|

विराटनगर : माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले आइतबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठकले एमालेलाई समर्थन गरेर सरकारमा जाने निर्णय गरेको जानकारी दिए।

सोहीअनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।

४ बजे मुख्यमन्त्रीका लागि दावी पेश गर्न माओवादी केन्द्र, जसपा र राप्रपासहितको समर्थन लिएर मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगे। सोही दिन उनी प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भए।

कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्न जानुअगाडि आगामी ५ वर्ष यही गठबन्धनको सरकार कायम हुने बताएका थिए भने मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रसँग आलोपालो गर्ने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा घुमाउरो तरिकाले कार्कीले त्यसलाई स्वीकारेका थिए।

एमाले र माओवादीबीच गठबन्धन गरेर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने सहमति बन्दा आलोपालोको सहमति भएको थियो। प्रदेश सरकारहरूमा पनि आलोपालो गर्ने सहमति शीर्ष तहमै भएको बताइन्छ। तर आज अर्थात सोमबार माओवादी केन्द्रले भने एक्कासी सरकारमा नजाने निर्णय गरेको छ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि  प्रदेश १ को मुख्यमन्त्रीमा दावी थियो तर शीर्ष नेताहरूबीच पहिलो चरणमा कार्की मुख्यमन्त्री बन्ने र दोस्रो चरणमा आङ्बो मुख्यमन्त्री बन्ने सहमति भएको बताइए पनि आइतबारसम्म नेताहरूले कुनै औपचारिक प्रतिक्रिया दिएका  थिएनन्।  

संघका शीर्ष नेताले प्रदेशमा नेतृत्व बाँडफाँडका विषयमा गरेको निर्णयप्रति भने माओवादी केन्द्रले असहमति जनाउँदै सरकारमा नजाने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन्।

सत्ता साझेदार दलहरूको शीर्ष तहको बैठकले गरेको निर्णयमा गम्भीर असहमति रहेको बताउँदै उनले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वप्रतिबद्धता अनुसार निर्णय हुनुपर्नेमा जोड दिए।

‘हाम्रो पार्टी प्रदेश कमिटी र संसदीय दलले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय लिएको थियो‚’ उनले भने, ‘गठबन्धनका क्रममा त्यो सम्भव नभए कम्तिमा आलोपालो सरकारको नेतृत्व हुनुपर्छ भन्ने कुरामा हामी र हाम्रो पार्टीको नेतृत्व एकमत थियो।’

प्रधानमन्त्रीसँग भेटेर कुरा गर्दा पनि सके आफ्नै नेतृत्व नभए आलोपालो गर्ने तय भएको बताउँदै उनले एकाएक प्रदेशको नेतृत्व पूरै अवधि एमालेलाई दिने कुरा भएपछि तत्काल सरकारमा नजाने निर्णय लिएको प्रष्ट पारे।

नेतृत्वले दिएको आलोपालोको प्रतिबद्धताविपरीत सम्झौता भएपछि प्रदेशको अपमान भएको महसुस गर्दै नेतृत्वलाई आलोपालोका विषयमा आधिकारिक धारणा दिन सुझाएको उनले बताए।

नेतृत्वले मौखिक नभएर आधिकारिक अर्थात लिखित रुपमा आलोपालोको धारणा तयार पारे सरकार गठनको तयारी गर्ने उनले बताए। त्यसो त मुख्यमन्त्री दावी गर्नुअगाडि मुख्यमन्त्री कार्की र आङ्बोबीच छलफल भएको थियो।

उनीहरूबीचको भेटवार्ताका विषयमा प्रश्न गर्दा  एमाले दलको नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको र बाँकी कुरा मुख्यमन्त्रीको नियुक्तिपछि सहमति हुने बताएका थिए।

माओवादी केन्द्रले मुख्यमन्त्रीको शपथग्रहणमा नजाने भनेको भए पनि कार्यक्रममा उपस्थित भएका थिए। आफूहरूको समर्थनमा सरकार गठन भएको हिसाबले शपथग्रहणमा सहभागी भएको आङ्बोले बताए। उनले हालको मुख्यमन्त्रीसँग कुनै असन्तुष्टि नभएको पनि बताए। उनले मुख्यमन्त्री कार्कीसँग संवाद भइरहेको समेत बताए।

माओवादी केन्द्र सरकारमा आउँछ : मुख्यमन्त्री कार्की

माओवादी केन्द्र सरकारमा आउने दावी नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे। आज (सोमबार) शपथग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने वेलासम्म सबै कुरा टुंगो लगाउने बताउँदै उनले संयुक्त सरकार बनाएर ५ वर्षअगाडि बढेर प्रदेशमा सुशासनको प्रत्याभूति दिलाउने दावी पनि गरे।

‘माओवादीसँग हाम्रो कुरा भइरहेको छ, संयुक्त सरकार बनाएर ५ वर्षसम्म अगाडि बढ्ने हो,’ उनले भने, ‘माओवादी सरकारमा बिलकुल आउँछ‚ यसमा चिन्तै नगर्नुस्।’

विना विभागीय मन्त्री  नियुक्त गर्नुभयो नि भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले आलोचनालाई करेक्सन गर्न यस्तो गरिएको बताए। उनले छिट्टै विश्वासको मत लिने बताउँदै सबै दललाई समेटेर मन्त्रीमण्डललाई पूर्णता दिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.