‘सेवा दिन कन्जुस्याइँ गर्ने कर्मचारीलाई निकालौँ’

|

काठमाडौँ : नेपालगञ्जका सन्तोष रावल मंगलबार काठमाडौँ आइपुगे। महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट उनले शिक्षाशास्त्र संकायबाट स्नातक उत्तीर्ण भएपछि ट्रान्सक्रिप्ट लिन आएका हुन्।

उनी बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगे। उनको दुई घण्टा समय लाइन बसेरै बित्यो।​

थाहाकर्मी बल्खु पुग्दा उनी बैंकको भौचर भरिरहेका भेटिए। ‘यहाँ त सेवा लिन नै नसकिने रहेछ। २ घण्टाभन्दा बढी मेरो समय लाइनमै बित्यो,ट्रान्सक्रिप्टका लागि अब बैंकमा भौचर बुझाउँदै छु। अब त्यहाँ नि कति लाइन बस्नुपर्ने हो‚ थाहा छैन’, उनले भने।



त्रिविले अबको एक सातापछि मात्रै ट्रान्सक्रिप्ट लिन आउनु भनेपछि उनी थप समस्यामा छन्। ‘उता कलेजले ट्रान्सक्रिप्ट लिन यहाँ पठाए, यहाँ छिट्टै काम सकियो भने घर फर्किनु पर्ला भन्ने सोचेको थिएँ, अब थप एक साता होटलमै बस्नुपर्ने भयो’‚ उनले भने। यसरी एक साता बस्नुपर्दा धेरै खर्च लाग्नै भन्दै उनले चिन्ता व्यक्त गरे।

यतिखेर त्रिविमा ट्रान्सक्रिप्ट लिनेको भीड छ। शुल्क बुझाउनकै लागि बढी विद्यार्थीहरू बैंकको काउन्टरमा घण्टौँ लाइन बस्न बाध्य छन्। त्यहाँ त्रिविका नेपाल र ग्लोबल बैंक गरी दुईवटा बैंकमा फाराम शुल्क बुझाउनुपर्ने व्यवस्था त्रिविले गरेको छ।

विभिन्न संकायबाट सेवा लिन पनि विद्यार्थीहरू लाइनमै बस्नुपर्ने बाध्यता छ। कर्मचारीहरू शालीन नभएकाले कहिलेकाहीँ कर्मचारी र सेवाग्राहीबीच चर्काचर्की पनि हुने गरेको देखिन्छ।

कर्मचारीको ढिलासुस्ती, जहाँ पनि लाइनै लाइन

गत आइतबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा नयाँ सरकार गठन भयो। प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्र राहदानी विभाग, यातायात कार्यालयमा लाइन बस्नुपर्ने समस्या व्यवस्थापन गर्न सचिव र विभागीय प्रमुखलाई निर्देशन दिएका छन्।

त्रिविमा शुल्क तिर्न लाइन लागेका विद्यार्थीहरू

व्यवस्थापन नभए कारबाही गर्ने चेतावनी उनको छ। गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा केही दिनअघि स्थलगत अनुगमनमै गए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार यातायात कार्यालयमा अनुगमन गर्न पुगे।

विद्यार्थीहरूले त्रिविमा भोगेको समस्याबारे प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरू अहिलेसम्म मौन छन्। बल्खुमा भेटिएका रावल कर्मचारीले सेवा दिन ढिलासुस्ती गर्ने तर राज्यले यस्ता कर्मचारीलाई कारबाही नगर्दा यो समस्या देखिएको बताउँछन्।

‘म त्रिविमा बढी कर्मचारीकै ढिलासुस्ती देख्छु। म जस्ता कैयौँ विद्यार्थी लाइनमा बसिरहेका छन्‚ कर्मचारीहरूले भने जस्तो छिटो छरितो सेवा दिन सकेनन्’, उनले भने। सेवा दिन कन्जुस्याइँ गर्ने कर्मचारीहरूलाई हटाउनुपर्ने उनले माग गरे।

त्रिविमा अनेकौँ बेथिति हुँदा विद्यार्थी संगठनका नेताहरू पनि मौन बस्ने गरेको उनले बताए। त्रिविले वर्षाैँसम्म नतिजा प्रकाशित नगर्दा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सरोकारवाला निकायले केही चासो नदेखाएको भन्दै उनले गुनासो पोखे।



‘सरकारले यो समस्या समाधानका लागि बेवास्ता गर्ने नै भयो। मै हुँ भन्ने विद्यार्थी संगठनका नेताहरू खै कोही देखिनँ, बाहिर चाहिँ हामी विद्यार्थीको हक अधिकारका निम्ति लड्छौँ, हामी छौँ भन्ने तर यस्तो समस्या भोग्दा चुप बस्ने?, पदका लागि मात्रै बस्ने भए त्यस्ता संगठनहरूको के काम?’, उनले आक्रोश पोखे।  

त्रिवि भन्छ : अनलाइन प्रणालीमा जाँदै छौँ

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको प्रशासन महाशाखाले विभिन्न फारामको शुल्क तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न अनलाइन प्रणाली बन्दै गरेको जनाएको छ। ट्रान्सक्रिप्टको विषयमा एक साता नै समय लाग्ने त्रिविको तर्क छ। 

त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले अनलाइन प्रणालीबाट सेवा दिने त्रिविको नीतिअनुरूप काम हुँदै आएको दाबी गरे।



‘परीक्षा फाराम भर्ने व्यवस्था पनि अनलाइनबाट गरेका छौँ, पाठ्यक्रम विकास केन्द्र समकक्षता निर्धारणलगायत धेरै सेवा अनलाइनबाट उपलब्ध गराएका छौँ, शुल्क बुझाउन बैंकमा केही समय लाइनमा बस्नुपर्ने समस्या छ। यसको पनि विकल्प खोजेका छौँ। छिटै यो समस्याको समाधान निकाल्छौँ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.