|

धनकुटा : ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०२३ विश्वभर मनाइँदै छ। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि नेपाल आउने विदेशीले प्रयोग गर्ने गरेका छन्। यो संवत् विभिन्न देशले चलाउने भएकाले विश्वभर मनाइन्छ।

यसै अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा सोमबारसम्म सञ्चालन हुनेछ। २०६९ सालदेखि वार्षिक आयोजना हुँदैआएको महोत्सव कोभिड १९ का कारण २०७७ मा सञ्चालन हुन सकेको थिएन।

नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लागेको छ। विशेष गरी भारतबाट पिकनिक मनाउन तथा रमाइलो गर्न हजारौँ पर्यटक भेडेटार आएका छन्। छिनछिनमै मौसम परिवर्तन हुने विशेषता रहेको भेडेटारमा भारतीय पर्यटक देखिन थालेका छन्।

भेडेटारको नमस्ते झरना, चाल्र्स प्वाइन्ट, नाम्जे, डाँडाबजारको ध्वजेडाँडा, चौबीसे गाउँपालिकाको रानीताल लगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने पर्यटकको बाक्लो उपस्थिति छ। भेडेटारमा पूर्वी तराईका जिल्लाका आन्तरिक पर्यटक पनि आएका छन्।

यसपटक फुड फेस्टिभल शुरु शनिबार भएको र आइतबार पनि भारतमा बिदा भएकाले भारतीयलाई भेडेटार आउन सहज भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। भेडेटार तथा आसपासका क्षेत्रमा पर्यटक आएसँगै होटल व्यवसायीलाई भ्याई नभ्याई भएको छ भने नमस्ते झरना र रानीतालमा पिकनिक मनाउन आउनेहरूको संख्या निकै रहेको राईले बताए।

जाडो याममा भेडेटार आउने पर्यटकको संख्या घट्न नदिन र नयाँ वर्षमा रमाउन चाहने पर्यटकलाई आकर्षित गर्न फुड फेस्टिभल आयोजना गर्ने गरिएको छ। भारतबाट नयाँ वर्ष मनाउन सयौँको संख्यामा सपरिवार भारतीय आइपुगेको होटल एसोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन्। 

अत्यधिक राम्रो र छोटो दूरी भएकाले भेडेटार पर्यटकको रोजाइमा पर्ने गरेको छ। नयाँ वर्ष मनाउन पूर्वी नेपाल आएपछि भेडेटारका बारेमा सुनेपछि प्रत्यक्ष रूपमा अवलोकन गर्न र यहाँको मनोरम दृश्यावलोकन गर्न आइपुगेको पन्जाबबाट आएका मिलेशकुमारले बताए। भेडेटारको मौसम र रमणीय दृश्यले नयाँ वर्ष मनाउने योजना अपेक्षाभन्दा पनि बढी मनोरञ्जन भएको उनले बताए।

महोत्सवका लागि बजार क्षेत्रमा आकर्षक सजावट गरिएको छ। तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसँगै टुर प्याकेजमा ५ देखि ३० प्रतिशतसम्म छुट र होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था छ।

महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुमाइनेछ।

भेडेटारमा केही वर्षयता साताको अन्तिम दुई दिन शनिबार र आइतबार आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो लाग्छ। त्यसमा पनि ग्रेगोरियन नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने हुँदा पर्यटन क्षेत्रमा उत्साह देखिएको व्यवसायी बताउँछन्।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.