|

काभ्रेलाञ्चोक : जिल्लामा केही समयदेखि पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा खोप लगाएपछि रेबिज नियन्त्रणमा आएको हो।  

गत मंसिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजनियन्त्रणमा आएका वेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डन देउपुरको एक वडामा संक्रमण देखिएको थियो। केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताए। 

मण्डन देउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए। यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ। थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए। उक्त स्थानमा स्थानीय स्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका  छन्। 

यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब १०० स्थानीयलाई रेबिजविरुद्ध खोप लगाइएको छ। महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए।

कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिका वडा नम्बर​ १ को गोकुले र ८ को घर्तीछापका १०० बासिन्दालाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए। मासु खाएका थप स्थानीयवासीको खोजी भइरहेको छ। १५० पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ। 

रेबिज नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत र मण्डनदेउपुरमा अध्ययन भइरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.