|

विराटनगर :  हरेक क्रान्ति वा आन्दोलनमा जनता जागृत गर्ने एउटा गीत छ:

हातमा कलम हुनेहरू कलम लिएर उठ

बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ

गाउँगाउँबाट उठ बस्ती बस्तीबाट  उठ यो देशको मुहार फेर्नलाई उठ’

सहर, बजार गाउँका सामन्त र शासकको अन्त्यका लागि नेपाली चलचित्र बलिदानको गीत जनयुद्धमा होमिने धेरैका लागि प्रेरणा नै बनेको थियो।  र अभाव, थिचोमिचोको अन्त्यसँगै समानताको जग बसाउन माथिको गीत सुनेर हजारौँ जनयुद्धमा होमिए। त्यही हजारौँ मध्ये एकमा संखुवासभाका बाबुराम राई (विवश) प्रतिनिधि पात्रका रूपमा पर्छन्।

राजतन्त्र अन्त्यसँगै  जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ माओवादी जनयुद्धमा जाने तयारीमा  रहँदा  राईले पनि परिवार र आफ्नो ज्यान जोखिममा राखेर  जनयुद्धकालमा १८ वटा मोर्चामा लडाइँ लडेका थिए।  त्यही लडाइँमा परी  घाइते भएका  उनी यतिबेला सिकिस्त बिरामी परेका छन्।

उनलाई हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि ल्याइएको छ।  व्यवस्था परिवर्तनमा हिँडेका उनी  आफ्नै अवस्था परिवर्तन गर्न सकेका छैनन्। अर्थात् आर्थिक अभावका कारण सामान्य स्वास्थ्य परीक्षण गर्नसमेत सकेका छैनन्।

युद्धकालमै टाउकोमा एटिवानको छर्रा लागेर सशक्त घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए। सोही कारण उनी औषधि सेवन गरिरहेका थिए। केही दिनदेखि टाउकोबाट लगातार पिप बग्न थालेपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि प्रतिष्ठानले विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरेको हो।

४ दिनअगाडि बिपी प्रतिष्ठान  इमरजेन्सीमा भर्ना भएको उनलाई  आइतबार बिहान न्युरो रेफर गरेको  उनका सहयोगी लविन्द्र खड्काले  बताए।

'अपरेशन गर्नुपर्छ भनेको छ, उहाँसँग सिटी स्क्यान गर्ने पैसासमेत नभएर हामीले केही रकम जम्मा गरेर सिटी स्क्यान चाहिँ गरेका छौँ', उनले भने, दैनिकको बेडचार्ज बुझाउने पैसा पनि उहाँसँग छैन, टाउकोबाट पिप बगिरहेको छ।’

जनयुद्धताका मृत्युलाई नजिकबाट नियालेका उनले यो समयसम्म आइपुग्दा जसोतसो जिन्दगी बाँचिरहेका छन्। जीवनको  ऊर्जाशील उमेर उनले  जनयुद्धमा खर्चिए। युद्धकाल र शान्ति व्यवस्था आइपुग्दासम्म  ९ पटक  जेल जीवन भोगेका उनी  यतिबेला अस्पतालको  शैयायामा छटपटाइरहेका छन्।

 समानुपातिकमा बन्द सूचीमा थिए

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा  माओवादी केन्द्रका तर्फबाट प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको बन्दसूचीमा थिए। तर, अन्तिम चरणमा उनको नाम बन्द सूचीमा नै सीमित भयो।

अर्थात् समानुपातिक सांसदमा चुनिएनन्।  यतिबेला सरकारको नेतृत्वमा पार्टी अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड' छन्।   प्रदेशमा एमाले र माओवादीमा कुन दलको सरकार गठन हुने हो भन्ने छलफल र चर्चाको विषय बन्दै गर्दा राई बाँच्नका लागि अस्पतालमा संघर्ष गरिरहेका छन्।

२०५७ मंसिरदेखि माओवादीले थालेको सशस्त्र युद्धमा  यात्रा आरम्भ गरेका उनकी श्रीमती विमला चौहान (सीमा) जनयुद्धकै बेलामा शहीद भएकी थिइन् भने बहिनी पनि जनयुद्धमा सहभागी भएकी थिइन्।

राई ०६१ सालको फागुनमा मोरङको जाँतेमा भएको भिडन्तमा परी गम्भीर घाइते भएका थिए। त्यसबेला उनको भारतको सिलगुडी लगेर उपचार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.