|

काठमाडौं  : बितेका ८ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन्।

वैश्विक मौसमको अवस्था हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका ८ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, ‘स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडी’को अध्ययनमा आधारित प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन। वैश्विक तथ्यले यो वर्ष बितेका अन्य वर्षको तुलनामा केही चिसो वर्षका रूपमा गनिएको छ। प्रतिवेदनअनुसार विगत १० वर्षमा कम्तीमा पनि १ डिग्री सेल्सियस तापक्रम बढेको छ। 

सन् १९९३ देखि हालसम्म समुद्रको सतह दोब्बर बढेको अर्को नयाँ रेकर्ड पनि अध्ययनमा उल्लेख गरिएको छ। युरोपेली आल्पस क्षेत्रमा अभूतपूर्व रूपमा हिउँ पग्लने संकेत पनि अध्ययनले गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै विश्व मौसम संगठनका प्रमुख पिटर तालासले भने, ‘जति धेरै गर्मी बढ्यो, त्यति नै खराब असरहरू देखिन्छ।’

उनका अनुसार अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको यति उच्च स्तर छ कि पेरिस सम्झौतामा उल्लिखित १ दशमलव ५ डिग्री सेल्सियसले त्यसलाई नियन्त्रण गर्न सक्दैन। 

बढ्दो तापक्रमका कारण हिमनदी र ताजा पानीको सुरक्षा गर्न ढिलाई भइसकेको उनले प्रष्ट पारे। यो वर्षको जलवायुको अवस्था विश्लेषण गर्दै उनले चरम गर्मी र खडेरी, मौसम र जलवायुसम्बन्धी प्रकोपका कारण अर्बौं रकम खर्च हुनुका साथै विश्वका लाखौँ मानिस प्रभावित बनेको दाबी गरे।

सन् २०२२ मा बढ्दो तापक्रम, कारण र यसले निम्त्याएका विभिन्न प्रकोपलाई बेलायती समाचार संस्था रोयटर्स तस्वीरमार्फत सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.