|

पोखरा :  घाम अस्ताइसकेपछि पोखरा अलि चिसो भएको छ। हिमाल छोएर आएको हावा फेवाताल हुँदै बराही घाट हुँदै बहेको छ। जहाँ पुराना आधुनिक नेपाली गीत गाइँदै छ र सुन्नेहरू गीत मात्र होइन नेपाली आधुनिक गीतको पछिल्लो सय वर्षको इतिहास पनि सुनिरहेका छन्। 

पोखरामा जारी दशौँ लिट्रेचर फेस्टिभलको दशौँ संस्करणको दोस्रो साँझ शुक्रबार वि.सं. १९६५ देखिका गीतहरू गाइयो। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रत्यक्ष वाद्यवादनसहित प्रस्तुति दिए। 

नेवारी गीत राजमति खुमतिबाट सुरु गरिएको गायन शृंखलामा विभिन्न कालखण्डमा रेकर्ड भएका ऐतिहासिक महत्व बोकेका गीतहरू गाइयो।

वि.सं. २००० भन्दा अगाडि रेकर्ड भएको मेलवादेवीको सवारी मेरा रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइलाको रातो ठेकी नारन लगायतका गीत पहिलो चरणमा गाइयो। 

वि.सं.२००७ साल अघि प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनमा धेरै कलाकारहरूले सिर्जनात्मक रुपमा विद्रोह गरे। धेरै मानिसहरूलाई एकतृत गर्ने काम गरे।

कुनै आन्दोलनमा गीतको प्रयोग गर्ने चलन पनि त्यही समयदेखि सुरु भयो। नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिई बोलको गीत त्यसकै उदाहरण हो। रेनुदेवी अधिकारीको स्वरमा रेकर्ड भएको उक्त गीत पनि शुक्रबार प्रस्तुत गरिएको थियो। 

त्यस्तै, अर्को चरणमा प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरू प्रस्तुत गरिएको थियो। जसमा हरिप्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथि, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो। 

२०३० को दशकमा समूह बनाएर गीत गाउने चलनको अभ्यास सुरु भयो। त्यसपछि ४० को दशकमा अझ बढ्दै गयो। राल्फा सांगीतिक समूह, लेकाली सांगीतिक समूह त्यही चरणमा स्थापना भए। राल्फाको गाइ त बाँध्यो ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा हरर तथा लेकाली समूहको मलाई प्यारो लाग्छ लगायतका गीत पनि उक्त कार्यक्रममा प्रस्तुत गरियो। 

यी बाहेक अम्बर गुरुको नौलाख तारा उदाए धर्तीको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो।

पुराना गीत सुनेर दाह्री कपाल फुलेर सेतै भएका ८२ वर्षीय टीकाराम अर्याल आफ्नो बाल्यकाल सम्झन्छन्। त्यो समयमा धेरैलाई गीत सुन्न मन भए पनि सुन्ने माध्यम भने निकै सीमित रहेको उनी बताउँछन्। 

गाउँ भरीमा रेडियो उसैसँग हुन्थ्यो जोसँग धेरै पैसा छ। रेडियो क्यासेट सबैभन्दा पहिला लाहुरेका घरमा आउँथे। रेडियोमा गीत बजेको सुन्नलाई पारि पारि गाउँ पनि पुगिन्थ्यो। प्रजातन्त्र आउनुभन्दा अगाडिकै कुरा सम्झिँदै उनी भन्छन्, मान्छे भेला भएर गाउने चलन त थियो तर रेडियो सुन्दा अर्कै हुन्थ्यो। अहिले अर्कै भयो, लामो समय विद्यालयमा पढाएँ, विद्यार्थीलाई अनुभव सुनाउन पनि काम लाग्यो।
उक्त कार्यक्रममा पुराना नेपाली फिल्मका गीतहरू माइतीघर, गैरी खेतको सरौँति लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। सोमबारसम्म चल्ने महोत्सवको तेस्रो दिन शनिबार सांगीतिक कार्यक्रम, किताब चर्चा, अर्थतन्त्रमाथिको वहस लगायतका दर्जनबढी सेसनहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.