले यस विषयमा स्पष्ट व्यवस्था नगर्दा अहिलेको समस्या आइलागेको संविधानविद् टीकाराम भट्टराई बताउँछन्। 

‘प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेपछि उहाँ अब प्रदेशसभा सदस्य रहनुभएन’, भट्टराईले थाहाखबरसँग भने, ‘तर राजीनामा दिए पनि नदिए पनि अर्को मन्त्रिपरिषद गठन नहुन्जेलसम्म उहाँ नै मुख्यमन्त्रीमा रहनुपर्ने बाध्यतामा उहाँ हुनुहुन्छ।’

मुख्यमन्त्रीको मृत्यु भएकोमा बाहेक अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म बहालवाला मुख्यमन्त्रीले नै कार्य संचालन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाे छ। 

अन्योल पैदा गर्ने संविधानका दुई धारा

संविधानको धारा ८७ (३) अनुसार मुख्यमन्त्री पाण्डे स्वतः पदमुक्त हुन्छन्। यो उपधारामा लेखिएको छ, ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस भाग बमोजिम संघीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा संघीय संसदको सदस्य पदको शपथग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।’

यो उपधारा अनुसार पाण्डे स्वतः पदमुक्त भइसकेका छन्। उनले राजीनामा पनि दिइरहनु पर्दैन किनकी उनले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण बिहीबारै गरिसकेका छन्। 

तर संविधानकै धारा १६९ ले भने अर्को मन्त्रिपरिषद् गठन नभएसम्म उनले कार्य सञ्चालन गर्नु पर्ने बाध्यता गरिदिएको छ। न उनले कसैलाई अधिकार प्रत्यायोजन गर्न सक्छन् न कार्य संचालन नगरी बस्न सक्छन्।

संविधनको धारा १६९ (३) मा मुख्यमन्त्री पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने उल्लेख छ।

तर मुख्यमन्त्रीको मृत्यु भएमा मात्रै अर्को मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था छ।

दोधारमा मुख्यमन्त्री

संविधानले अन्योल पैदा गरेपछि मुख्यमन्त्री पाण्डे पदबाट राजीनामा दिने कि नदिने भन्ने बारे दोधारमा परेका छन् । 

थाहाखबरसँगको कुराकानीमा पाण्डेले आफू पदबाट राजीनामा दिन तयार रहेको तर त्यसपछि प्रदेश सरकारविहीन बन्ने अवस्था आउने बताए।

शुक्रबार राजीनामा दिनैको लागि भनेर मुख्यमन्त्री पाण्डे बिहीबार राती नै हतारहतार काठमाडौंबाट हेटौंडा फर्किएका थिए। 

उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार राजीनामा दिनेबारेमा अनौपचारिक रुपमा जानकारी पनि गराएका थिए । ‘मैले आज राजीनामा दिने भनेर तयारी पनि गरेको थिएँ । तर, फेरि संविधान पढ्दा र विज्ञहरुसँग सल्लाह गर्दा यसबारेमा संविधानमा केही उल्लेख नगरिएको हुँदा अहिले मैले नै काम चलाउ सरकारको नेतृत्व गर्नुपर्ने देखिएको छ’,पाण्डेले भने। 

उनले आफूले महान्यायाधिवक्तासँग पनि यस विषयमा कुरा गर्दा उनले पनि पदबाट राजीनामा दिनुपर्ने नबताएको दाबी गरे ।

आफूले पदबाट राजीनामा गरे पनि काम चलाउ अवस्थामा सरकारको नेतृत्व गर्नै पर्ने भएकोले राजीनामा दिनु नदिनुको औचित्य नभएको उनको भनाई छ। 

पाण्डेले भने ‘संविधानमा नै व्यवस्था भएअनुसार म यथावत् छु’, पाण्डेले भने, ‘संविधानले मुख्यमन्त्रीको पद रिक्त हुने पाँचवटा व्यवस्था गरेको छ। राजीनामा, प्रदेशसभा सदस्य नरहेमा, मृत्यु भएमा, विश्वासको मत प्राप्त नभएमा र अविश्वासको प्रस्ताव पारित भएमा । अहिले मेरो जस्तो अवस्थामा के गर्ने भन्ने व्यवस्था संविधानमा प्रस्ट छैन।’

उनी पदमा बहाल रहेपनि कामचलाउ भइसकेकाले महत्वपूर्ण निर्णय भने गर्न नपाउने संविधनविद् भट्टराईले बताए।

एकैपटक प्रदेशमा मुख्यमन्त्री, संघमा मन्त्री !

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डेले आफू प्रदेशको मुख्यमन्त्री र संघको मन्त्री पनि बन्ने अवस्था आउनसक्ने बताए। सत्ता गठबन्धनमा रहेको समाजवादी संघमा उनकै नेतृत्वमा सरकारमा जाने निश्चितप्रायः छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० सम्ममा प्रधानमन्त्रीमा दाबी गर्न समय दिएकाले अबको २/३ दिनमा केन्द्रमा सरकार बनिसक्ने देखिन्छ। तर,बागमती प्रदेशको नवनिर्वाचित सांसदहरुको शपथग्रहण नै पुस १४ गतेको लागि राखिएको हुँदा त्यसअघि नयाँ सरकार बन्ने सम्भावना देखिँदैन।

सोही परिस्थितिलाई मध्यनजर गर्दै पाण्डेले आफू एकैपटक दुवै सरकारमा रहनुपर्ने अवस्थासमेत आउन सक्ने बताएका हुन्। 

‘भोलिको दिनमा म संघीय सरकारको मन्त्री पनि हुने बागमती प्रदेशको मुख्यमन्त्री पनि हुने परिस्थिति नआउला भन्न सकिँदैन। प्रदेशमा सांसदहरुको शपथग्रहण नै नभएको र अर्को सरकार नबनेको खण्डमा मैले नै काम चलाउ सरकारको नेतृत्व गर्नुपर्छ ।’ उनले थपे।

उनले आफूले जतिसक्दो छिटो प्रदेशमा नयाँ सरकार गठनको लागि भने पहल गर्ने बताए । 

०७४ को निर्वाचनमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले ०७८ कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री सम्हालेका हुन्। पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.