ललितपुर : मल्लकालीन इतिहास बोकेको गोदावरी नगरपालिका-११ चापागाउँमा अवस्थित बज्रबाराही मन्दिरमा कर्माचार्य समुदायबाट नित्य पूजा नभएको वर्षौं भइसकेको छ।
भाकल गरेर पूजा गरे आफूले चिताएको पूग्ने जनविश्वास रहेको यस मन्दिरमा करिब ३५ वर्ष अगाडिदेखि नित्य पूजा नभएको श्री बज्रवाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यले बताए।
हाम्रा बुबा बाजेले यही मन्दिरमा नित्य पूजा गर्दै आउनु भएको थियो, मन्दिरको आफ्नै गुठीको ७ रोपनी जग्गा र करिब २ रोपनी फूल रोप्ने बगैँचा पनि थियो, उनले भने, यी जग्गापछि क–कसले खाए, कहाँ हरायो त्यसपछि नित्य पूजाका लागि आवश्यक पर्ने सामग्री लिनका निम्ती आर्थिक अभावले पूजा हुन सकेन। अब फेरि नित्य पूजा संचालन गर्न एउटा अक्षय कोष स्थापना गरेर अगाडी बढ्ने योजना समितिले बनाएको छ।
समितिले अक्षय कोष निर्माण गर्नकै लागि भनेर माघ १ देखि ७ गतेसम्म मन्दिर प्राङ्गणमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लगाउँदैछ।'
सात दिन सप्ताह महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकिएको कामलाई निरन्तरता दिने भएको समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताए।
उनले भने, 'मन्दिरमा अक्षयकोष खडा गर्न सक्यौँ भने पूजा एवं पूजारीका साथै आवश्यक सामग्रीको व्यवस्थापन गर्न सहज हुनेछ।'
महायज्ञ आयोजना समितीका सल्लाहकार डा. नारायणहरी गजुरेलले मन्दिरको स्रोत अभावमा पूजा रोकिनु भनेको सबैको चासोको विषय बन्नुपर्ने बताए। परापूर्वकालदेखि चलिआएको कर्म रोकिनु राम्रो संकेत नभएकाले चलाउन जरुरी रहेको निवर्तमान चापागाउँका गाविस अध्यक्ष एवं कालेश्वर संरक्षण सेवा समितिका अध्यक्ष चरसुन्दर महर्जनले बताए।
काठमाडौं उपत्यकामा चारवटा बाराही रहेका छन्। स्वेत बाराही, नील बाराही, धुम्बाराही र बज्रबाराही। चार बाराही मध्ये बज्रबाराही अरु भन्दा चर्चित छ। यहाँ आई देवीको दर्शन गरे चिताएको पुग्ने र सुख शान्ति मिल्ने विश्वास छ। सो मन्दिर नेपालमा गजुर नभएको मन्दिरको नाममा पनि प्रख्यात रहेको छ।
बज्रवाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनको बीचमा रहेको छ। नेपाल संवत ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेको इतिहास छ। पछि सो संवत ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेका इतिहास रहेको समिती अध्यक्ष कर्माचार्यले जानकारी दिए।
उनका अनुसार यो देवीको मन्दिर नेपाल सम्वत ८ सय ५२ मा राजा विष्णु मल्लले समेत मर्मत सम्हार गरेको इतिहास छ।
किंवदन्ती कस्तो छ?
भक्तपुरका राजा नरेन्द्रदेव लडाइँबाट चापागाउँको बाटो हुँदै घर फर्कदा निकै रात परेछ। उनले बाटोमा पर्ने सो देवीको घरमा बास माग्न सिपाहीहरुलाई लगाएछन्। सिपाहीहरु डराएर फर्केछन्।
‘शिर माथिदेखि पाउसम्म सेतो कपडाले छोपिएको डर लाग्दो आकृतिमा सुतिरहेको छ सरकार’ भनी सुनाएपछि राजा आफै हेर्न गएछन्।
राजाले पनि पूरै शरीर सेतो कपडाले छोपेर सुतिरहेको देखेपछि उघारेर हेर्दा बज्रवाराहीको प्रत्यक्ष दर्शन पाएछन्। देवीले दर्शन दिएपछि ‘मेरो यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाको दिन जात्रा चलाउनु’ भनी अलप भएपछि उसैअनुसार मूर्ति र खट बनाई जात्रा चलाइँदै आएको किंवदन्ती सुन्न पाइन्छ।
प्रचलित किंवदन्तीअनुसार राजा श्रीनिवास मल्लले एक रात सपनामा आफ्नो दरबार (पाटन मंगलबजारस्थित पुरानो राजदरबार) को मुलचोकमा अष्टमातृका देवीहरु आफ्ना गणहरुसहित नाचिरहेको देखे। यस्तो सपनाबारे उनले बज्रचार्य कुलपाद र राजोपाध्याय मधुसूदनसित सरसल्लाह गरेको बताइन्छ।
उनीहरुको सुझाव अनुसार राजाले अष्टमातृकाको नृत्य बर्षैपिच्छे नवरात्रिभर नचाउने व्यवस्था गरे। त्यही सपनापछि राजा श्रीनिवासले अष्टमातृका मन्दिर अर्थात् यो बज्रबाराही देवीको मूर्ति स्थापना, मन्दिर निर्माण गरेको र जात्रा चलाएको कथन छ।
अरू मन्दिर अगाडि साँढे राखिएपनि बज्रबाराहीमा भने राँगो राखिएको छ। गाउँघरमा गाईवस्तु व्याएपछि पहिलो दुध यही मन्दिरमा चढाउनुपर्ने मान्यता छ।
मन्दिर वरीपरी जातनै पिच्छेका ९ ओटा शव जलाउने घाट छ। यो मन्दिरमा गजुर छैन। हरेक वर्ष सो मन्दिरमा बडादशैंको दशमीका दिन ठूलो मेला लाग्ने गर्छ।
बज्रबाराही देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पातहरु साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीय बताउँछन्। बज्रवाराहीको जंगलमा विभिन्न जडीबुटी तथा वनस्पतिहरु प्रशस्त पाइन्छन्। यहाँ विश्वमै दुर्लभ काँडेभ्याकुर चरा पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।